सिन्धुपाल्चोक — ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता पारिएका भनिएका ३ आनीसहित ४ जनाको अझै कुनै खोजखबर छैन । २०७० सालमा बम्जनको सहयोगी बनेर हिँडेका मकवानपुर पदमपोखरीका सञ्चलाल वाइवा र ३ आनी सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ बाडेगाउँको टोड्केबारी जंगलस्थित बम्जनको आश्रमबाट २०७१ सालमा हराएका थिए ।
प्रहरीले खोज अनुसन्धान थालेको ३९ महिनासम्म उनीहरू अझै फेला परेका छैनन्, न त बम्जनलाई नै पक्राउ गर्न सकेको छ । सिन्धुपाल्चोक प्रहरीका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार हराएका व्यक्तिका परिवारले २०७५ पुस ११ मा मकवानपुर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएलगत्तै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित जिल्ला प्रहरीको टोलीले बम्जनको बाडेगाउँ आश्रममा छापा मार्दै अनुसन्धान थालेको थियो ।
त्यसक्रममा संकलन गरिएको कालो माटो, कोइला, नुनको प्याकेटलगायतको परीक्षणबाट केही तथ्य उजागर हुन सकेन । त्यसमाथि पीडित परिवारले जाहेरी फिर्ता लिएपछि घटना झनै रहस्यमय बनेको थियो । ‘त्यही वर्षको माघ १७ मा बेपत्ताका आफन्त र परिवारले जाहेरी फिर्ता लिन तामेलीमा राखिपाऊँ भन्दै मकवानपुर प्रशासन कार्यालयमा निवेदन दिएका थिए । त्यसबारेको जानकारी हामीलाई माघ २१ मा प्राप्त भइसकेको थियो,’ डीएसपी बस्नेतले भने ।
सञ्चलालका परिवारले सूचना दिएको आधारमा बाडेगाउँमा प्रहरीले जाहेरीलगत्तै तत्कालै छापा मार्दा आश्रमभन्दा ३ सय मिटर पर शंकास्पद स्थानमा १५ फिट गहिरो उत्खनन गरेपछि पत्रे ढुंगासहित ८ वटा नुनको खोल फेला पारेको थियो । फोरेन्सिक विज्ञले २० पाकेट नुन हालेर गलाइएको परीक्षणमा पुष्टि भएको बताए पनि मानवीय अवशेष फेला पार्न भने सकेका थिएनन । ४ कुकुरसहितको प्रहरीको अनुसन्धान टोलीले २ सय मिटरको दूरीमा मट्टीतेल ल्याउन प्रयोग गरिएको जर्किन र कोइलाको अवशेष भेटेको थियो । त्यहाँ मानवीय हड्डीजस्तो कुनै पदार्थ फेला नपर्नुले अन्यत्र लगेर शवलाई नष्ट गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको थियो । प्रयोगशाला परीक्षणबाट अपेक्षित तथ्य पुष्टि नभए पनि प्रहरी अन्य प्रमाण संकलन र अनुसन्धानमा जुटिरहेको डीएसपी बस्नेतले बताए ।
सुरुमा १ सय ५० जनाले बोधी तालिम लिने गरेको बम्जनको उक्त आश्रममा ५० जना दैनिक ध्यानरत रहन्थे । अहिले १४ जना मात्रै छन् । एक स्थानीयका अनुसार यहाँ लामो समय मैत्रीपूजा भएलगत्तै केही घटना घटेपछि पुराना आनी र अनुयायी भागेका थिए । त्यसैबेला सञ्चलाल वाइवालाई मारेर गाडिएको आशंकामा प्रहरीले बाडेगाउँको आश्रममा उत्खनन गरेको थियो । ‘त्यसबेलाका पुराना अनुयायी सबै भागिसकेका छन्, अहिले भूकम्पपछि आएका मात्रै छन्,’ ती स्थानीयले भने ।
पहिलेदेखि दैनिक ध्यानमा बाधा पुग्ने भन्दै बम्जनको आश्रममा अनुयायी र संघका बाहेकलाई प्रवेश निषेध थियो । त्यहाँ हुने कुनै गतिविधि थाहा नदिन बम्जनको संघ समूहले अलग्गै निगरानी समूह पनि बनाएको स्थानीय सुनाउँछन् । टोड्केबारी जंगलबीच ८० रोपनी क्षेत्रफलमा फैलिएको आश्रममा ८ वटा खुला टहरा छन् । तल्लोपट्टि बम्जन बस्ने कुटी छ । त्यसमा डम्फुजस्ता अनेक बौद्ध परम्पराका बाजादेखि बम्जनका युवावस्थाका तस्बिरसहित मैत्री वस्त्र झुन्ड्याइएको छ । अनुसन्धानका क्रममा बम्जनको आशीर्वाद कक्षछेउमा एउटा पेट्रोलको बोतल भेटिएको थियो । आश्रमभित्र भएर पनि बम्जनले आफ्नो कुटीभित्र के–के गर्थे कसैलाई थाहा नहुने अनुयायीको भनाइ छ ।
२०७१ साल असोज ६ मा इन्द्रावती–५ स्थित टोड्केबारी जंगलबीच स्थानीयले दिएको ३० रोपनी जग्गामा बम्जनले आश्रम बनाएका थिए । पछि क्रमशः आश्रमको जमिन विस्तार गरिएको थियो । ३५ अनुयायीसहित त्यहाँ उनले तपस्यास्थलका रूपमा विभिन्न मैत्री पूजा गरेका थिए ।
सुरुमा बाराको जंगलमा आश्रम बनाएर बसेका बम्जनले पछि सिन्धुली र सिन्धुपाल्चोकमा आश्रम बनाएका हुन् । तर, आश्रमका अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको उजुरीपछि बम्जन फरार छन् । २०७५ भदौमा रौतहटकी १८ वर्षीया गंगामाया तामाङले ललितपुरमा पत्रकार सम्मेलन गरेर बम्जनले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् । सीआईबी, वाग्मती र मधेस प्रदेश प्रहरीको सूचीमा बम्जन फरार अभियुक्त हुन ।
कान्तिपुरबाट