शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सूचना प्रविधिको प्रयोगमा मरिण अब्बल

बुधवार , बैशाख २१, २०७९

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिका सूचना प्रविधिको प्रयोगमा अन्य स्थानिय तहभन्दा अब्बल देखिएको छ । गाउँपालिकावासिले प्रविधिको प्रयोग गरेर सूचना प्राप्त गरिरहेका छन् । गाउँपालिकावासिले स्थानिय तहबाट पाउने सेवासुविधा लगायत जनचेतनामुलक सूचनाहरु प्रविधि मार्फत सहजै जानकारी पाउन थालेको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग डाटा पोर्टल छ । यसमा हामीले गाउँपालिकाको सम्पुर्ण बजेट, कार्यपालिकाका निर्णय, वडाका कति बजेट त्यो सबै हेर्न मिल्ने बनाएका छौँ । प्राविधिक शाखामा काम चुस्त दुरुस्तका साथ अघि बढिरहेको छ ।’

गाउँपालिकाको आधिकारीक वेबसाइट marinmun.gov.np मा गाउँपालिकाले उपलब्ध गराएको सेवा, सुविधा लगायत सूचनाहरु तुरुन्तै प्रविष्ट गर्ने गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानिय तहको चुनावलाई लक्षित गर्दै गाउँपालिकाले सम्पूर्ण सूचना वेबसाइटमा समावेश गरेको छ ।  जिल्लाको अन्य स्थानिय तहले हालसम्म पनि उम्मेदवारको नामावली, मनोनयन पत्र दर्ता भएका उम्मेदवारको नामावली लगायत चुनावसँग सम्बन्धित सूचनालाई प्रविधिसँग जोड्न नसकिरहेको अवस्थामा मरिणले भने सम्पूर्ण सूचना वेबसाइटमा प्रविष्ट गरेको छ ।

मरिण गाउँपालिकाको सहायक निर्वाचन अधिकृत समेत रहनुभएका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीका अनुसार नागरिकलाई निर्वाचनको सूचना लिन सहज हुने उद्धेश्यका साथ सम्पूर्ण निर्वाचनका सूचना वेबसाइटमा राखिएको छ । साथै, सामाजिक सुरक्षा भत्ता आवाधिक, वार्षिक योजना, पालिकाको वस्तुगत विवरण, भएका गतिविधि एवं विपद्का विविध विवरणहरु पनि अभिलेख गरी राखिएको दर्जीले बताउनुभयो । मरिणवासिले घरमै बसेर कार्यालयका सूचना पालिकाको इमेल, वेभपेज, सामाजिक सञ्जाल आदिबाट प्राप्त गर्न सक्छन् । गाउँपालिकाले नागरिकलाई दिनुपर्ने र नागरिकले पाउनुपर्ने सम्पुर्ण जानकारी डाटा पोर्टलमा राखिएको सूचना प्रविधि अधिकृत विनय सुयालले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया