शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा स्थानीय तह निर्वाचनको तयारी तीव्र

बुधवार , चैत्र १६, २०७८

सिन्धुली,– आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सिन्धुलीमा तयारी तीव्र पारिएको छ । निर्वाचनका लागि जिल्लामा २०० कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रिय दलको मान्यता नपाएका अन्य दल दर्तादेखि स्थानीय तहसँगको समन्वयमा मतदाता नामावली अद्यावधिकलगायत आवश्यक काम तीव्र गतिमा भइरहेको कार्यालयका निर्वाचन अधिकारी पुष्पा कुमारी झाले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले धनुषा जिल्ला अदालतका न्यायाधीश धुर्व प्रसाद सापकोटालाई जिल्लाको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ । आयोगले गोलन्जोर गाउँपालिकाका लागि राष्ट्रिय किताबखाना ललितपुरका निर्देशक प्रकाश जंग कार्कि, घ्याङलेख गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय सिन्धुलीका जिल्ला न्यायाधिवक्ता विमल थापा, तिनपाटन गाउँपालकाका लागि जिल्ला समवन्य समितिको कार्यालय सिन्धुलीका जिल्ला समवन्य अधिकारी सुमन कुमार कार्की, दुधौली नगरपालिकामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समुह) उपसचिव दिपक ढकाललाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ । यस्तै, फिक्कल गाउँपालिकामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबारका उपसचिव डिक बहादुर कार्की, सुनकोशी गाउँपालिकामा सम्पत्ति सुिद्धकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुरका उपसचिव विनोद कुमार दाहाल, हरिहरपुरगढी गाउँपालिकामा सिन्धुली जिल्ला अदालतका श्रेस्तेदार भरत कुमार दाहाल र मरिण गाउँपालिकामा खानेपानी मन्त्रालयका उपसचिव दुर्गा बन्जाडेलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । कमलामाई नगरपालिकामा भने जिल्लाको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको धनुषा जिल्ला अदालतका न्यायाधीश धुर्व प्रसाद सापकोटा रहनुहुनेछ ।

दलहरूले चुनावी तयारी गरिरहँदा निर्वाचन कार्यालयले पनि आफ्ना काम अघि बढाएको छ । मुख्य निर्वाचन अधिकृत तोकिएसँगै निर्वाचनका लागि स्थानीय तहमा कार्यालय स्थापनादेखिका निर्वाचनका लागि आवश्यक तयारी भइरहेको निर्वाचन अधिकारी झाले बताउनुभयो । निर्वाचन अधिकृतका लागि स्थानीय तहमा कार्यालय स्थापना गर्ने, फर्निचर, सिसी क्यामरा र इन्टरनेटजस्ता आवश्यक सुविधा मिलाउने कार्य भइरहेको छ । मतदान र मतगणनाको जानकारी आयोगमा श्रव्य र दृश्य दुवै माध्यमका सम्प्रेषण गर्नुपर्ने भएकाले स्थानीय तहसँग समन्वय गरी आवश्यक कार्यहरू भइरहेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी), जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलका रूपमा सक्रिय छन् । तीमध्येका अधिकांश दलले चुनावी अभियान थालिसकेका छन् । मुख्य दलहरू चुनावी अभियान लिएर गाउँका टोल–टोलमा पुग्न थालेका हुन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सिन्धुली जिल्लाभरी मतदान स्थल १४४ ओटा र मतदान केन्द्र २ सय ६८ ओटा रहने निर्वाचन आयोगले सर्वाजनिक गरेको तथ्यांकमा उल्लेख छ । निर्वाचन आयोगले आइतबार मतदाता नामावली तय गरेको छ, जसअनुसार २०७९ बैशाख २९ गते सम्म १८ वर्ष पुरा भएका सिन्धुलीमा २ लाख ६ हजार ३३६ मतदाता हुने छन् ।

प्रतिक्रिया