सिन्धुली- सिन्धुलीको मरिण गाउँपालिकामा सोलार वितरण गरिएको छ । वडा नं. ४ मा रहेको ठुलीदमार विद्यालयको प्राङगणमा गाउँपालिकाकै बजेटमा ९ घर धुरीलाई सोलार वितरण गरिएको हो । विद्युतको पहुँच नपुगेको वडा नंं ४ मा रहेको विकट ठाउँ तामेका बासिन्दालाई सोलार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
अघिल्लो वर्ष पनि गाउँपालिकाले उक्त ठाउँका १०÷१२ घर धुरीलाई सोलार वितरण गरिएको वडा नं. ४ का वडा अध्यक्ष धन बहादुर स्याङ्तानले जानकारी दिनुभयो ।
वडाको तामे, डुंग्रे र ठुलोनेटोमा यातायात, विद्युत, खानेपानीको प्र्रवाह भएको छैन । यी मध्ये तामे ठुलोनेटोका बासिन्दा निकै टाढा कुवामा गएर पानीको अभाव मेटिरहेका छन् भने डुग्रे धेरै विकट ठाउँ रहेकोे हुनाले त्यहाँ बसोबास गर्ने बासिन्दा निकै मारमा परेका वडा अध्यक्ष स्याङ्तानले बताउनुभयो ।उक्त क्षेत्रमा बस्तीहरु छरिएर रहेकाले सेवा ( सडक, विद्युत, खानेपानी) प्रवाह गर्न कठिन हुने र खर्च पनि धेरै लाग्ने भएकाले बस्ती स्थानान्तरण गर्ने तयारीमा रहेको वडा अध्यक्ष स्याङ्तानको भनाई छ ।