कमलामाई नगरपालिकामा आज बिदा
सिन्धुली, – सिन्धुलीको कमलामाई नगरपालिकामा आज बिदा दिइने भएको छ । आज सोमबार नगरपालिकाको २५ औं स्थापना दिवस मनाउने कार्यक्रम रहेकाले पालिका अन्तर्गतका कार्यलयहरुको नियमित काम कार्वाही बन्द हुने भएको हो ।
आज पर्ने स्थापना दिवसको चैत्र ११ गते नगर प्रमुख खड्गबहादुर खत्रीले उदघघाटन गर्नुभएको थियो । चैत्र ११ गते देखि उदघाटन गरिएको कार्यक्रममा बिभिन्न गतिविधी हरु संचालन भइरहेको छ ।
स्थापना दिवसको अवसरमा जनप्रतिनिधी र कर्मचारी बिचमा पुरुष भलिवल प्रतियोगिता, महिला भलिवल प्रतियोगिता, महिला चम्चा दौड, हाडी फुटाई, म्युजिकल चियर र व्याडमिण्टन प्रतियोगिता संचालन गरिएको नगरपालिकाले जनाएको छ । प्रतियोगिताका बिजेताहरुलाई आज पुरस्कार बितरण गरिने नगरपालिकाले जनाएको छ ।
हातहतियार बुझाउन सिन्धुली प्रशासनको आदेश
सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले चैत मसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको जनाएको हो ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारीरमेश न्यौपानेले गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियार चैत ३० गते भित्र नजिकैको नजिकको प्रहरी चौकी मार्फत जिल्ला प्रहरी कार्यालय वा सोझै जिल्ला प्रहरी कार्यालयमा बुझाउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको बताइएको छ ।
प्राप्त सूचनामा गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबाट भएको निर्णयानुसार निर्वाचन पश्चात फिर्ता हुने उल्लेख छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको हो ।

खुर्कोटका ९ वटा होटललाई पहेलो स्टिकर
सिन्धुली¬ – विपी राजमार्ग अन्र्तगत सिन्धुलीको गोलञ्जोर गाँउपालिका ७ खुर्कोटका ९ वटा होटलले पहेलो स्टिकर पाएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका अनुसार होटलको हब बन्दै गएको खुर्कोट बजारका ३२ वटा होटल अनुगमन गर्दा ९ वटा सामान्य मापदण्ड मात्रै पुरा गरेकाले पहेलो स्टिकर पाएका हुन् ।
खाद्य स्वच्छता तथा गुणस्तर अभियान कार्यक्रम अन्र्तगत ३२ वटा होटलको स्तरीकरण गरिएको र उक्त मध्ये १४ वटा होटल मापदण्ड विपरित समेत देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख प्रमोदचन्द्र पौडेलले बताउनुभयो । न्युनतम मापदण्ड पनि नपुगेकाले १४ वटा होटललाई कुनै पनि स्टिकर दिन नसकिएको हो भने सामान्य मापदण्ड मात्रै पुरा गरेका ९वटालाई पहेलो ७ वटा सन्तोषजनक देखिएकालाई हरियो स्टिकर माथि एकओटा तारा चिन्हको स्टिकर र २ वटा उत्तम देखिएकाले हरियो स्टिकरसँगै दुई तारा वितरण गरिएको छ ।
स्तरीकरणका लागि अनुगमन गरिएको होटललाई होटलको मापदण्ड अनुसार लोगो तथा प्रमाणपत्र उपलब्ध गराईको अनुगमनमा सहभागि सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले बताउनुभयो । केहि होटल बाहेक धेरै होटल सामान्य अवस्थामा रहेको पाइएको छ, उहाँले भन्नुभयो । पहेलो स्टिकर पाउनेले हरियो पाउने गरि होटलको स्तरीकरण गर्न समेत अनुरोध गरिएको अनुगमन समितिले जनाएको छ ।
खाद्य स्वस्छताको सुचांकको आधारमा होटल स्तरीकरण गर्ने निर्देशिका अनुसार पचास वटा प्रश्नहरु होटल सञ्चालकलाई सोधिने र सोही प्रश्नको उत्तरका आधारमा स्टिकरको मापदण्ड लागु गरिएको कार्यालयले जनाएको छ । प्रत्येक प्रश्नको उत्तर अति उत्तम आएमा एक प्रश्न बराबर २ नम्बर र मध्यम आएमा १ नम्बर दिने व्यवस्था अनुसार होटलको निरिक्षण गरिएको हो । सोही आधारमा ५० देखि ६४ नम्बर पाउनेलाई पहेलो स्टिकर, ६५ देखि ७९ नम्बर पाउनेलाई हरियो स्टिकरमा एक तारा, ८० देखि ८९ नम्बर पाउनेले हरियो स्टिकरमा दुई तारा र ९० माथि आएमा हरियोमा तीन ताराको स्टिकर प्रदान गरिने व्यवस्था छ ।
