शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

नयाँ वर्ष २०७९ मा सर्वाधिक पर्यटक सिन्धुलीगढिमा भित्रिए (भिडियोसहित)

शुक्रवार , बैशाख २, २०७९

सिन्धुली – ऐतिहासिक सिन्धुलीगढीको परिसरमा रहेको युद्ध संग्रहालयबाट एकैदिन दुई लाख भन्दा बढि राजश्व संकलन भएको छ । नयाँ वर्षको अवसरमा एकदिनमा हालसम्मकै सर्वाधिक राजश्व संकलन भएको हो । बिहिबार पाँच हजार बढिले युद्ध संग्रहालयको अवलोकन गरेको संग्रहालय प्रमुख रबिन योञ्जनले बताउनुभयो । यसअघि अंग्रेजी नयाँ वर्ष २०२२ मा सर्वाधिक एक लाख १२ हजार रुपैँया राजश्व संकलन भएको योञ्जनले जानकारी दिनुभयो ।

युद्ध संग्रहालय अवलोकन गर्ने अधिकांश आन्तरिक पर्यटक रहेको योञ्जनले बताउनुभयो । योञ्जनअनुसार सिन्धुली, मकवानपुर, चितवन, रामेछाप, महोत्तरी, काठमाडौँ लगायतका जिल्लाबाट नयाँ वर्ष मनाउन पर्यटकहरु संग्रहालय आएका थिए । सवारीसाधनको चापका कारण सडक जाम भएको थियो । सिन्धुलीगढी घुम्न जानुभएका कमलामाई नगरपालिका ६ का उद्धव श्रेष्ठले आफूहरु एक घण्टासम्म सडक जाममा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “सवारी चापका कारण ढिलैभएपनि सिन्धुलीगढी घुमेर आयौँ ।”

पछिल्लो समय बिदाको दिन ऐतिहासिक तथा पर्यटकीयस्थल सिन्धुलीगढी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा ह्वात्तै बढेको छ । ९ महिना यता अमेरीका, बेलायत, श्रीलंका, अष्ट्रेलिया, जापान, पाकिस्तान, भारत लगायतका देशका नागरिकहरुले पनि सिन्धुलीगढीको अवलोकन गर्न थालेका छन् । नेपाली सेनाको करिब ८ करोड रुपैयाँको लागत सहयोगमा गत साउनमा युद्ध संग्रहालय निर्माण सम्पन्न भएको थियो ।

यस्तै, जिल्ला भित्रका विभिन्न होटल तथा रिसोटमा नयाँ वर्ष मनाउनेको भिड लागेको छ । सिन्धुलीमाढी लगाएत जिल्ला भित्रका साना तथा ठुला सबै होटल, रिसोटमा नयाँ वर्ष मनाउने नागरिकको घुइचो बढेको थियो । नयाँ वर्षको दिन परिवारसँग खाजा खान गणपति रिसोट पुग्नुभएको कमलामाई नगरपालिका ४ की सपना देवकोटा दुइ घण्टा सम्म पालो कुरेर बस्नु परेको बताउनुभयो । “रिसोटमा नयाँवर्ष मनाउन आउनेको भिड थियो । दुइ घण्टा बस्दा समेत हाम्रो पालो आएन । बल्ल बल्ल परिवारको साथमा बसेर खाजा खाइ फर्किएको, धेरै भिड थियोआज त । हामी जस्ता सयौँ व्यक्ति खाजाको पर्खाइमा बस्दै थिए, ”उहाँले भन्नुभयो ।

जिल्ला भित्रका साना ठुला सबै होटलमा आन्तरिक तथा बाह्यि पर्यटकले भरिभराउ थिए । विपि राजमार्ग छेउमा बनेका होटल तथा रिसोटमा पर्यटकको बढी चाप थियो । जिल्ला भित्रका तथा जिल्ला बाहिरका व्यक्तिहरु आफ्नो साथि तथा परिवारसँग रमाइलो गर्न आउने बढी रहेको होटल व्यवसायीहरुले बताएका छन् ।

सिन्धुलीमा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर

विश्वमा कहिँकतै नहारेको अंग्रेज फौजले सिन्धुलीको कमलामाई नगरपालिकास्थित सिन्धुलीगढीमा गोर्खालीसँग पराजय व्यहोरेको थियो । ऐतिहासिक सिन्धुलीगढीमा गोर्खालीले रचेको इतिहास विश्वकोलागि अध्ययनको विषय हो । विदेशिहरु इतिहासप्रति लगाव राख्छन् । उनीहरु अनुसन्धान, सोधखोजमा रुचि राख्दै विश्व घुम्ने गर्छन् । सिन्धुलीगढीमा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न सके स्थानिय सरकार र संघीय सरकारको राम्रो आम्दानिको श्रोत हुनेछ भन्दा कुनै अतियुक्ति नहोला ।

सिन्धुलीगढीको इतिहासका बारेमा विश्वस्तरमा प्रचारप्रसार गर्न सके अन्तर्राष्ट्रिय पर्यटकको संख्या बढ्ने निश्चित छ । किनभने, यो त्यो ठाउँ हो जहाँ अंग्रेज फौजहरु आधुनिक हतियारसहित आउँदा पनि परम्परागत हातहतियारबाट पराजय व्यहोरेका थिए । तसर्थ, सिन्धुलीगढीको प्रबद्र्धनमा संघ देखि स्थानिय सरकारले विशेष जोड दिन आवश्यक छ ।

सिन्धुलीगढीको इतिहासलाई झल्काउने गरि ‘सिन्धुलीगढी’ फिल्म निर्माण हुदैँ छ । यस्ता फिल्महरुले पर्यटक तान्न महत्वपुर्ण भुमिका खेल्छ । तसर्थ, फिल्मको सम्पूर्ण टिम धन्यवादका पात्र हुन् । कमलामाई नगरले पनि ठूला बजेटका फिल्ममा लगानी गर्न नसकेपनि स–साना भिडियो र डकुमेन्ट्रीकालागि लगानी गर्न आवश्यक छ । अन्तर्राष्ट्रिय ख्याति प्राप्त भ्लगरहरुलाई सिन्धुलीगढीसम्म तान्न सके उनीहरुको माध्यमबाट हजारौँ पर्यटक भित्राउन सकिन्छ । त्यसैगरि, सूचना प्रविधिको प्रयोग गरि सिन्धुलीगढीको प्रचारप्रसारमा सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । अतः सिन्धुलीगढीमा अन्तर्राष्ट्रिय पर्यटक भित्राउन जिम्मेवार निकायले सक्रियता बढाउन जरुरी छ ।

 

प्रतिक्रिया