सिन्धुली — सत्ता गठबन्धनबाट कमलामाइ नगरपालिका उपमेयर पदका उम्मेदवार दीर्घराज श्रेष्ठको दर्ता कायम भएको छ । बन्द सूचीमा नाम रहेको भन्दै सफ्टवेयरमा प्रविष्ट नहुँदा श्रेष्ठको उम्मेदवारी दर्ता भएको थिएन ।
मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले बन्द सूचीको नाम हटेर नगर उपप्रमुख उम्मेदवार श्रेष्ठको नाम इन्ट्री भएको जानकारी दिए । निर्वाचन आयोगको सफ्टवेयरमा श्रेष्ठको नाम दर्ता भएर उम्मेदवारी कायम भएसँगै कमलामाइ नगरपालिकामा उपप्रमुख पदमा पाँच दलबीच प्रतिस्पर्धा हुनेछ ।
१२ गते अन्तिम दिन उपप्रमुखमा मनोनयन दर्ता गराएका श्रेष्ठको उम्मेदवार सूचीमा नाम थिएन । लगत्तै निर्वाचन अधिकृतको कार्यालयले समानुपातिक प्रणालीको बन्द सूचीमा नाम मंगलबार सूचना प्रकाशित गरेको थियो । गएको फागुन महिनामै बन्द सूचीबाट नाम फिर्ताका लागि दलले पत्र पठाएको र निर्वाचन आयोगमा नाम हट्न नसकेकाले व्यवधान खडा भए पनि बन्दसूचीबाट नाम हटेसँगै प्रतिस्पर्धा गर्न पाउने नैसर्गिक अधिकारबाट बञ्चित हुन नपरेको उपप्रमुख उम्मेदवार श्रेष्ठको प्रतिक्रिया थियो ।