जिल्लाको मुख्य गरि होटल व्यवसाय रहेको विपी राजमार्गको चियाबारीमा यसअघिनै अनुगमन गरि स्टिकर टास्ने व्यवस्था गरिएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । “यो बर्षेनी अनुगमन हुन्छ, होटललाई स्तरिकरण गर्दै जान सुझाव दिएका छौ, स्तरीकरण नगर्ने होटलाई कारवाही समेत हुन्छ ,” उहाँले भन्नुभयो । विपी राजमार्गको चियाबारी खुर्कोटका होटलमा आउने ग्राहकले होटलको गुणस्तर कस्तो हो भन्ने विषय होटलमा टासिएको स्टिकरलेनै थाहा पाउने अवस्था रहेको कार्यालयले जनाएको छ ।
फिक्कलको श्री चण्डीका मा.वि.को भवन उद्घाटन
सिन्धुली¬– फिक्कल गाउँपालिका ३ को श्री चण्डीका मावि चनौटेको नवनिर्मित भवन उद्घाटन गरिएको छ । निर्माण सम्पन्न भएको विद्यालयको ४ कोठे आर.सि.सि.भवनको बागमति प्रदेश पुर्व स्वास्थ्य मन्त्री एवम् प्रदेश सासंद प्रदिप कटुवालले उद्घाटन गर्नुभएको हो ।
भवन जिल्ला शिक्षा कार्यान्वयन ईकाई सिन्धुलीको ७० लाख सहयोगमा निर्माण सम्पन्न भएको फिक्कल गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष राजु बरालले जानकारी दिनुभयो । नव निर्मितमा भवनमा आइतबार देखि पठनपाठन सुरु भएको छ ।
विद्यालयमा जस्ताको छाना हुदाँ वर्षाको समयमा र हावाहुरी आउने समयमा पढाइनै बाधा हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेत बहादुर विश्वकर्माले बताउनुभयो । आर सि.सि भवन निर्माण भएसँगै विद्यार्थीले सहज रुपमा पढ्न पाउने भन्दै उहाँले खुसि व्यक्त गर्नुभयो ।
उक्त विद्यालयमा कक्षा एक देखि १२ सम्म पढाई हुने गर्दछ । विद्यालयमा मा.वि. तह (५–१२ कक्षा सम्म) अध्ययन गर्ने विद्यार्थीको संख्या धेरै रहेको छ । वडामा प्रा.वि. तहको विद्यालयलाई धेरै भएकाले प्रा.वि. तहमा विद्यार्थीहरु कम रहेको व्यवस्थापन समितिका अध्यक्ष विश्वकर्माले बताउनुभयो ।
गत वर्षको माघ महिनामा निर्माण कार्य सुरु भएको भवन यस वर्षको असार महिनामा नै निर्माण कार्य सम्पन्न भएको थियो । विद्यालयलाई अरु दुई वटा ८ कोठे भवन आवश्यक रहेको उहाँले बताउनुभयो । जिल्ला शिक्षा विकास तथा कार्यन्वयन ईकाई र वागमति प्रदेश सामाजिक विकास मन्त्रालयलाई ८ कोठे भवनको लागि प्रस्तावना पेश गरिसकेको अध्यक्ष विश्वकर्मले जानकारी दिनुभयो । उहाँको अनुसार आठ कोठे भवन निर्माण गर्न ८० लाख लागत लाग्ने भएको छ ।
बागमती प्रदेश पुर्व स्वास्थ मन्त्री एवम् प्रदेश सासंद प्रदिप कुमार कटुवालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा फिक्कल गाउपालिका अध्यक्ष धन बहादुर कार्की, उपाध्यक्ष पार्बती सुनुवार, वडाका वडा अध्यक्षहरु, विभिन्न पार्टी प्रतिनिधि छिमेकी विद्यालयका प्रधानाध्यापक, अभिभावक बिद्यार्थी शिक्षक लगायतको उपस्थिति रहेको थियो ।
मरिणमा रेडक्रस उपशाखाको भवन निर्माण सुरु

सिन्धुली– मरिण गाउँपालिका वडा नम्वर ६ छापमा नेपाल रेडक्रस सोसाईटी कपिलाकोट उपशाखाको भवन शिलन्यास गरिएको छ । गाउँपालकाको आर्थिक सहयोगमा निर्माण सुरु भएको भवन आइतबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले शिलन्यास गर्नुभएको हो ।
