शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

२०७८ सालचैत्र १५ गते मंगलवारको सिन्धुलीका मुख्य समाचार हरु

बुधवार , चैत्र १६, २०७८

काँग्रेस सिन्धुलीका नेता माओवादी केन्द्रमा प्रवेश

सिन्धुली, – नेपाली काँग्रेसका नेता ठाकुर प्रसाद दाहाल काँ्रेस पत्यिाग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ ।

करिव २५ बर्ष नेपाली २५ वर्ष नेपाली काँग्रेसमा क्रियाशिल दाहाललाई मंगलवार माओवादी पार्टी कार्यालय सिन्धुलीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी इन्चार्ज तथा केन्द्रिय सदस्य लेखनाथ दाहाल (राजन) र माओबादी केन्द्रका बागमति प्रदेशका सल्लाहाकार सदस्य बिशम्बर लामीछानेले दाहाललाई अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्नु भयो ।

दुधौलि नगरपालिका २ भलुवहिका दाहाल दुधौली क्षेत्रमा निक्कै प्रभावशाली नेता हुनु हुन्छ । दाहाल नेपाली काँग्रेसको १४ ओैँ जिल्ला अबिधवेशमा जिल्ला सचिव पदको प्रत्यासी हुनु भएकोथियो । लामो समय नेपाली काँगे्रस पार्टीमा राजनिति गरीरहनु भएका दाहालले माओबादी केन्द्रको सिद्धान्त, बिचार र राजनितिक गतिबिधि जनताको हितमा रहेकाले बिना सर्त माओबादीमा प्रबेश गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो “माओबादी केन्द्रको राजनितिक गतिबिधि,बिचार र सिद्धान्तबाट प्रभावित भएर म आफ्नो इच्छाले काँगेस परित्याग गरी माओबादीमा प्रबेश गरेका हुँ । माओबादी पार्टीमा कुनै सर्त लिएर प्रबेश गरको होइन । यो पार्टीमा रहेर बिना सर्त जनताको सेवा गर्नछु ।”

हाल जिल्लामा बिभिन्न पार्टि परित्याग गरी माओबादीमा प्रबेश गर्नको लहर नै चलेको छ । दाहाललाई स्वागत गर्नुहुँदै माओबादी केन्द्रका जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन) ले जनताको इच्छा, आकांक्षा जसले पुरा गर्छ त्यो नै असल नेतृत्वकर्ता बन्ने बताउनु भयो । असल नेतृत्व जनताले नै छान्ने भएकाले असल नेतृत्व गर्न आग्रह गर्नुभयो । दाहाललाई इक्छा,शक्तिको आधारमा पार्टीमा जिम्मेवारी प्रदान गरीने उहाँले बताउनु भयो ।

कृषि गणनाका लागि सिन्धुलीमा २५ सुपरिवेक्षक

 

सिन्धुली­- केन्द्रीय तथ्यांक विभागले सिन्धुलीसहित देशभर आगामी वैशाख ६ गतेदेखि सातौँ कृषि गणना गर्न लागेको छ । नेपालमा विसं २०१८ देखि विभागले हरेक १० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको र सोहीअनुरुप नै आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म सिन्धुलीलगायत ७७ जिल्लामा गणना गरिने भएको हो ।

सिन्धुलीका नौँ वटै पालिकामा गणनाका लागि २५ जना सुपरिवेक्षकलाई खटाउन लागिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूलनाराका साथ सुरु गरिने गणनाका लागि जिल्लामा २५ सुपरिवेक्षक खटिने भएका हुन् । गणनाका लागि दुधौली नगरपालिकामा ३ जना सुपरिवेक्षक खटिने छन् ।

