सिन्धुली, – नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनमा सर्वसाधारण नागरिक बास बस्न थालेका छन् ।
पार्टी कार्यालय भवन निर्माणमा मुख्य भुमिका खेल्नुभएका जिल्ला ईन्चार्ज लेखनाथ दाहाल(राजन) ले पार्टी कार्यालयको उदघाटनका दिन पार्टी कार्यालयमा अतिथि आवास कक्षको व्यवस्था गरेर गाउँका गरिव तथा विपन्न नागरिकलाई सदरमुकाम आउदाँ खाना र बासको व्यवस्था गर्ने घोषणा गर्नुभएको थियो ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अगाडी उहाँले गर्नुभएको सो घोषणा अहिले कार्यान्वयन हुन थालेको छ । पार्टी कार्यालय भवन उदघाटन भएको भोली पल्ट देखि नै पार्टी कार्यालयको अतिथि आवास कक्षमा गाउँका गरिव र विपन्न नागरिक बास राखिएको ईन्चार्ज दाहालले बताउनुभयो ।
उहाँका अनुसार अहिले भिविन्न काम विशेषले गाउँबाट सदरमुकाम आएका तर आर्थिक अभावकै कारण अन्यत्र होटलमा बास बस्न नसक्ने नागरिक पार्टीको अतिथि आवास कक्षमा आफैले खाना बनाएर खाने र राती बास बस्ने गर्छन ।
बुधवार स्थानिय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन आएका दुधौलीका १० जना भन्दाबढी युवाहरुलाई आवास कक्षमा बास बस्न दिईएको ईन्चार्ज दाहालले बताउनुभयो । “गाउँबाट अड्डा अदालत, मुद्धा मामिला, नागरिकता, पासपोर्ट लगाएत विभिन्न समस्या लिएर नागरिकहरु सदरमुकाम आउछन् । जो गरिव छन् विपन्न छन उहाँहरुको सेवाको लागि आवास कक्षको व्यवस्था गरेका हौं ”’ उहाँले भन्नुभयो ।
पार्टीको अतिथि आवासमा विशेष गरी गाउँका विपन्न नागरिकलाई बास दिईने भन्दै ईन्चार्ज दाहालले भन्नुभयो, “गाउँबाट सदरमुकायमको होटलमा बस्न खसी, बाख्रा, कुखुरा, धान, मकैं बेचेर आउनु पर्ने बाध्यता भएका नागरिक पनि छन् । ती नागरिकहरुको सेवामा समर्पित भएर आवास कक्षको व्यवस्था मिलाईएको हो ।”
राजनितिक दलहरुले राजनितिक कार्य मात्र नभई सामाजिक भुमिका पनि निर्वाह गर्नु पर्छ भन्ने उदश्यले यो आवासको व्यवस्था मिलाईएको उहाँले बताउनुभयो । माओवादी पार्टीको आफ्नो बर्ग गरिव, विपन्न नागरिकलाई गर्नुपर्ने सेवाभाव गर्ने लक्ष्य राखेर आवास तयार गरिएको उहाँले भन्नु भयो ।
आवास कक्षमा चाहिने खाद्यान्न लगाएतका सरसमान पार्टीका हुनेखानेहरुले सहयोग गर्ने र त्यो सरमान आवास कक्षमा बस्ने गरिव नागरिकले पकाएर खाने व्यवस्था गरिने उहाँले बताउनुभयो ।
म्यादी प्रहरीमा भर्ना हुन दुधौली नगरपालिका १० बाट आउनु भएका लाल बहादुर परियार एउटा पार्टीले आपतविपतमा परेका नागरिकलाई खाने र बस्ने सुविधा दिएकोमा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।