मरिण गाउँपालिका ६ बिवासी दामोदर कार्की तथा शम्भु कार्कीले दान गर्नु भएको जग्गामा मरिण गाउँपालिकाले यसै आर्थिक बर्षमा बिनियोजन गरेको २५ लाख रकमबाट २ कोठा र एउटा सभा हल निर्माण हुनेछ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखाका सभापती मान बहादुर भुजेलको अध्यक्षता, पालिकाकी उपाध्यक्ष संगिता माझीको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सिन्धुली शाखाका सभापती अशोक श्रेष्ठ वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरुको उपस्थिति रहेको थियो ।
सिन्धुलीको निर्वाचन अधिकृतहरु नियुक्त

सिन्धुली – निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने सिन्धुलीको स्थानीय तह निर्वाचनमा खटिने प्रयोजनका लागि छनोट भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ ।
उक्त निर्वाचनका लागि यही चैत २९ देखि लागू हुने गरी सिन्धुलीको कमलामाई नगरपालिका समेत हेर्ने गरी धनुषाको जिल्ला न्यायधिस माननिय धुूवप्रसाद सापकोटा लाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । यसैगरी गोलन्जोर गाउँपालिकामा राष्ट्रिय किताव खानाका निर्देशा प्रकाशजंग कार्की, घ्याङलेख गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय सिन्धुलीका जिल्ला न्यायधिबक्ता बिमल थापा,तिनपाटन गाउँपालिकामा जिल्ला समन्वय समिति सिन्धुलीका जिल्ला समन्वय अधिकारी सुमनकुमार थापा,दुधौली नगरपालिकामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय का उप सचिब (अतिरिक्त समुह)को दिपक ढकाल,मरिण गाँउपालिकामा खानेपानी मन्त्रालयका उपसचिव दुर्गा बन्जाडे,सुनकाशी गाउँपालिकामा सम्पति सुद्विकरण अनुसन्धान बिभागका उपसचिव बिनोदकुमार दाहाल, र हरिहरपुरगडी गाउँपालिकामा जिल्ला अदालत सिन्धुलीका स्रेस्तेदार भरतकुमार दाहाललाई निर्वाचन अधिकृत नियुक्त गरिको सूचनामा उल्लेख छ ।
आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट भएकालाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गर्ने छ । निर्वाचन अधिकृत भन्नाले निर्वाचनको कामका लागि आयोगले नियुक्ति गरेको मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत समेतलाई जनाउँछ ।
स्थानीय तह निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका कम्तीमा राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने व्यवस्था छ ।
स्थानीय तह निर्वाचनका हकमा न्यायाधीश र न्याय सेवाका राजपत्राकिंत अधिकृतलाई मात्र नियुक्ति गर्न नसकिएमा निजामती सेवाभित्रका अन्य सेवाका अधिकृतलाई समेत निर्वाचन अधिकृतमा खटाउन सकिने छ । निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी निर्वाचन अधिकृतको हुनेछ ।
निर्वाचन कार्यक्रमअनुरुप उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी हो ।
मरिणका ६० बर्ष नाघेका नागरिकको पनि निःशुल्क स्वास्थ्य बिमा
सिन्धुली, – सिन्धुलीको मरिण गाउँपालिकाले ६० बर्ष नाघेका जेष्ट नागरिकको निःशुल्क स्वास्थ्य विमा गरेको छ । संघिय सरकारले ७० बर्ष नाघेका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको छ । ६० बर्ष देखि ६९ सम्म सम्मका गाउँपालिका भरीका ४ सय ९ जना नागरिकहरुको निःशुल्क स्वास्थ्य बिमा गरिएको मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो ।
स्वास्थ्य बिमा गरिएको जेष्ठ नागरिक सहित परिवारको अन्य ४ जनाले पनि अब सोही स्वास्थ्य बिमा कार्डबाट निःशुल्क सेवा लिन पाउने गाउँपालिका अध्यक्ष बम्जनले बताउनुभयो ।
सुधारिएको कोईला चुलो

यसैविच मरिण गाउँपालिकाले अतिसिमान्तकृत थामी समुदायका परिवारलाई सुधारिएको कोईला चुलो वितरण गरेको छ । गाउँपालिकाले संघिय ससर्त कार्यक्रम अनुसार मरिण गाउँपालिका वडा नं. ७ का ३४ थामी घर परिवारलाई सुधारिएको कोईला चुलो वितरण गरेको हो ।
आइतवार गाउँपालिकामै एक कार्यक्रमको आयोजना गरेर अध्यक्ष पानीराज बम्जनले थामी समुदायका परिवालाई चुलो वितरण गर्नुभएको हो । धुवाँ कम निस्कने र मानिसको स्वास्थ्यमा पनि असर नगर्ने भएकाले थामी समुदायका परिवारलाई सुधारिएको चुलो वितरण गरिएको मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताउनुभयो ।
गाउँघरको पुरानो चुलोहरुमा दाउरा धेरै लाग्ने गर्दछ । धुवाँ पनि धेरै निस्कने भएकाले मानिसको स्वास्थ्यमा समेत असर गर्ने भएकाले अहिले अधिकांसको रोजाईमा सुधारिएको चुलो नै पर्ने गर्छ ।
चुलो वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष पानीराज बम्जनसँगै प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी, वडा नं. ७ का वडाअध्यक्ष राजन थापा, सामाजिक विकास शाखा प्रमुख सुदिप केसी लगाएतको उपस्थिती रहेको थियो ।
नेपाली काँग्रेस सिन्धुली क्षेत्र नं. २ को कार्यसमिति बैठक

सिन्धुली, – नेपाली काँग्रेस सिन्धुली क्षेत्र नं. २ को कार्यसमिति बैठक आइतवारे बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
बैठकले नेपाली काँग्रेसको क्षेत्रीय कार्यसमितिको कोषाध्यक्षमा मान बहादुर मगर, कार्यसमिति सदस्यमा मरिण गाउँपालिका बाट सूर्य बहादुर गोले, सुनकोशी गाउँपालिका बाट नारायण कुमार श्रेष्ठ, घ्याङलेख गाउँपालिका बाट धनराज वाइवा, हरिहरपुरगढी गाउँपालिका बाट निरबहादुर वाइवा र कमलामाई नगरपालिका बाट टंकराज खतीवडा गरि ५ जनालाई मनोनित गरेको क्षेत्र २ का क्षेत्रिय सभापति कुमार ढकालले जानकारी दिनु भयो ।
त्यस्तै राजनितिक सल्लाहकारमा होम राज हादाल, केशव प्रसाद भट्टराई, नरेन्द्र जंग थापा, मिन बहादुर श्रेष्ठ, दोर्जे स्याङतान, भुवन सिंह थिङ, डम्बर कर्मचार्य, चिरन्जीवी ढकाल, जय कुमार ढकाल, दिपक मिश्र, दिलिप अधिकारी, अशोक राज भण्डारी, कान्छाराम वाइवा, नवराज सुनुवार, स्याम काजी श्रेष्ठ, रामजी आचार्य, सम्भु दाहाल, प्रयाग खतिवडा र सम्भु थापालाई मनोनित गरेको ढकालले बताउनु भयो ।
बैठक बाट आर्थिक समितिमा हरिश चन्द्र पौडेल, रञ्जन ढकाल, राम भक्त श्रेष्ठ, भुपेन्द्र कुमार पौडेल ‘सुरेश’, बिज्ञान स्याङबा, रोशन जंग थापा, तुलसी राम श्रेष्ठ, अमरेश चन्द्र बैदार, शुर्य कुमार श्रेष्ठ र अच्युतम ढकाल लाई मनोनित गरिएको उहाँको भनाई छ । त्यस्तै दानबिर बम्जन, सोम बहादुर लामा र अनिल थिङ गरि ३ जना आमन्त्रीत सदस्य मनोनित गरिएको ढकालले जानकारी दिनुभयो ।
बैठकले आगामी बैशाख ३० मा हुने आसन्न निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन उमेदवार छनोट गरिने, संगठन बिस्तारमा क्षेत्रिय कार्यसमितीको भूमिका लगायतको बिषयमा छलफल गरिएको नेपाली काँग्रेस क्षेत्र नं. २ सिन्धुलीले जानकारी दिएको छ ।
क्षेत्र २ का क्षेत्रिय सभापति कुमार ढकालको सभापतित्व तथा नेपाली काँग्रेस सिन्धुलीका सभापति उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता र नेपाली काँग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधी माणीक ढकाल र महाधिवेशन प्रतिनिधी तथा नेपाली काँग्रेस सिन्धुलीका पूर्व उपसभापति खड्ग बहादुर वाइवाको बिशिष्ट आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।