शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मरिणको अध्यक्षको उम्मेदवार बन्न भूमि आयोगबाट राजीनामा

आइतवार , बैशाख ४, २०७९

सिन्धुली — आगामी वैशाख ३० गतेको स्थानिय तहको चुनावमा सिन्धुलीको मरिण गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनका लागि भूमि आयोगका जिल्लाध्यक्ष रामकुमार पौडेलले राजीनामा दिनुभएको छ । दुई महिनाअघि नेपाल सरकारबाट भूमि आयोगको सिन्धुली अध्यक्षमा नियुक्त हुनुभएका पौडेल माओवादी केन्द्रबाट मरिण गाउँपालिकामा अध्यक्षका आकांक्षी हुनुहुन्छ ।

माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक समेत रहनुभएका पौडेलले गाउँपालिकाको समग्र विकासका लागि भूमि आयोगको जिल्लाध्यक्ष पदलाई तिलाञ्जली दिएर आफूले अध्यक्षको उम्मेदवारीमा दाबी प्रस्तुत गरेको बताउनुभयो । मरिणमा माओवादी केन्द्रबाट वर्तमान अध्यक्ष पानीराज बम्जन, गाउँपालिका प्रवक्ता प्रख्यात मोक्तान र गोपाल बुढाथोकी आकांक्षी रहेका छन् ।

२०७४ को स्थानीय निर्वाचनमा सबै वडासहित माओवादी केन्द्रले मरिण गाउँपालिकामा जितेको थियो । एमाले र कांग्रेसभन्दा तेब्बर मत बढी ल्याएर गाउँपालिका अध्यक्षसहित सबै सिट जितेकाले आकांक्षीहरु माओवादी केन्द्र भित्र बढी छन् । गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रका पानीराज बम्जनले अध्यक्ष पदमा ४ हजार ७४१ मत ल्याएर विजयी हुनुभएको थियो भने एमालेका एकबहादुर रानामगरले १ हजार ८६६ र कांग्रेसका नवराज श्रेष्ठले १ हजार ७४५ मत प्राप्त गर्नुभएको थियो । माओवादी केन्द्रबाट हालसम्म तीनपाटन गाउँपालिकामा अध्यक्षका लागि धनबहादुर पुलामी सर्वसम्मत सिफारिस भएका छन् भने एमालेबाट गोलन्जोरमा शंकर बराल, मरिणमा गोविन्दलाल माझीलाई अध्यक्ष उम्मेदवारमा चयन गरेको छ । कांग्रेसले तीनपाटन गाउँपालिकामा वर्तमान अध्यक्ष कर्ण थापामगरलाई सिफारिस गरेको छ ।

भूलसुधार: अंक २२४९, वैशाख ०४ गतेको सिन्धुली सौगात दैनिक पत्रिकामा रामकुमार पौडेल हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ । –स.

 

सम्बन्धित विषय:

प्रतिक्रिया