सिन्धुली – आगामी वैशाख३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि सिन्धुलीमा ह्वात्तै बढेको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
एमालेका अध्यक्ष कुमार बहादुरकार्की (रामकुमार)ले जिल्लाभरका वडाका कमिटीलाई प्रशिक्षण दिएर चुनावमा पार्टी विजयी गराउन सक्रियता बढाएको बताउनुभयो । बुधवार मात्रै सिन्धुलीको सुनकोशी गाउँपालिकामा एमालेले गाँउपालिकामा चुनाव लक्षित कार्यक्रममा विभिन्न जनवर्गीय संगठनको गाँउपालिका स्तरीय बृहत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । एमालेले वडास्तरमा घरदैलो, पार्टी सम्र्पक कार्यालय स्थापनालगायत कामलाई तीव्रता दिएको जनाएको छ ।
चुनाव लक्षित नेता तथा कार्यकर्तालाई जिम्मेवारी र केन्द्रीय तहका नेता प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा परिचालन हुने एमालेले जनाएको छ ।
त्यसैगरी नेपाली काँग्रेसले पनि जिल्लाभर चुनावी अभियान सञ्चालन गरिरहेको छ । ‘घर घर जाऔँ, काँग्रेस जिताऊ’ अभियानका साथ नेताहरू वडास्तरसम्म परिचालन भएको काँग्रेसले जनाएको छ । यसअघि जिल्लामा केन्द्रीयस्तरका नेताबाट समेत पार्टी प्रशिक्षणलगायतका काम गरिसकेको काँग्रेसले अघिल्लो निर्वाचनभन्दा यसपटक माहोल आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा काँग्रेस यहाँ तिन पालिकामा विजयी भएको थियो ।
त्यसैगरी माओवादी केन्द्रले पनि चुनावी अभियान वडास्तरसम्म सञ्चालन गरिरहेको छ । माओवादीले यसअघि यहाँका तिन पालिकामा जित निकालेको थियो । माओवादीका अनुसार यहाँ विभिन्न तहका नेतालाई जिम्मेवारी दिएर घरदैलो अभियानमा खटाइएको छ ।
त्यसैगरी एमालेबाट विभाजित भएको एकीकृत समाजवादी पनि स्थानीय तहको निर्वाचन तयारीमा जुटेको छ । वडास्तरसम्म पार्टी विस्तार गरिरहेको समाजवादी पार्टी सिन्धुलीले जानकरी दिएको छ ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व सम्हालेसँगै अध्यक्ष भिष्म श्रेष्ठले चुनावी अभियान सञ्चालन गर्नुभएको छ । चुनावी अभियानका क्रममा पार्टी कार्यक्रममा सहभागी हुन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एक पटक कञ्चनपुर आइसक्नुभएको छ । यस पटक राप्रपाको सांगठनिकस्वरुप फराकिलो हुँदै जाँदा अन्य दलहरू पनि चुनावमा असर पर्ने भन्दै सशंकित छन् । चुनावी अभियान सञ्चालनलाई दलहरूले गति दिए पनि नेपाली काँग्रेस दुधौली नगरपालिकाका ३ ओटा वार्ड अध्यक्षकोप्रत्यासी बाहेक अन्त कतैपनि उम्मेदवारको टुंगो भने कसैले लगाएका छैनन् ।