सिन्धुली–¬ सिन्धुलीमा संचालित अटोले बढी भाडा लिने गरेका छन् । पेट्रोलको मुल्य बढेको भन्दै बढी भाडा लिने गरेको स्थानियले गुनासो गरेका हुन् ।
कमलामाई नगरपालिका ४ देउरालीकी सावित्रा देवकोटा अटोमा ढुंग्रेबासबाट बसपार्क सम्म पुग्दा ५० रुपैया भाडा लिएको सुनाउनुहन्छ । गत ६ महिना अगाडि कमलामाई नगरपालिकाले ढुग्रेवासबाट बसपार्क सम्मको भाडा २५ रुपैयाँ तोकेको थियो । पेट्रोलको मुल्य बढेकाले बढी भाडा लिएको अटो चालकले बताउने गरेको देवकोटाले बताउनुभयो । “केहि महिना अगाडि ढुग्रेवासबाट बसपार्क सम्म २५ रुपैया भाडा थियो । अहिले पेट्रोलको मुल्य बढ्यो रे, ५० रुपैया लिए ,” उहाँले भन्नभयो ।
सोहि स्थानकी कमला कार्की पनि अटोमा ढुंग्रेवासबाट बसपार्क सम्म पुगेको ३५ रुपैया तिरेको सुनाउनुहुन्छ । “मलाई अस्ति ढुग्रेबासबाट बसपार्क पुगेको अटोले ३५ रुपैया लियो । भाडा बढेको भन्दै जवरजस्ती बढी पैसा लिन्छन् । हिजो फेरि बसपार्क सम्म पुगेको ४० रुपैया तिरे । मन लाग्दि भाडा लिन्छन् ,” उहाँले भन्नुभयो ।
सिन्धुलीमाढीका सुरेश लामाले महँगो भाडा हुँदा अटो चढ्नै डर लागेको बताउनुभयो । सिन्धुली अस्पतालबाट मधुटार सम्म अटोमा जाँदा ५० रुपैयाँ तिर्नुपरेको उहाँको गुनासो छ । सिन्धुली अस्पतालबाट मधुटारको दुरि लगभग एक किलोमिटर मात्रै छ । “यहि नजिकसम्मको भाडा पनि ५० रुपैया, पेट्रोलको मुल्य बढ्यो भन्दैमा यस्तो महगो भाडा लिनु गलत हो , उहाँले भन्नुभयो, “यात्रुको सुविधाका लागि अटो भित्रिनु राम्रो हो, तर यहाँ अटोको दादागिरी छ ।”
अटोको भाडादरमा एकरूपता नहुँदा यात्रुहरू समस्यामा परिरहेको कमलामाई नगरपालिका–१ डाढीका अमित अधिकारीले बताउनुभयो । उहाँका अनुसार सिन्धुलीमाढीको बसपार्कदेखि ढुग्रेबास, माझिटार, खट्टार, धुराबजार, चियाबारी लगाएत सिन्धुलीमाढी भित्र सञ्चालन हुने अटोले मनपरी भाडा असुल्ने गरेका छन् । “अटो चालकले भने झगडा गरेरै भए पनि यात्रुबाट दुई÷तीन गुणा बढी भाडा असुल गरिरहेकै छन्,।” उहाँले भन्नुभयो, “तर नियमनकारी निकायले वास्तै गरेका छैन ।” उहाँले अधिकांश चालकहरूसँग चालक अनुमति पत्र नभए पनि ट्राफिक प्रहरीले कडाइ नगरेको बताउनुभयो । पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएकाले भाडा महँगो भएको अटो चालकको दाबी छ । “इन्धनको भाउ दिनप्रतिदिन बढेको बढै छ, अरु गाडीभन्दा यसमा मर्मत खर्च पनि बढी हुन्छ ,” सिन्धुलीमाढीका एक अटो चालकले भन्नुभयो, “तर नगरपालिकाले तोकेकै भाडामा अटो चलाइरहेका छौं ।”
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले अनुगमन गरि बढी भाडा लिनेलाई आवश्यक कारबाहि गर्ने बताउनुभयो । अटोको भाडा दरलगाएतका विषय कमलामाई नगरपालिकाले हेर्ने भएकाले नगरपालिकासँग छलफल गर्ने उहाँले बताउनुभयो । कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले हाल सिन्धुलीमाढीमा संचालित अटोको भाडा दर नबढेको बताउनुभयो । “गत ६ महिना अगाडि जुन भाडा दर थियो, त्यही भाडा कायम छ । यसरी पेट्रोलको मुल्य बढेको भन्दै बढी भाडा लिन पाउँदैनन् ,” तुरुन्त अनुगमन गरि बढी भाडा लिने अटोलाई कारबाहिको दायरामा ल्याउने मेयर खत्रीले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चेकजाँचमा कडाइ गर्ने ट्राफिक प्रमुख जे जंग कार्कीूले बताउनुभयो । “केहि देखि अगाडिबाट नागरिकले बढी भाडा लिने गरेको गुनासो गरिरहेका छन् । हामीले बढी भाडा लिने अटोलाई कारबाहि पनि गरेका छौँ । थप चेकजाचँमा कडाइ गर्ने छौँ ” उहाँले भन्नुभयो ।