सिन्धुली - कमलामाई नगरपालिका वडा नं. ५ मधुटार (पुलचोक)बाट चिसापानी झोरा (सिर्जना नगर) जाने सडक जोखिममा रहेको छ । सिन्धुलीमाढीको बसपार्क नजिकैको ग्वाङखोला र लब्दाहा खोलाको दोभानमा वर्षाको समयमा हुने पानीको वहावले शसस्त्र प्रहरी क्याम्पको तल्लो भागमा लगाईएको तारजाली भत्काएपछि चिसापानी झोरातर्फ जाने सडक जोखिममा परेको हो ।

चिसापानी झोरा तर्फ ७२ घरधुरी नियमित आवतजावत गर्ने सडक जोखिममा परेको छ भने शसस्त्र प्रहरी क्याम्पनै भत्किने खतरा बढेको छ । स्थानीय सरकारलाई चिसापानी झोराका बासिन्दाले पटक पटक खोला नियन्त्रणका लागि वाल लगाउन बजेट माग गरेको भए पनि वेवास्ता गरेको स्थानीयले बताएका छन ।

जोखिममा रहेको सडक तत्कालिन शहरी विकास तथा भवन डिभिजन कार्यालयले पीच गरेको हो ।“वर्षातको समयमा सडक कतिबेला लान्छ भन्ने त्राहि हुन्छ तर आँखा अगाडिको अवस्था पनि स्थानीय सरकारले देख्दैन”, स्थानीय पार्वती भट्टराईले भन्नुभयो । केहि वर्ष अघि सिंचाई डिभिजन कार्यालयको सहयोगमा लगाईएको तारजाली वर्षातको समयमा भत्कियो । सडकको तल्लो भाग समेत भत्किएको छ ।

अर्को वर्षातको समय आउँदासम्म पनि नगरपालिकाले बनाउन चासो नदिएको उहाँले बताउनुभयो । यो सँगै सडक खोलाले खोल्न थाल्यो भने मधुटारबाट बसपार्क जाने पुल, नयाँ वस्ती समेत जोखिममा पर्ने देखिएको छ ।

सडक संरक्षण तथा खोलामा तटबन्धका लागि २० लाख भन्दा बढी रकम लाग्ने अनुमान गरिएको पनि उहाँले बताउनुभयो । ‘फाईल नगरपालिकामा पेश गरेका छौं तर सुनुवाई भएको छैन,’ उहाँले भन्नुभयो, कनपा ६ अर्थात खोला पारि बसपार्क र धुरा बजारलाई जोगाउन तटबन्ध गरिएको छ, जसका कारण वारीपट्टी पानीको वहाव बढ्दा सामान्य जालीले छेक्न नसेको उहाँको भनाइ छ ।