सिन्धुली — सिन्धुलीमा नेकपा (एमाले)ले दुई र नेपाली काँग्रेस र माओवादी केन्दले एक गाउँपालिकामा अध्यक्षको उम्मेदवार चयन गरेका छन् । एमालेले गोलन्जोर गाउँपालिकामा शंकर बराल र मरिण गाउँपालिकामा गोविन्दलाल माझीलाई,काँग्रले तिनपाटन गाउँपालिकामा कर्णबहादुर थापा र माओबादी ले धनबहादुर पुलामीलाई अध्यक्ष पदका लागि सर्वसम्मत उम्मेदवार चयन गरेको हो ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख सञ्जय दाहालले भन्नु भयो, “एकढिक्का भएर निर्वाचनमा गई जित निकाल्नुपर्ने भएकाले सर्वसम्मत उम्मेदवार चयन भएको हो ।”
काँग्रेसको तीनपाटन गाउँपालिकामा हालका अध्यक्ष कर्णबहादुर थापालाई पुनः पालिकास्तरबाट अध्यक्ष पदका लागि सर्वसम्मत एकल उम्मेदवार छनौट गरेको छ । गत निर्वाचनमा एमालेका उम्मेदवारलाई १९ मतको झिनो अन्तरले पराजित गर्दै थापा विजयी हुनु भएको थियो ।
“गत निर्वाचनमा अन्तिम समयमा आएर टिकट पाएकाले जित निकाल्न हम्मेहम्मे परेको थियो,” काँग्रेस संघीय निर्वाचन क्षेत्र नं १ का सभापतिसमेत रहनुभएका अध्यक्ष थापामगरले भन्नुभयो, “यो पटक त पहिलादेखिकै तयारी छ, फराकिलो मतअन्तरले जित्छौं । त्यसमाथि गठबन्धन जोडिँदा त निकै अन्तर हुन्छ ।”
वाग्मती प्रदेससभा सदस्य एवं माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखनाथ दाहाल (राजन)ले तिनपाटन गाउँपालिकामा पुलामीको उम्मेदवर टुंग्याएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनमा जाँदा कुन पालिका भागमा पर्छ भन्ने टुंगो नभएकाले अन्य पालिकामा उम्मेदवार तय नभएको हो । पालिका भागबन्डा टुंगिनासाथ उम्मेदवार छनोट गरिने छ । जिल्लामा ९ वटा स्थानीय तह छन् ।
काँग्रेस सचिव ईश्वर बस्नेतले शनिबारसम्म उममेदवार टुंग्याएर प्रदेशमा पठाउन केन्द्रबाट सकुर्लर भएकोले त्यति बेलासम्म सबै कुरा मिल्ने बताउनु भयो । २०७४को स्थानियतहको निर्वाचनमा जिल्लाका ९ पालिका भागबन्डा गरेजसरी एमाले, काँंग्रेस र माओवादी केन्द्रले ३÷३ वटामा जितेका थिए ।