सिन्धुली – हेर्नेको मन दुख्छ, भोग्ने बोल्न सक्दैनन् । आँखाले पीडा व्यक्त गर्छन्, कसैले बुझन सक्दैनन् । सिन्धुलीको तीनपाटन गाउँपालिका–३ सिपालीका सञ्जित घलानको यथार्थ यस्तै छ । उनी आठ वर्षका भए । फलामे सांग्लोले बाँधिएको तीन वर्ष वित्यो । संसार घुमेर खेल्ने उमेरमा जेलभन्दा सकस जीवन घरभित्रै गुजार्नु उनको बाध्यता छ ।
घर छोडेर जतासुकै हिड्ने र जे भेट्यो त्यही खाने गर्न थालेपछि सांग्लोले बाँधेर राखिएको बुबा तेजबहादुर घलानले बताउनु भयो । ‘मजदुर गरेर परिवार पाल्नेलाई हेरचाह गरेर बसिरहने फुर्सद मिल्दैन, उहाँले भन्नुभयो, “ फलामको सांगलो नलगाए फुस्काएर भागिहाल्छ ।”
“कान्छी श्रीमती पट्टी एउटा छोरा र तीन छोरीहरु छन् । सञ्जित जेठी श्रीमती पट्टीका छोरा हुन् । उनलाई जन्म दिइने आमाले छोडेर गएपछि हेरचाह गर्नेको अभाव छ । ‘खानेकुरा मागिरहन्छ, दिइरहने फुर्सदै मिल्दैन,” बुबाले भन्नुभयो ।
उनी शारीरिक, मानसिक र संवेगात्मक तवरले स्वस्थ छैनन् । उनलाई भएको केहो ? भन्ने अझैसम्म खुल्न सकेको छैन । गतिलो अस्पतालमा लैजानका लागि आवश्यक पैसा छैन ।
ज्याला, मजदुर गरेर बुबाआमा घर फर्किदा दिसापिसाबमा डुबेर बसेका हुन्छन् । पैसा नभएर उपचारको लागि राम्रो अस्पताल लैजान नसकेको बुबा घलानको भनाइ छ । “छोरा स्वस्थ बनाउन धामीझाक्री पनि लगाएँ । देउताले बोली रोक्यो भनेर दक्षिणकाली दर्शन गराउँदा पनि बोली फुटेन,” उहाँले भन्नुभयो, “झन रोगी बन्दै गएको छ ।”
दिनभर फलामे साङ्लोले घर आगाडि बाँधेर राखेको दृष्य अत्यन्त दयनीय र पीडादायी देखिएको÷देखिने स्थानीयबासी कुसुम कार्कीले बताउनु भयो । उहाँले भन्नुभयो, “बालकको बेस्याहार भएको छ । राम्रो उपचार पाए ठीक हुन सक्छन् ।”
वडा अध्यक्ष लालबहादुर स्यांङतानले बालकको उपचार तथा उद्धार गर्न आवश्यक भएको बताउनु भयो । “कहाँ र कसरी उद्धार गर्ने अलमलमा परेका छौं” म तपाईको पत्रिका मार्फत सरकारी तथा गैरसकारी संस्थालाई सहयोग गरिदिन अनुरोध समेत गर्दछु,” उहाँले भन्नुभयो ।