यस्तै फिक्कल गाउँपालिकामा दुइ जना, तिनपाटन गाउँपालिकामा ३ जना, गोलन्जोर गाउँपालकामा ३ जना, कमलामाई नगरपालिकामा ३, सुनकोशी गाउँपालिका, हरिहरपुगढी गाउँपालिका र मरिणमा तिनतिन जना खटाइने छ । साथै घ्याङलेख गाउँपालिकामा २ जना खटाइने जनाइएको छ । कृषि गणनामा पारिवारिक, व्यावसायिक तथा संस्थागतरुपमा सञ्चालन भइरहेका कृषि कार्यको विवरण संलन गरिनेछ । जिल्लामा चैत १ गतेदेखि कार्यालय नै स्थापना गरेर काम गरिरहेको जनाइएको छ ।

डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

सिन्धुली­ - सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ७ माझिडांडामा वन डढेलो सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको समुदाय लक्षित डढेलो सम्वन्धी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार तेस्रो दिन माझिडांडामा सम्पन्न भएको हो ।

कार्यक्रममा कर्मजोती सामुदायिक वन उपभोगता समिति माझिडांडाकी कोषाध्यक्ष लक्ष्मी माझीले आफुलाई बचाउनका लागि वन बचाउनु पर्ने बताउनुभयो । उहाँले गोठाला तथा आम उपभोक्ताहरुलाई प्रज्वलनशील वस्तु लिई वन प्रवेश गर्न रोक लगाउने बताउनुभयो । साथै उहाँले वन डढेलो लागेको थाहा पाउँने बित्तिकै नजिकको वन डिभिजन कार्यालय र सुरक्षा निकायलाई खबर गर्न समेत अनुरोध गर्नुभयो ।

यस्तै, सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीका प्रहरी हवल्दार रविन्द्र कुमार ठाकुरले वन डढेलो नियन्त्रणका लागी वनको पत्कर निकाल्ने तथा सुकेका काठदाउरा निकाल्नु पर्ने बताउनुभयो । उहाँले आगलागीबाट वन र मानव जीवनमा समेत क्षति हुने भएकाले गर्मीयाममा जथाभावी प्रज्ज्वलनशील वस्तु नफाल्न सम्पूर्ण नागरिकलाई आग्रह गर्नुभयो ।

कानुनमा बनमा डढेलो लगाउनेलाई वन ऐन २०७६ को दफा ४९ को घ वमोजिमको कसुर गरेको बुज्ने भएकोले सोहि ऐनको दफा ५० को उपदफा ४ बमोजिम कसुर भएको क्षति बराबर बिगो असुल गरि ३ बर्ष सम्म कैद वा ६० हजार सम्म जरिवान वा दुबै सजाय हुने व्यवस्था गरिएको उहाँले जानकारी गराउनुभयो ।

कर्मजोती सामुदायिक वन उपभोगता समिति माझिडांडाको कोषाध्यक्ष लक्ष्मी माझीको अध्यक्षता, सामुदायिक सेवा केन्द्र सिन्धुलीको उपाध्यक्ष पार्वती थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय सिन्धुलीका लेखा अधिकृत जान बहादुर खडका तथा विभिन्न वन उपभोक्ता समितिको प्रतिनिधि तथा स्थानिय सर्व साधारणको उपस्थिति रहेको थियो । १३ गतेबाट सुरु भएको सप्ताहव्यापी रुपमा चल्ने कार्यक्रम १९ सम्म संचालन हुने छ ।

फिक्कलमा प्रहरी चौकी भवन उद्घाटन

सिन्धुली­ सिन्धुलीको फिक्कल गाउँपालिकामा नव निर्मित प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५ मा निर्माण गरिएको प्रहरी चौकी भवनको बागमती प्रदेश प्रमुख प्रहरी नायक महा निरिक्षक प्रकाश जंग कार्कीले रिवन काटेर उद्घाटन गर्नुभएको हो ।

उक्त प्रहरी चौकी भवन वागमती प्रदेश सरकार योजना मन्त्रालयको १ करोड, ५६ लाख, १८ हजार, २ सय १८ रुपैँया लागतमा निर्माण सम्पन्न भएको हो । निर्माण कार्य २०७५ को साउन महिनामा सुरु गरिएको थियो । भवन निर्माण गत असार महिनामा सम्पन्न भए पनि विविध कारणले उघदाटन गर्न ढिलाइ भएको फिक्कल गाउँपालिका अध्यक्ष धन बहादुर कार्कीले बताउनुभयो ।

