शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका थापाले शेयर बजारबाट एक महिनामै कमाए २० लाख (हेर्नुस भिडियो)

शनिवार , चैत्र ५, २०७८

सिन्धुली– झण्डै ३/४ वर्ष सन्यासि जिवनयापन बिताउनुभएका सिन्धुलीको कमलामाई नगरपालिका ६ का अजय सिंह थापा अहिले नेपाली शेयर बजारका चर्चित प्राविधिक विश्लेषक हुनुहुन्छ । जिल्लाको कमलामाई नगरपालिका ६ स्थित रातमाटामा विभिन्न व्यवसायमा सफल हुन नसकेपछि थोरै पुजिले शेयर बजारमा प्रवेश गर्नु भएको थापा अहिले शेयर बजारका बादशाहका रुपमा चिनिनुहुन्छ ।

शेयर बजारबाट कुनै समय एक महिनामै २० लाख रुपैँया चन्दा बाँड्न पुग्नेगरि आम्दानि समेत गरेको थापा बताउनुहुन्छ । ‘टेक्निकल गुरु’ का रुपमा शेयर बजारमा ख्याति कमाउनुभएको थापाले अन्य व्यापार गर्न विकल्प नभएकाले एक लाख रुपैँयाले शेयर बजारमा होमिएको स्मरण गर्नुभयो । उक्त रुपैँया एक वर्षमा दोब्बर भएको थापाले बताउनुभयो । अहिले थापाले प्राविधिक विश्लेषणको तालिम दिदैँ आउनुभएको छ । उहाँको तालिम कक्षामा एक सय बढि विद्यार्थीहरु छन् । साथै, उहाँले युट्युब च्यानलमार्फत शेयर बजारको जानकारी र प्राविधिक पक्षको विश्लेषण गर्दै आउनुभएको छ । शेयर बजारका उम्दा खेलाडीका रुपमा स्थापित भइरहनुभएको थापाले हचुवाको भरमा दोश्रो (सेकेन्डरी) बजारमा नआउन शेयर कारोबारीलाई आग्रह गर्नुभयो ।

त्यस्तै, सिन्धुलीकी सन्ध्या कटुवालले मोफसलमा बसेर कलिलो उमेरमै शेयर बजारबाट राम्रो आम्दानी गरिरहनुभएको छ । शेयर बजारमा घुमाएको अनुभव भाग्दै र कमाएको खुशी संगाल्दै कटुवालले सफलता प्राप्त गरिरहनुभएको छ । कटुवालले शेयरबाटै राम्रो आम्दानी गरिरहनुभएको छ । नेपालको शेयर बजारमा महिलाहरुको उपस्थिति एकदमै कम छ । तीनै कम संख्या मध्यकी कटुवालले युट्युबबाट अध्ययन गरेर शेयर बजारलाई आम्दानिको राम्रो श्रोत बनाइरहनुभएको छ । अध्ययन गरेर शेयर बजारमा लाग्ने हो भने लगानी खेर नजाने कटुवालले बताउनुभयो ।

कुनै पनि उमेर वा पृष्ठभूमिको व्यक्तिले निर्बाध रूपमा जहाँ रहेर पनि शेयरसम्बन्धी कारोबार गर्न सकिने भएपछि शेयर बजारमा सिन्धुलीका युवादेखि वृद्धको उपस्थिति बढेको छ । अवसर सँगसँगै जोखिमले भरिएको यो क्षेत्रको यात्राको सुरुवात थोरै रकमबाट पनि गर्न सकिने हुँदा प्राथमिक शेयर बजार उपयुक्त प्रवेश मार्ग हुन सक्ने उनीहरू बताउँछन् ।

कमाएको पैसा के गर्ने भन्ने सोचिरहेको बेला शेयर बजार उपयुक्त हुने ठानेर आफूले आइपीओमार्फत यात्रा शुरु गरेको कमलामाई नगरपालिका ६ का समिप बरालले सुनाउनुभयो । पछिल्लो तिन महिनादेखि दोश्रो बजारमा समेत सक्रिय उहाँ आम्दानीको लगानी गरी थप आम्दानी गर्न शेयर बजार रोजेको बताउनुहुन्छ । तर, शेयर बजारमा कमाउने सम्भावना जतिकै गुमाउने जोखिमपनि उच्च रहेको बरालले बताउनुभयो ।

आफ्नो लगानीको सुरक्षाको प्रत्याभूतिका लागि शेयर बजारको नियमित उतारचढावको ख्याल गर्न पर्ने तथा लगानीको आधारभूत र प्राविधिक विश्लेषण गर्न पर्ने दुधौली नगरपालिकाका विशाल तामाङ बताउनुहुन्छ । तर नेपालको शेयर बजारमा त्यस्तो अध्ययन खासै काम आउन नसकेको उहाँको अनुभव छ । “नेपालको शेयर बजार कहिले उकालो लाग्छ कहिले ओरालो लाग्छ भन्नै सकिन्न । यहाँको राजनीति वा कुनै एउटा घट्नाका कारण शेयर बजारमा तरंग पैदा गरिदिन्छ । त्यसैले बजार पछ्याउँदा जाति भएको मेरो अनुभव छ ,” उहाँले बताउनुभयो ।

शेयर बजारले युवायुवति देखि वृद्धवृद्धाहरू सम्मलाई आर्थिक विषयमा जानकार मात्र बनाएको छैन उनीहरूलाई राम्रो वित्तीय शिक्षा समेत प्राप्त भइरहेको र यसले उनीहरूलाई आर्थिक स्वतन्त्रताको प्रशस्त अवसर दिएको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया