शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

पहिलो पटक सिन्धुलीका भुमिहिन दलित, सुकुम्बासीलाई लालपुर्जा वितरण

आइतवार , चैत्र २०, २०७८

सिन्धुली,–सरकारले पहिलो पटक सिन्धुलीबाट भुमिहिन दलित, भुमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु गरेको छ । सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ९ का भुमिहिन दलित मुसहर समुदायलाई लालपुर्जा वितरण गरेर संगै सरकारले भुमिहिन दलित, भुमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण अभियान सुरु गरेको हो ।

दुधौली नगरपालिका ९ लखीमा दोकानडाडाँका कुल १ सय ६ जना मुसहरहरुलाई जमिनको स्वामित्व सहित लालपुर्जा वितरण गरिएको छ । आईतवार एक कार्यक्रमका बिच भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भुमिहिन दलित मुसहरहरुलाई लालपुर्जा वितरण गर्नुभएको हो ।

बागमती प्रदेश सरकारले दुधौली नगरपालिका वडा नं. ९ लखीमा दोकानडाडाँमा गएको एक बर्ष अघि एकिकृत बस्ती निर्माण गरी भुमिहिन मुसहर समुदायहरुको बसोबासको व्यवस्था गरेको थियो ।

सरकारले सोही मुसहरबस्तीमा बसोबास गर्दै आएका १ सय ६ जना मुसहर र भुमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको हो । मुसहरबस्तीमा जमिनको भोगचलन गर्दै आएका दलित मुसहरहरुलाई न्युनतम एक घण्टा देखि पाँच कट्ठा सम्म जमिनको स्वामित्व लालपुर्जा वितरण गरेको राष्ट्रिय भुमि आयोग सिन्धुलीका अध्यक्ष राम कुमार पौडेलले जानकारी दिनुभयो ।

६७ बर्षको उमेर सम्म भुमिहिन भएर जिवन विताएका दुधौली नगरपालिका ९ लखीमा दोकानडाडाँका भोला सदा मन्त्रीको हातबाट लालपुर्जा पाउदाँ हर्सले दग्गं हुनु भएको छ । उहाँ बागमती प्रदेश सरकारले बनाएको मुसहर बस्तीमा बस्दै आएउनुभएको छ। “पाँच पुस्ता सम्म पनि हामीले लालपुर्जा पाएनौं । तर अहिले आएर लालपुर्जा पाए निक्कै खुसी छु ,” उहाँले भन्नुभयो ।

६० बर्ष उमेर सम्म पनि आफ्नो नाममा एक टुक्रा जग्गा सोही ठाउँकी फेकनी सदा पनि लालपुर्जा पाएपछि हर्सित हुनुभएको छ । “हामीलाई जहिले पनि कहिले उठाउछ । कहिले भगाउछ । कता पठाउछ भन्ने डर हुन्थ्यो । हामीलाई मान्छेले तिमीहरुलाई यहाँबाट हटाउछ भन्थे तर अहिले लालपुर्जा पायौं । यो सरकारलाई धन्यावाद भन्छु । पहिला नै घर पनि बनाई दिएको छ” उहाँले सुनाउनुभयो ।

बर्षौ देखि बानीबुतो र ज्याला मजदुरी गरेर जिवन गुजारा गर्दै आएका उनीहरु जस्तै लालपुर्जा पाएका मुसहर समुदायका दलित मुसहरहरु हर्षित हुनुभएको छ ।

लालपुर्जा वितरण पश्चात सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आफु मन्त्री भएदेखि नै संविधानले मौलिक हक अन्तर्गत रहेका भुमिहिन दलित, भुमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो ,“ संविधानमै लिपिबद्ध गरिएको भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई लालपुर्जा वितरण गर्ने यो गठबन्धन सरकारको राष्ट्रिय प्राथमिकताको काम हो । सोही अनुसार नै हामीले भुमिहिन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु गरेका हौं ।” उहाँले भुमिहिन दलित, भुमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने काम सिन्धुलीबाट सुरु भएकाले अब धमाधम देशभरीका भुमिहिन दलित, भुमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिने बताउनुभयो ।“मन्त्रालयले लालपुर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेको छ । सिन्धुलीबाट यो अभियान सुरु भयो । अब प्रक्रिया मिलेका सबै ठाउँमा आगामी स्थानिय तहको चुनावको आचारसंहिता लाग्नु पहिला धेरै भन्दा धेरै लालपुर्जा वितरण गर्ने तयारीमा छौं ,”

उहाँले सुनाउनुभयो । उहाँले केपी ओली नेतृत्वको सरकारले तीन बर्ष सम्म लालपुर्जा वितरणको काममा सिन्को नभाचेको आरोप लगाउनुभयो । उहाँले भुमिहिन दलित, भुमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न ऐन, कानुनको संसोधन गरेर भए पनि छाटो प्रक्रियाबाट लालपुर्जा वितरण सुरु गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य गणेश पहाडीले भुमिहिन दलित, भुमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा वितरण अभियान सुरु गरेर सरकारले संविधानको सफल कार्यान्वयको लय पक्रेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहाल (राजन)ले यस अघिको सरकारले बनाएको भुमि आयोगले भुमिहिन दलित र भुमिहिन सुकुम्बासीहरुको नाममा भ्रष्टाचार र स्रोत साधनको दुरुप्रयोग गरेको तर काम भने सिन्को नभाचेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया