सिन्धुली — मनोनयन दर्ताकै दिन माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेर उपाध्यक्षको उम्मेदवारी दिएकी संगीता माझीले उम्मेदवारी फिर्ता लिएकी छन् ।गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष संगीता सत्ता गठबन्धनबाट उम्मेदवार नपाउने भएपछि मनोनयनको अन्तिम दिन १२ गते एमाले प्रवेश गरेकी थिइन् ।
२०७४ को निर्वाचनमा माझी माओवादी केन्द्रबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनले गठबन्धनकै उपाध्यक्ष उम्मेदवार बिमला माझीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको एमालेका एक नेताले बताएका छन् । संगीताले उम्मेदवारी फिर्ता लिएसँगै अब एक स्वतन्त्रसहित गाउँपालिका उपाध्यक्षका लागि चार जना प्रतिस्पर्धामा छन् ।
गठबन्धन उम्मेदवार बिमला बाहेक जनता समाजवादीबाट छलिमाया रानामगर, मंगोल नेशनल अर्गनाइजेसनबाट धनजरीमाया वल र स्वतन्त्र मञ्जु माझी उपाध्यक्ष पदमा कायम रहेका छन् । अर्का उपाध्यक्षका स्वतन्त्र उम्मेदवार राजन थापाले पनि उम्मेदवारी फिर्ता लिएको र अब सबै पदमा गरि १२५ जना उम्मेदवार कायम भएको निर्वाचन अधिकृत दुर्गा बञ्जाडेले जानकारी दिइन् ।
हरिहरपुरगढी गाउँपालिकामा अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानबहादुर राईले पनि उम्मेदवारी फिर्ता लिएका छन् । सोही गाउँपालिकामा माओवादी केन्द्रकी अनिताकुमारी राई र स्वतन्त्र मोहन काजी विकले उपाध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएका छन् । सुनकोसी गाउँपालिकामा जसपाबाट अध्यक्षमा शंकरबहादुर सार्की र उपाध्यक्षमा गोमाकुमारी आलेले उम्मेदवारी फिर्ता लिएका छन् ।