शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मन्त्री श्रेष्ठ चढेको गाडी सिन्धुलीमा दुर्घटना

बुधवार , चैत्र २३, २०७८

सिन्धुली – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ चढेको गाडीले ठक्कर दिँदा एक मोटरसाइकल चालकको खुट्टा भाँचिएको छ । बुधाबर बिहान काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको मन्त्री श्रेष्ठ चढेको गाडीले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो ।

मन्त्री सवार बा २ झ ४१२९ नम्बरको झण्डावाल गाडीले विपरित दिशाबाट आउँदै गरेको प्र.२–०२–ग ९२८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।गाडीले ओभरटेक गर्दै गर्दा विपरित दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक दोलखाको बैतेश्वर गाउँपालिका ४ का २५ वर्षीय कृष्णप्रसाद दाहाल घाइते भएका छन् ।

प्रहरीका अनुसार, घाइते दाहालको खुट्टा भाँचिएको छ । हातमा गम्भीर चोट लागेको छ । थप उपचारका लागि दाहाललाई काठमाडौंतर्फ लगिएको प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक बिमलराज कँडेलले जानकारी दिनु भयो ।

मन्त्री सवार गाडीको स्पीड बढी रहेको र ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । सुनकोसी गाउँपालिका ६ घुमाउने चैनपुरमा भएको सो घटनाबारे थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरीका प्रहरी नायब उपरिक्षक मनोज लामाले जानकारी दिनु भयो ।

प्रतिक्रिया