शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

२०७८ साल चैत १७ गते मंगलवार वारको सिन्धुलीका मुख्य समाचार हरु

बिहिवार , चैत्र १७, २०७८

पढ्दै कमाउदै कार्यक्रमका लागि सिन्धुलीका २ वटा विद्यालय

सिन्धुली – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै कार्यक्रमका लागि सिन्धुलीका २ वटा विद्यालय छनोट भएका छन् । जिल्लाको दुधौली नगरपालिका ४ डकाहाको सरस्वती माध्यामिक विद्यालय र कमलामाई नगरपालिका ५ फोस्रेटारको जनज्योती माध्यामिक विद्यालय फोस्रेटार छनौट भएका छन् । डकाहाको सरस्वती माविमा फर्निचर उद्यम र बाख्रापालन सम्बन्धि कार्यक्रम परेको छ भने जनज्योती माविमा कृषि कार्यक्रम परेको छ ।

देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन्। सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १ सय ५७ विद्यालय छनोट गरेको हो । जसमध्ये ४ कोठे भवन ९ सय ७६, दुई कोठे भवन ९ सय ६६, आइसिटी ल्याब व्यवस्थापन दुई हजार १ सय ६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय २१ निर्माण गरिने भएको छ ।

राष्ट्रपति शैक्षिक सुधारका लागि ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ । आठ वर्षअघि एक जना शिक्षकले सुरु गरेको ’पढ्दै कमाउँदै’ कार्यक्रमलाई शिक्षा मन्त्रालयले अघि बढाएको छ । बर्दियाका नारायण सिग्देलले सुरु गरेको कार्यक्रमलाई देशभरका विभिन्न स्कुलमा विस्तार गर्ने योजनासहित मन्त्रालयले अघि बढाएको हो ।

शिक्षा मन्त्रालयले ’पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन कार्यविधि–२०७८ जारी गरेको छ । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी सीपयुक्त एवं स्वावलम्बी नागरिक बन्न सहयोग पु¥याउने उद्देश्यले उक्त कार्यविधि जारी भएको हो ।

राष्ट्रसेबक कर्मचारीहरुलाई ध्यानाकर्षण

सिन्धुली – कमलामाई नगपालिकाले नगरपालिकाभित्रका सार्बजनिक पदधारण गरेका राष्ट्रसेबक कर्मचारीहरुलाई राजनितिक दलको गतिबिधिमा संलग्न नहुन ध्यानाकर्षण गरेको छ । बुधवार कमलामाई नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बिशकशेन ढकालले ध्यानाकर्षण गराउँदै नगरपालिका भित्रका राष्ट्रसेबक कर्मचारीहरुलाई राजनितिक दलको गतिबिधिमा संलग्न नहुन आग्रह गरेको हो ।

कमलामाई नगरपालिकाका कर्मचारी,वडाकार्यलयका कर्मचारी,बिद्यालयका शिक्षक तथा कर्मचारीहरु,स्वास्थ्य चौकिका कर्मचारी,आधारभुत स्वास्थ्य केन्द्रका कर्मचारीलाई आगामी स्थानिय निर्वाचनको लागी राजनितिक दलहरुको गतिबिधिमा सामेल नहुन आग्रह गरेको छ ।

पदीय जिम्मेबारिमा प्रतिबद्ध रहि तथा प्रचलित कानुनको परिधि भित्र रहेर काम गर्ने अनुरोध गरिएको छ । सामाजिक सन्जालमा निर्वाचित केन्द्रित रहि विपरितका क्रियाकलाप गरेको सम्बन्धमा जनगुनासो प्राप्त भएको भन्दै सो कार्यहरु प्रचलित ऐन कानुनको बरखिलाप हुने भएकाले अचरण उल्लंघन गरेको सम्बन्धमा गम्भिर ध्यानाकर्षण गरेको हो ।

कर्मचारीहरुले पटक पटक आचरण तथा अनुसासन उल्लङ्घन गरेमा प्रचलित कानुन अनुसार कारबाहि प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

बालबालिकाहरुलाई साविकाको सहयोग

 

