सिन्धुली– सिन्धुलीका एक वडाध्यक्ष उम्मेदवारले पहुँचको आधारमा बेरोजगारले पाउनुपर्ने अनुदान आफ्नो पोल्टोमा पारेको तथ्य फेला परेको छ । कमलामाई नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उम्मेदवार दिनेश काफ्लेले नगरले संचालन गरेको युवा स्वरोजगार कार्यक्रम अन्तर्गत पाँच लाख कुम्लाएका छन् । बेरोजगार तथा आर्थिक स्थिति कमजोर भएकाले पाउनुपर्ने अनुदानमा हाँस्य कलाकार तथा युवा व्यवसायी काफ्लेले र्याल चुहाएपछि नगरले सो रकम अनुदानमा उपलब्ध गराएको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित रातमाटामा झण्डै डेढ करोडमा संचालनमा रहेको बर्गर हाउसका संचालक समेत रहेका काफ्लेले विभिन्न तिक्डम गरेर नगरले वितरण गरेको अनुदान पचाउनुभएको छ । २०७८ असार २५ गते काफ्लेकै नाममा रहेको कलाकार कृषि तथा पशुपंछी फर्मकालागि नगरले पाँच लाख अनुदान दिएको थियो । पैसा नभएका कारण व्यवसाय गर्न सकिन्न भन्नेहरुका लागि कमलामाई नगरले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत निब्र्याजी बिनाधितो ऋण लगानी गर्ने उद्धेश्य राखेको थियो । तर, कार्यक्रमको उद्धेश्य विपरित पहँुचको आधारमा वडाध्यक्ष उम्मेदवारले अनुदान पाउनुभएको हो ।
माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिुनभएका काफ्लेले अनुदान पाएको केहि दिनमै पार्टी भवन निर्माणकालागि ३३ हजार ३३३ रुपैँया सहयोग गर्नुभएको थियो । अनुत्पादक क्षेत्रमा ठूलो रकम सहयोग गर्न सक्ने र करोडौँको व्यवसायका शेयर सदस्य समेत रहनुभएका काफ्लेलाई नगरले कुन आधारमा अनुदान वितरण गर्यो भन्ने विषय शंकास्पद छ । त्यसैगरि, आफुले वडाअध्यक्षमा जिते सरकारबाट पाउने सेवा सुविधा समेत जनतामा समर्पित गर्ने प्रतिबद्धता गर्नुभएका काफ्लेलाई वडाको जिम्मा लगाउँदा चोरको हातमा तिजोरी हुने हो कि भनेर वडाबासि शसंकित भएको कमलामाई नगर ८ नम्बर वडाका दुर्गा थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वास्तविक बेरोजगार म हुँ । मैले आवदेन पनि दिएको हुँ । तर, मैले अनुदान पाउन सकिन । मजस्ता सयौँले अनुदान पाएनन् । तर, आर्थिक अवस्था बलियो भएका कलाकारले पहुँचको आधारमा पाँच लाख पाए ।’ उहाँले थप आक्रोश पोख्दै भन्नुभयो, ‘अहिले राज्यको सुविधा जनतालाई समर्पित गर्ने भन्दै हिँडेका छन् । अनुदान नछोड्नेले जनतालाई झुक्काएर राज्यको सुविधा जनतालाई समर्पित गर्ने भन्दै प्रचारप्रसार गरेपनि पदमा रहेकोबेला राज्यको सम्पत्ति दुरुपयोग नहोला भन्न सकिन्न ?’
अनुदान पाएपछि काफ्लेले समाजिक संजालमा नेकपा एमालेका तर्फबाट निर्वाचित मेयर खड्ग बहादुर खत्रिलाई रोजगारीको अवसर सिर्जना गरेको भन्दै धन्यवाद दिनुभएको थियो । उक्त समय मेयर खत्रिसँग काफ्ले नजिक भएकाले अनुदान पाउन सहज भएको नगरकै एक कर्मचारीले नाम नखुलाउने शर्तमा सिन्धुली सौगातलाई बताए । उनले भने, ‘मेयरसापसँगको उठबस बाक्लिएपछि यस्ता अनुदान पाउन के गारो भयो र ?’
पैसाको अभावका कारण स्वदेशमै केहि गर्छु भन्नेलाई समस्या नहोस् भनि कमलामाई नगरले युवा स्वरोजगार कार्यक्रम संचालन गरेको थियो । सो कार्यक्रमबाट प्रभावित भन्दापनि पहुँचवाला बढि लाभान्वित भएको आवेदनकर्ताहरुले बताएका छन् ।