सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकाले नागरिकलाई सचेत गराउन सचेतनामुलक तालिमलाई प्राथमिकता दिदैँ आएको छ । गाउँपालिकावासिलाई स्थानिय सरकारले विभिन्न क्षेत्रमा गरेको लगानी, प्रतिफल, कमिकमजोरि, सूचना प्रविधि, जिविकोपार्जनकालागि सिप सिकाउने तालिम लगायत सचेतनामुकल कार्यक्रम संचालन गर्दै आएको छ ।
बुधबार मरिणस्थित वडा नं १ मा पशुपन्छी पालन र अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष पानीराज बम्जनको प्रमुख आतिथ्यतामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत किशोरी तथा सुनौलो हजार दिनका घरपरिवारका सदस्यहरुलाई पशुपन्छी पालन सम्बन्धि तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा संंचालित उक्त तालिममा २० घरपरिवार सदस्य सहभागि रहेका थिए । उक्त कार्यक्रमबाट पशुपन्छीलाई सामान्य रोग देखिए के कसरी उपचार गर्ने भन्ने ज्ञान हासिल भएकोे तालिममा सहभागि अप्सरा मगरले बताउनुभयो ।

त्यस्तै, बुधबार वडा नम्बर १ स्थित कार्तिकेमा रहेको माध्यमिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले आयोजना गरेकोमा शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, जेष्ठ नागरिक तथा विकास निर्माण सम्बन्धि एक दिवसिय शिक्षा कार्यक्रममा एक सय बढि अभिभावक सहभागि रहेको माध्यमिक विद्यालयका प्रधानाध्यापक शुशिला गुर्मछानेले जानकारी दिनुभयो । गाउँपालिका शिक्षा शाखा प्रमुख नवराज बरालले उक्त तालिममा सहजिकरण गर्नुभएको थियो । तालिममा निशुल्क वितरण हुने औषधि, गाउँपालिकाले शिक्षामा गरेको लगानी र त्यसको प्रतिफल लगायत शिक्षा क्षेत्रको विकासमा अभिभावकको भुमिकाका बारेमा बरालले जानकारी दिनुभएको थियो ।
