शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

देवकोटा मृत्यु प्रकरणमा दाहालको स्पष्टिकरण

बिहिवार , बैशाख १५, २०७९

सिन्धुली– सिन्धुलीमाढीस्थित एक नम्बर बजारमा संचालित पुष्पदिप अपसेट प्रेसका सञ्चालक पुष्पराज देवकोटाको मृत्यु प्रकरणमा माओवादी केन्द्र सिन्धुलीका इन्चार्जले स्पष्टिकरण दिनुभएको छ ।

दाहालले देवकोटाको आत्माको चिरशान्तिको कामना गर्दै राजनितिक प्रतिशोध साँधेर संचारमाध्यमलाई अफवाह नफैलाउन आग्रह गर्नुभएको छ । उहाँले स्थानिय निर्वाचन नजिकिदै गर्दा राजनितिक प्रतिसोधका साथ माओवादी कार्यकर्ताको कुटपिटबाट प्रेस संचालक देवकोटाको मृत्यु भन्ने समाचारप्रति खेद आपत्ति जनाउनुभएको छ । साथै, उहाँले अनावश्यक भ्रम पैदा गरी राजनितिकरण गर्ने दुश्प्रयत्न भएको भन्दै भ्रममा नपर्न सबैलाई आग्रह समेत गर्नुभएको छ ।

बुधबारको घट्नाको बेलिविस्तार सुनाउदै इन्चार्ज दाहालले देवकोटासँग आफुले भेटेर बाँकी रहेको ४८ हजार रुपैँया केहि दिनमै दिने बताउनुभएको थियो । २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का गोलन्जोर गाउँपलिका अध्यक्षका उम्मेदवार ज्वाला प्रसाद न्यौपाने ‘पुकार’ ले प्रचार सामाग्री

छपाई गरेको बाँकी ४८ हजार रुपैयाँ माग गर्दै संचालक देवकोटाले केही दिन अघि पार्टी कार्यालयमा आफुँसँग भेट गरेको ईन्चार्ज दाहालले बताउनुभयो ।

भेटका क्रममा संचालक देवकोटाले केही दिन अघि मात्रै नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना बसेर एमालेका उम्मेदवारले दिन बाँकी रकम उठाएको र अब गोलन्जोर गाउँपालिका अध्यक्षका उमेदवार न्यौपानेले दिनुपर्ने बाँकी रकम नदिए सम्म धर्ना बस्ने बताएको इन्चार्ज दाहालले स्मरण गर्नुभयो । दाहालले बाँकी रकम एक, दुई दिनमा दिने बताउदैँ धर्नामा नबस्न आग्रह गरेको बताउनुभयो । उहाँले आफूले देवकोटालाई सम्झाई बुझाई पठाएको बताउनुभयो ।

बुधबार मृतक देवकोटा बाँकी रकम उठाउन पार्टी कार्यालयमा धर्ना बस्ने गरी आएको जानकारी पाएपछि पुकारसँग पछि पैसा उठाउला अहिलेलाई चेक लगेर दिनु भनी प्रकाश काफ्लेलाई पठाएको ईन्चार्ज दाहालले बताउनुभयो । चेक लिएर पार्टी कार्यालय पुग्नुभएका काफ्लेले ४८ हजारको चेक लिनु भनी बुझाएको तर मृतक देवकोटाले ४८ हजारको ब्याज सहित चाहिन्छ नत्र चेक लिन्न भनेर चेक नबुझि चेक लिएर गएका काफ्लेसँग भनाभन गर्न थालेको ईन्चार्ज दाहालले भन्नुभयो ।

प्रत्यक्षदर्शीका अनुसार भनाभनकै क्रममा मृतक देवकोटाले चेक लिएर गएका काफ्ललाई कुचोले हिर्काउन थालेपछि काफ्ले पार्टी कार्यालय भित्रबाट बाहिर निस्कि होटलमा छिरेको र त्यहाँ पनि कुचोँ लिएर गएपछि होटलका सञ्चालकले मृतक देवकोटालाई छेकी झगडा नगर्न आग्रह गरेको ईन्चार्ज दाहालले बताउनुभयो । त्यसक्रममा अचानक मृतक देवकोटाको प्रेसर बढ्न गई असहज महसुस गरेर त्यही बसेको र उहाँका परिवारलाई बोलाउन लगाएको उहाँले बताउनुभयो ।

तत्काल पार्टी कार्यालयमा हुनेहरुले उहाँको छोरा विवेक देवकोटालाई बोलाएर हस्पीटल पठाएको र हस्पीटल जादै गर्दा मृतक आफैँले एक नम्बर बजारमा रहेको पोलिक्लिनिकमा लग्न आग्रह गरेको तर त्यहाँ अक्सिजन लिन समस्या भएपछि त्यहाँबाट सिन्धुली अस्पताल पुर्‍याउदाँ डाक्टरले मृत्यु घोषणा गरेको उहाँले बताउनुभयो ।

ईन्चार्ज दाहालले पार्टी कार्यालयमा कुनै कुटपिट नभएको र देवकोटाको ब्लडप्रेसरका कारण मृत्यु भएको बताउनुभयो । ईन्चार्ज दाहालले मृतक प्रति श्रद्धान्जली अर्पण गर्दै पार्टी कार्यालयमा भएको सबै गतिविधिको प्रत्यक्षदर्शीहरु धेरै रहेको र प्रत्यक्षदर्शीहरुका अनुसार पार्टी कार्यालयमा मृतक देवकोटा प्रति कुनै अमर्यादित व्यवहार नभएको तथा कुटपिट पनि नभएकाले भ्रममा नपर्न आग्रह गर्नुभयो । चेक लिएर गएका काफ्लेलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक बिमलराज कडेलले बताउनुभयो । उहाँले घटनाको निष्पक्ष छानविन गरिने बताउनुभएको छ ।

श्रमको कदर गर्न आग्रह

देवकोटा मृत्यु प्रकरणले श्रमिकको समस्याको उजागर गरेको भन्दै श्रमको सम्मान गर्न सामाजिक संजालमा बहस चलेको छ । ‘वर्षौँदेखिको वक्यौता रकम उठाउन श्रमिकले दौडधुप र मानसिक यातना सहनुपर्ने स्थितिको अन्त्य हुनुपर्छ’, सामाजिक संजालमा रामकुमार ढकाल लेख्नुहुन्छ । त्यस्तै, जिल्लाको नेतृत्व गर्ने पार्टीहरुले नै श्रमिकको पैसा दिन आलटाल गर्नु दुखद रहेको अर्को एक सामाजिक संजाल प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् ।

सिता कार्की प्रश्न गर्नुहुन्छ, ‘श्रम गरेको पैसा उठाउन पार्टीको ढोकाढोकामा धर्ना दिनुपर्ने बाध्यता किन सिर्जना भइरहेको छ ?’ त्यसैगरि, अनिल थापाले अनुसन्धानले घट्नाको वास्तविकता पत्ता लाग्ने प्रतिक्रिया जनाउदैँ भन्नुभयो, ‘मानविय संवेदनाको पनि ख्याल गर्नुपर्छ । दोषि भए कार्वाही हुनैपर्छ तर राजनितिकरण बन्द गर्नुपर्छ ।’

प्रतिक्रिया