सिन्धुली- नेकपा माओवादी केन्द्र सिन्धुलीको झण्डै पौने दुइ करोड लागतमा पार्टी कार्यालय भवन निर्माण भएको छ । ६ महिना अगाडि बाट भवन निर्माण कार्य सुरु भएको थियो । झण्डै पौने दुई करोड सहयोग संकलन गरी पार्टी कार्यालय निर्माण गरेको छ ।
कमलामाई नगरपालिका वडा नम्बर ६ दुई नम्बर बजारमा रहेको पार्टी कार्यालय शनिबार माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नुहुने कार्यक्रम रहेको छ । भवन निर्माणको लागि हालसम्म एक करोड ८० लाख रुपैयाँ खर्च भएको जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन)ले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालय निर्माणका लागि एक हजार दाताहरुले सहयोग गरेका छन् । हालसम्म रकम सहयोग गर्ने भनिएका सबै दाताबाट रकम प्राप्त नभएको र २ करोड १५ लाख रुपैयाँ उठ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।
भवनको केही निर्माण बाँकी रहेकोले सम्पूर्ण काम सकिन २ करोड १० लाख रुपैयाँ लागत अनुमान रहेको माओवादी केन्द्र सिन्धुलीले जनाएको छ । चार तले नवनिर्मित भवनमा १४ वटा कोठा, एउटा हल र एक किचन कोठा रहेका छन् । इञ्चार्च दाहालले भवन निर्माण सकिएपछि सबै खर्च विवरण सार्वजनिक गरिने पनि बताउनुभएको छ ।