सिन्धुली,– सामुदायिक विकास कार्यक्रम सिन्धुलीले हिँसा पिडित महिला र अति विपन्न परिवारका बालबालिकाहरुलाई राहत वितरण गरेको छ ।

साविकाले प्लान ईन्टरनेशलन नेपालको आर्थिक सहयोगमा संचालित बाल संरक्षण परियोजना अन्तर्गत हिँसा पिडित महिला र अति विपन्न परिवारका बालबालिकाहरुलाई खाद्यान्न, शैक्षिक सामाग्री र लत्ताकपडा सहयोग गरेको हो ।

साविकाले बुधवार घरेलु तथा अन्य हिँसा पिडित ८ जना महिलाहरुलाई दाल, चामल, नुन, तेल लगाएतका खाद्यान्न, लत्ताकपडा र उनीहरुको बच्चाको लागि पाउडर दुध, ओड्स लगाएतका पोषणयुक्त खानेकुरा वितरण गरेको छ ।

हिँसा पिडित भई न्यायका लागि र सुंरक्षाका लागि एक द्धार संकट व्याबस्थापन केन्द्र सिन्धुलीको सम्पर्कमा आएका महिलाहरुलाई अप्ठ्यारो परिस्थितीमा सहयोग होस् भनेर खाद्यान्न वितरण गरिएको बाल संरक्षण परियोजनाका कार्यक्रम संयोजक विक्रम केसीले बताउनुभयो ।

बुधवार सिन्धुलीका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाबाट राहत सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

साविकाले परियोजना लागु भएको जिल्लाका स्थानिय तहहरु कमलामाई तथा दुधौली नगरपालिका, सुनकोशी, गोलन्जोर, तिनपाटन र मरिण गाउँपालिकाका अति विपन्न परिवारका ४७ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री र लत्ताकपडा वितरण गरेको कार्यक्रम संयोजक केसीले बताउनुभयो ।

त्यस्तै परियाजना लागु भएका स्थानिय तहका अभिभावक विहिन केही बालबालिकाहरुलाई खाद्यान्न, शैक्षिक सामाग्री र लत्ता कपडा वितरण गरेको संयोजक केसीको भनाई छ ।

माओबादी पार्टी कार्यालय सिन्धुलीमा नागरिक बास बस्न थाले

बुद्व नेपाली

सिन्धुली, – नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनमा सर्वसाधारण नागरिक बास बस्न थालेका छन् ।

पार्टी कार्यालय भवन निर्माणमा मुख्य भुमिका खेल्नुभएका जिल्ला ईन्चार्ज लेखनाथ दाहाल(राजन) ले पार्टी कार्यालयको उदघाटनका दिन पार्टी कार्यालयमा अतिथि आवास कक्षको व्यवस्था गरेर गाउँका गरिव तथा विपन्न नागरिकलाई सदरमुकाम आउदाँ खाना र बासको व्यवस्था गर्ने घोषणा गर्नुभएको थियो ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अगाडी उहाँले गर्नुभएको सो घोषणा अहिले कार्यान्वयन हुन थालेको छ । पार्टी कार्यालय भवन उदघाटन भएको भोली पल्ट देखि नै पार्टी कार्यालयको अतिथि आवास कक्षमा गाउँका गरिव र विपन्न नागरिक बास राखिएको ईन्चार्ज दाहालले बताउनुभयो

।

उहाँका अनुसार अहिले भिविन्न काम विशेषले गाउँबाट सदरमुकाम आएका तर आर्थिक अभावकै कारण अन्यत्र होटलमा बास बस्न नसक्ने नागरिक पार्टीको अतिथि आवास कक्षमा आफैले खाना बनाएर खाने र राती बास बस्ने गर्छन ।

