सिन्धुली, – सिन्धुलीको मरिण गाउँपालिकाले अनाथ तथा द्धन्द पिडित परिवारका बालबालिकाहरुलाई छात्रबृत्ति रकम वितरण गरेको छ ।गाउँपालिकाले बुधवार एक कार्यक्रमको आयोजना गरेर गाउँपालिका भित्रका ७७ जना अनाथ तथा द्धन्द पिडित परिवारका बालबालिकाहरुलाई छात्राबृत्ति रकम वितरण गरेको हो ।

मरिण गाउँपालिका स्थायी घर भई विभिन्न विद्यालयमा बाल कक्षा देखि १२ कक्षा सम्म पढ्दै गरेका अनाथ तथा द्धन्द पिडित परिवारका बालबालिकाहरुको पढाई निरन्तरताको लागि छात्रवृत्ति दिइएको मरिण गाउँपालिकाले जनाएको छ ।

यस बर्ष गाउँपालिकाले बाल कक्षा देखि २ कक्षा सम्म पढ्दै गरेका २० जना बालबालिकालाई जनही ५ हजारका दरले, ३ कक्षा देखि ५ कक्षा सम्म पढ्दै गरेका २२ जना बालबालिकालाई जनही ७ हजारका दरले छात्रवृत्ति रकम वितरण गरिएको मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो ।

६ कक्षा देखि ८ कक्षा सम्मका २२ जना बालबालिकाहरुलाई जनही ८ हजारका दरले, ९ देखि १० कक्षाका ७ जना बालबालिका र ११ देखि १२ कक्षा सम्मका ५ जना बालबालिकालाई जनही १० हजारका दरले छात्रवृत्ति रकम दिईएको अध्यक्ष बम्जनले बताउनुभयो ।

त्यस्तै उहाँका अनुसार आमा, बुवा दुवै नभई अनाथलयमा बसी पढ्दै गरेकी एक जना बालिकालाई ५० हजार रुपैयाँ छात्रवृत्ति रकम वितरण गरिएको छ । अनाथ तथा द्धन्द पिडित परिवारका ७७ जना बालबालिकाहरुको पढाईमा सहयोग गर्नका लागि गाउँपालिकाले ६ लाख बजेट विनियोजन गरेर छात्रवृत्ति वितरण गरेको मरिण गाउँपालिका अध्यक्ष बम्जनले जानकारी दिनुभयो ।

गाउँपालिकाले दुई अघि देखि हरेक बर्ष अनाथ तथा द्धन्द्ध पिडित परिवारका बालबालिकाहरुलाई छात्रवृत्ति दिदै आएको मरिण गाउँपालिका अध्यक्ष बम्जनले बताउनुभयो ।