शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको महाभारतका जंगलमा हराउदै लालीगुरास

सोमवार , चैत्र ७, २०७८

सिन्धुली, – जिल्लाको महाभारत क्षेत्रमा राताम्मै फुल्ने लालीगुरास लोप हुदै गएको छ । पछिल्लो समय पहाडी क्षेत्रको जंगलमा जताततै सडक विस्तारले लालीगुरास हराउदै जान थाले स्थानीय बासिन्दा बताउछन् । स्थानीयका अनुसार फागुनको दोस्रो सातासम्म ढकमक्क फुल्ने लालीगुरास सिन्धुलीका महाभारत क्षेत्रमा विरलै पाउन थालिएको छ । एक दशक अगाडीसम्म पहाडी क्षेत्रका महाभारतका जंगलमा राताम्मै फुल्ने गरेका लालीगुरास हाल फाट्टफुट्ट मात्र देखिन थालेको छ ।

लालीगुरासको उचित संरक्षणको अभावमा मासिदै गएको सुनकोसी गाँउपालिका –७ मझुवा निवासी राजकुमार कार्की बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहाडी क्षेत्रमा पछिल्लो समय सडक विस्तार गर्न भन्दै पहाडका डाडापाखा सबै फोरिन थालेपछि लालीगुरासको संरक्षण हुन सकेको छैन ।” पछिल्लो समय निर्माण भएका अधिकांश ग्रामिण सडक निर्माण गर्दा वन कार्यालयसँग लिनु पर्ने स्वकृति समेत नलिइ जथाभावी निर्माण गर्दा गुरासका रुखनै तहशनहश भएपछि गुरास फुल्ने बेलामा बोटकै अभाव हुन थालेको स्थानीयको भनाई पाईन्छ ।

सुनकोसी गाँउपालिका–७ का नवराज गोले सडक निर्माण गर्दा नेपालको राष्ट्रिय फुल लालीगुरासको संरक्षण गर्न नसक्नु दुःखद भएको बताउनुहुन्छ । “महाभारतका डाँडै ढकमक भएर फुल्ने लालीगुरास सबै सडक निर्माणले गर्दा सखाप भयो”, उहाँले भन्नुभयो, “सडक निर्माणसँगै लालीगुरासको संरक्षण नगर्ने हो भने अबका केहि बर्षमा गुरासको फुल होइन, बोट पनि देखिदैन ।”

स्थानीयका अनुसार आढगढी नागी चालिसे सडक विस्तार गर्दा पनि गुरासको संरक्षण हुन सकेको छैन । पहाडमा जताततै सडक विस्तार भएका छन्, तर राष्ट्रिय पहिचान लालीगुरासको संरक्षण भएको देखिदैन । यसको संरक्षण हुन जरुरी छ ।

विशेष गरि सिन्धुलीका गोलञ्जोर गाँउपालिका, तीनपाटन गाँउपालिका र सुनकोशी गाँउपालिकाको महाभारत क्षेत्र लालीगुरास धेरै हुने स्थानका रुपमा परिचित छन् । यो बाहेक घ्याङलेख गाँउपालिका, फिक्कल गाँउपालिका लगायतका स्थानमा समेत गुरास पाईन्छ । सडक निर्माण गर्दा गुरासका रुखको जरै उखेलिने तथा सडक खन्दा निस्किएको ढुंगामाटो जथाभावी फाल्दा लालीगुरासका बोट मौलाउन नसकेको तीनपाटन गाँउपालिका–६ निवासी डिल्लीप्रसाद अधिकारी बताउनुहुन्छ ।

उसो त सिन्धुलीगढी अवलोकन गर्न पुग्नु भएका काठमाडौका भिम प्रधानपनि गुरासको बोट विरलै देखिएको बताउनुहुन्छ । “बीपी राजमार्ग खुल्ने वित्तिकै एक पटक सिन्धुलीगढी आएको थिए, त्यतिबेला राताम्मै गुरास फुलेको देखेर आनन्द महशुस भएको थियो, त्यहि सम्झेर आएको अहिले गुरासको फुलै पाउन सकिन,” उहाँले भन्नुभयो ।

उहाँले सडक विस्तारसँगै गुरासमा रोग समेत आएको हुन सक्ने बताउनुभयो । “सडक विस्तारले गुरासको क्षति भएको देखिन्छ, त्यसका अलवा बचेका रुखमा पनि नफुलेको देख्दा गुरासमा कुनै रोग आयो की भन्ने लाग्छ”, उहाँले थप्नुभयो ।

प्रतिक्रिया