बुधवार स्थानिय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन आएका दुधौलीका १० जना भन्दाबढी युवाहरुलाई आवास कक्षमा बास बस्न दिईएको ईन्चार्ज दाहालले बताउनुभयो । “गाउँबाट अड्डा अदालत, मुद्धा मामिला, नागरिकता, पासपोर्ट लगाएत विभिन्न समस्या लिएर नागरिकहरु सदरमुकाम आउछन् । जो गरिव छन् विपन्न छन उहाँहरुको सेवाको लागि आवास कक्षको व्यवस्था गरेका हौं ”’ उहाँले भन्नुभयो ।

पार्टीको अतिथि आवासमा विशेष गरी गाउँका विपन्न नागरिकलाई बास दिईने भन्दै ईन्चार्ज दाहालले भन्नुभयो, “गाउँबाट सदरमुकायमको होटलमा बस्न खसी, बाख्रा, कुखुरा, धान, मकैं बेचेर आउनु पर्ने बाध्यता भएका नागरिक पनि छन् । ती नागरिकहरुको सेवामा समर्पित भएर आवास कक्षको व्यवस्था मिलाईएको हो ।”

राजनितिक दलहरुले राजनितिक कार्य मात्र नभई सामाजिक भुमिका पनि निर्वाह गर्नु पर्छ भन्ने उदश्यले यो आवासको व्यवस्था मिलाईएको उहाँले बताउनुभयो । माओवादी पार्टीको आफ्नो बर्ग गरिव, विपन्न नागरिकलाई गर्नुपर्ने सेवाभाव गर्ने लक्ष्य राखेर आवास तयार गरिएको उहाँले भन्नु भयो ।

आवास कक्षमा चाहिने खाद्यान्न लगाएतका सरसमान पार्टीका हुनेखानेहरुले सहयोग गर्ने र त्यो सरमान आवास कक्षमा बस्ने गरिव नागरिकले पकाएर खाने व्यवस्था गरिने उहाँले बताउनुभयो ।

म्यादी प्रहरीमा भर्ना हुन दुधौली नगरपालिका १० बाट आउनु भएका लाल बहादुर परियार एउटा पार्टीले आपतविपतमा परेका नागरिकलाई खाने र बस्ने सुविधा दिएकोमा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।

सुनकोशी एमालेले गाँउपालिका स्तरीय बृहत भेला

 

सिन्धुली – सुनकोशी एमालेले गाँउपालिका स्तरीय बृहत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

बैशाख ३० मा हुने स्थानीय चुनाव लक्षित कार्यक्रममा विभिन्न जनवर्गीय संगठन पनि निर्माण गरिएको छ । भेला तथा प्रशिक्षण कार्यक्रम बोल्दै एमाले नेता ईस्वरी रिजालले माओवादी केन्द्रसंग गठबन्धन नभएर पार्टी एकता गर्नु पर्ने बताउनु भयो ।

नेता रिजालले अब माओवादीसंगं गठबन्धन हैन पार्टी एकता गर्न पर्ने नत्र नेपालमा कम्युनिस्टको भविष्य नरहेको समेत बताउनुभयो । माओवादीको रुप काँग्रेससंग नमिल्ने र काँग्रेसले माओवादीलाई चुनावमा भोट नहाली धोका दिने भन्दै काँग्रेससगं तालमेल नगर्न सुझाव दिदै एमालेसगं पार्टी एकता गर्न अनुरोध समेत गर्नुभयो ।

फरक सन्दर्भमा काँग्रेस नेता धनराज गुरुले आफुहरु हात्ती भएको माओवादी चमेरो भएको र हात्तिको कानमा गुँड बनाउन लागेको भन्ने अभिव्यक्ती दिएको भन्दै नेकपा हुदाको आफ्नो अध्यक्ष प्रचण्डलाई हेपेको आफुलाइ मन नपरेको भन्दै चित्त समेत दुखाउनुभयो ।

काँग्रेस पार्टी माओवादीसगं मिल्न नसक्ने र चुनावमा धोका दिने भन्दै नेता रिजालले माओवादीसंग एकता चाहेको बताउनुभयो । नेता रिजाल नेकपा एमालेको केन्द्रिय सदस्य स्कुल विभागको उप–प्रमुख समेत हुनुहुन्छ ।

यसैगरि नेकपा एमाले केन्द्रिय सदस्य स्कुल विभाग उप–प्रमुख इश्वरी रिजाल प्रमुख अथितिमा रहेकोे कार्यक्रममा विभिन्न जनवर्गीय सगंठनहरु निमार्ण भएका छन् । जसमा युबा संघको अध्यक्षमा दिपक रम्तेल,अनेरास्ववियुको अध्यक्षमा प्रदिप माझी,अनेमा संघको अध्यक्षमा आर्जु खड्का,किसानको अध्यक्षमा चन्द्र धिमाल ,उद्योग तथा व्यावसायको अध्यक्षमा गोपाल श्रेष्ठ र अपांग तर्फ तोयानाथ गौतम निर्वाचित हुनुभएकोछ ् ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १२० जाना कार्यकर्ता नेकपा एमाले पार्टी प्रवेश समेत गरेका थिए ।

स्थानीय निर्वाचन बैशाख ३० मा हुने र नेकपा एमालेले उक्त निर्वाचनमा जीत हासिल गर्ने सुनकोशी पार्टी प्रमुख रोमन राज गिरि‘असोक’ले दाबी समेत गरे । यस्तै कार्यक्रममा १५ सदस्यीय रिटर्नि फेडेरेसन नेपालको सुनकोशी गाउँ कमिटी पनि घोषणा गरेको छ ।

फिक्कलमा सिलाई बुनाई तालिम सम्पन्न

सिन्धुली – फिक्कल गाउँपालिकामा २० दिने बुनाई सम्बन्धी तालिम सम्पन्न भएको हो । गत फागुनमा गाउँपालिकाको आयोजना र सामाजिक सरोकारवाला समाज नेपालको साझेदारीमा सुरु भएको तालिम बुधबार समापन भएको हो ।

फिक्क्ल गाउँपालिकाको आर्थिक सहयोगमा सामाजिक सरोकारवाला समाज नेपालको आयोजनामा तालिम सम्पन्न भएको हो ।

तालिममा पालिका भित्रका १३ जना महिलाहरुको सहभागी रहेको थियो । पालिका भित्रका महिलाहरुलाई आत्मनिर्भर बनाउँने, आयआर्जन बृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको फिक्कल गाउँपालिकाका अध्यक्ष धन बहादुर कार्कीले जानकारी दिनुभयो । तालिममा सहभागी महिलाहरुलाई उनको टोपी गलबन्दी, झोला लगायत अन्य बिभिन्न समाग्रीहरु बनाउँन सिकाईएको थियो ।

सिन्धुलीमा दिप प्रज्वलन

सिन्धुली­ नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवस सिन्धुलीमा दिप प्रज्वलन गरि मनाइएको छ । बुधबार सिन्धुलीमाढीको लोकतान्त्रिक चोकमा ६७ औ स्थापना दिवको अवसरमा दिप प्रज्वन आयोजना गरिएको थियो ।जिल्लाका सम्पूर्ण मिडियामा आवद्ध मिडियाकर्मी तथा पत्रकारको उपस्थितिमा दिप प्रज्वन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्ण हरि घिमिरेले ६७ औँ वार्षिक उत्सव मनाउनका लागि नेपाली लोकतान्त्रीक आन्दोलनका अगुवा कृष्ण प्रसाद भट्टराइले संस्थागत स्टिममा ल्याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै श्रदान्जली व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा उहाँहरुले देखाएको बाटोमा अगाडि बढ्ने प्रतिवद्धता गर्नुभयो ।

साथै नेपाल पत्रकार महासंघ आफ्नो अधिकार सुनिश्चित गर्नका लागि महत्पूर्ण नेतृत्वदायी भूमिका खेल्ने संस्था रहेको बताउँदै उहाँले महासंघको नेतृत्व गर्ने सभापति प्रति सम्मान व्यक्त गर्नुभयो । उहाँले नेपाली पत्रकारलाई संरक्षण प्रदान गर्नका लागि नेपाल पत्रकार महासंघ महत्पूर्ण भुमिनका निर्वाह गरेको बताउनुभयो ।

प्रतिक्रिया