शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा हर्षाेउल्लासका साथ मनाइयो होली

बिहिवार , चैत्र ३, २०७८

सिन्धुली – सिन्धुलीमा हर्षोउल्लासका साथ फागु अर्थात होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने पर्व होली विहिबार सिन्धुलीमा हर्षोउल्लासका साथ मनाइएको हो । जिल्लाको बजारका मुख्य चोकचोक लगाएत गाउँघरमा स्थानिय जम्मा भई नाचगान गर्दै एकअर्कोलाई रङ लगाएर होली मनाएका छन् । युवाहरुले होलीको अवसरमा विभिन्न कार्यक्रमको आयोजना समेत गरेका थिए ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहिआएको छ । तराई–मधेश क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट अर्थात् आज(शुक्रबार) धुमधामसँग मनाउने गरिन्छ ।

बिहिवार सिन्धुलीमाढीको खुलामन्चमा सामूहिकरुपमा होली मनाइएको थियो । विशेष गरी युवा–युवती एकआपसमा रङ आदानप्रदान गर्दै उल्लासपूर्णरुपमा सहभागी भएका थिए । पछिल्लो समय जिल्लाको होली पर्व सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्नेक्रम खासै देखिँदैनथ्यो । आफन्त, साथिभाइ लगाएत चिनजानका मानिससँग मात्र होली खेलिएको कमलामाई नगरपालिका ६ रातामाटाकी सिता फुयालले बताउनुभयो । “होली खेल्ने हाम्रो आफ्नै टिम थियो । आफन्त लगायत साथिहरुसँग होली खेलेर रमाइलो गरियो । सभ्य तथा भव्य तरिकाले होली पर्व मनायौँ,”उहाँले भन्नुभयो ।

जिल्लामा होली पर्व शान्तिपूर्ण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक बुद्धिमणि नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला कुनै पनि अप्रिय घटना घटेका छ्रैनन् । शान्तिपूर्ण भव्य र सभ्य तरिकाले फागु अर्थात होली पर्व सम्पन्न भएको उहाँको भनाई छ । होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन प्रहरीले विषेश सुरक्षा योजना तयारी गरि झण्डै ३ सय प्रहरी परिचालन गरेको थियो ।

जिल्लाभर होली मनाउने नाममा मादक पदार्थ सेवन गरेर गाडी चलाउने, होहल्ला गर्दै सवारी चलाउने लगायत विभिन्न कारणले ११ वटा मोटसाइकल र २ वटा ट्याक्टर दिनभर होल्ड गरिएको नेपालले बताउनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न ठाउँमा उक्त सवारी होल्ड गरिएको हो ।

यस्तै, विहिबार ट्राफिक नियम विपरित चलेका १ सय १२ वटा सवारी साधन कारबाहिमा परेका छन् । जिल्लाका विभिन्न ठाउँमा ट्राफिक नियम विपरित चलेका १ सय १२ सवारी साधन कारबाहिबाट १ लाख १२ हजार राजश्व संकलन भएको छ ।

अनुशासित बन्न थाल्यो फागु पूर्णिमा (होली)

यसै बिच केही वर्षअघिसम्म फागु पूर्णिमाका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । अबिरलगायत रङ दलिन्थ्यो ।

सामान्यतया यो वर्ष अरुको इच्छा विपरीत फागु पूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन । मानिस आफू आफूमै रमाए । घरपरिवार एवं छरछिमेकीसँग फागु खेले । टीका लगाइदिए । खुसी साटासाट गरे । आपसी सौहार्दता बढाए । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा बिहिवार अपेक्षाकृत शान्त रुपमा मनाइएको छ ।

केही वर्षअघिसम्म फागु पूर्णिमा (होली) मा मानिसको इच्छाविपरीत रङ दल्ने, पानीका लोला हान्ने गरिन्थ्यो । केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले मनाउन आह्वान गरेको थियो ।

सडकमा फागु खेल्ने प्रायः बालबालिका, युवायुवती थिए । बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् । गाडी रिजर्भ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगण्य छ । सिन्धुलीमाडी बजारमा फागु पर्व मनाइरहेका युवा संजिब श्रेष्ठ चिनजानका साथीभाइबीच मात्र पर्व मनाउने तर सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउनुहुन्छ ।

विशेषगरी युवतीलाई लोलामा पानी भरेर छ्यापेर मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वकै दिन सहज रुपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए । कतै अपवादका रुपमा जबर्जस्दी रङ लगाएपनि फोहर पानीले दुव्र्यवहार गरेको देखिएन ।

प्रतिक्रिया