साढे दुई तल रहेको उक्त भवनमा ९ वटा कोठा रहेको छ । भवनमा प्रहरी आवास, महिला कैदीहरुलाई राखिने, मिटिङ हल रहेको छ । भवन निर्माण भएसँगै गाउँपालिकाका बासीले प्रहरी सेवा लिन सहज हुने अध्यक्ष कार्कीले बताउनुभयो । भवन उदघाटन कार्यक्रममा फिक्कल गाउँपालिका अध्यक्ष धन बहादुर कार्की उपाध्यक्ष पार्बती सुनुवार, सिन्धुली जिल्ला प्रमुख प्रहरी उपरीक्षक बिमल राज कडेल लगाएतको उपस्थिती रहेको थियो ।

नगद र गरगहना सहित सिन्धुलीका एक जना पक्राउ

काठमाडौं – चोरी भएको नगद तथा विभिन्न सुनचाँदीका गरगहना सहित सिन्धुली सुनकाशी गाउँपलिका –१ सितलपाटी स्थाई घर भई ललितपुर चापागाउँ बस्ने २४ वर्षीय राजेश पाख्रिनलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३२ नरेफाट डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका–३ घर भएकी ३० वर्षीया तिल माया मगरको कोठाबाट आइतबार दिउँसो चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई चोरी भएको नगद तथा गरगहना सहित फेला पारी पक्राउ गरेको हो । उनको साथबाट नगद २८ हजार ३ सय ३० रूपैयाँ, सुनको जस्तो देखिने मिनी रानी हार, बाला, झुम्का, औंठी र चाँदीको जस्तो देखिने वस्तु प्रहरीले बरामद गरेको छ ।

उनी उपर चोरी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ ।

लागुऔषध सहित सिन्धुलीका तिन जना पक्राउ

 

सिन्धुली¬– लागुऔषध सहित सिन्धुलीका दुईजना पक्राउ परेका छन् । महोत्तरीबाट प्रहरीले लागुऔषधसहित कमलामाई नगरपालिका वडा नं ४ धुराबजारका १९ बर्षीय रबि विक र कमलामाई नगरपालिका वडा नं ५ का २१ बर्षीय सुमन कुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

गौशाला तर्फबाट बर्दिबासतर्फ आउदै गरेको टेम्पोमा सवार केही व्यक्तिहरुले अबैध लागुऔषध बोकी ओसारपोसार गरिरहेको भन्ने विशेष सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ माईस्थान स्थित चेकप्वाइन्टमा ज.१ ह १९३९ नम्बरको अटो टेम्पोलाई रोकेर खानतलासी गर्दा टेम्पुको पछाडी पट्टीको डिक्कीमा लुकाई छिपाई बोकी ल्याएको अबैध लागुऔषध बरामद भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्लोरोफेनारामाइन मेलेट सिरप एक्सीप्लोन १०० एमएलको ५ बोत्तल, नाइट्राभेट–१० लेखिएको १९ चक्की र ट्रमाडोल क्याप्सुल ८ चक्की बरामद भएको हो । लागुऔषधसहित पक्राउ परेका विक र श्रेष्ठलाई टेम्पुसहित नियन्त्रणमा लिई महोत्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

काठमाडौँमा एक जना पक्राउ

यसैगरी चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४ सय ६५ ट्याब्लेट सहित सिन्धुली सुनकोशी गाउँपालिका–१ बस्ने २० वर्षीय प्रयास श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी जलेश्वरदेखि काठमाडौंतर्फ जादै गरेको बा.५ ख ८३० नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार श्रेष्ठलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिन्धुलीमा मिस्टर एण्ड मिस सिन्धुली हुदैँ

 

सिन्धुली, –सिन्धुलीमा मिस्टर एण्ड मिस सिन्धुली हुने भएको छ । मिस्टर एण्ड मिस टिनको दुई सिजन र लिटल च्याम्पियन सिन्धुलीको ठुलो सफलता पछि जिल्लामा मिस्टर एण्ड मिस सिन्धुलीको पहिलो सिजन सुरु गर्न लागिएको आयोजक वरियर डान्स सेन्टर सिन्धुलीका सयोंजक सन्तोष नेपालीले जानकारी दिनुभयो ।

अहिले राजनीतिक, कला, व्यवसाय लगायत विभिन्न क्षेत्रमा युवा वर्गको आकर्षण कम रहेको छ । प्राय युवालाई आफ्नो लक्ष्य नै थाहा छैन । आफु केमा अव्वल बन्न सकिन्छ भन्ने ज्ञात कम रहेको छ । सोही कुराहरुलाई मध्यनजर गर्दै मिस्टर एण्ड मिस सिन्धुलीको आयोजना गर्न लागिएको आयोजक टिम तथा वरियर डान्स सेन्टरका सयोंजक सन्तोष नेपालीले बताउनु भयो ।

अहिले जिल्लाका धेरै युवा युवतीहरु लागु औषधमा फसि रहेका छन् । तीे युवा युवतीहरुलाई आफुहरुले आयोजना गर्न लागेको सो मा सहभागी बनाई व्यस्त राख्न, आफ्नो लक्ष्य प्रति केन्द्रित बनाउन, आफुमा भएको प्रतिभालाई प्रस्फुटन गर्न धेरै सहयोग पु¥याउने उद्देश्यले मिस्टर एण्ड मिस सिन्धुलीको आयोजना गर्न लागिएको उहाँको भनाई छ ।

प्रतियोगितामा सहभागिताका लागि आवेदन खुलिसकेको छ । अडिसन यहि चैत्र १९ गतेबाट सुरु हुने आयोजकले जानकारी दिएको छ । अडिसन जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ६ धुरा बजारमा रहेको आफ्नै सेन्टर वरियर डान्स सेन्टरमा हुने भएको छ । प्रतियोगितामा १६ वर्ष पूरा भई २८ वर्ष ननाघेका प्रतिस्पर्धीले सहभागिता जनाउन सक्नेछन् ।

फिक्कल गाउँपालिकामा इन्टरनेट सेवा

 

सिन्धुली,– फिक्कल गाउँपालिकामा इन्टरनेट सेवा जडान भइ संचालनमा आएको छ । नेपाल दुरसंचार प्राधिकरण प्राविधिक र फिक्कल गाउँपालिकाको आर्थिक सहयोगमा इन्टरनेट सेवा संचालनमा ल्याइएको हो । १ करोड ३२ लाख रुपैयाको लागतमा फिक्कल गाउँपालिकाका सवै विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था गरि ७५ स्थानमा अप्टिकल फाइबर मार्फत द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउने कार्यक्रम रहेको थियो ।

सोहि अन्तर्गत वडा नं. ६ र ३ को वडा कार्यालय लगायत अन्य विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सेवा जडान भइ सेवा संचालनमा आएको फिक्कल गाउँपालिकाले जनाएको छ । बाँकी रहेको स्थानमा पनि टेकमाइण्ड नेटवर्क चितवन इन्टरनेट जडान गर्ने कार्य गरिरहेको छ ।

टेलिफोन र मोबाइलको समेत राम्रो पँहुच नरहेका गाउँहरुमा पुगेको द्रुत र भरपर्दो इन्टरनेट सेवा जडान पश्चात् फिक्कल गाउँपालिकाको डिजिटल साक्षरता बढ्ने र फिक्कल गाउँपालिकाका दुर्गम बस्तीहरुलाइ नेटवर्कमा जोड्न सहज हुने गाउँपालिकाको अपेक्षा रहेको छ ।

प्रतिक्रिया