सिन्धुली, – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले प्रदान गर्ने केहि सेवामा लगाएको आलोपालको व्यवस्था हटाउँदै नियमित सेवा दिने भएको छ ।
बुधवार एक सूचना जारी गर्दै प्रशासन कार्यालय सिन्धुलीले कोभिड १९ का कारण स्वास्थ्यलाई मध्यनजर गर्दै माघ ५ गत गतेबाट लगाइएको आलोपालो प्रणाली व्यवस्था हटाएको जानकारी दिएको हो ।
प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी ऋद्वि प्रसाद सिटौला द्वारा हस्ताक्षरित सूचनामा सेवाग्रहीकोसेवा प्रवाहमा लगाईएको आलोपालो व्यवस्था हटाइएको उल्लेख गरिएको छ ।
यस अघि गएको माघ ५ गते एक सूचना जारी गर्दै विश्वव्यापी कोरोना महामारी सँगै यसको ओमिक्रोन भेरियन्टको प्रकोपको जोखिम हुँदा थप सजगता अपनाउन आवश्यक देखिएकोले कार्यालयले प्रदान गर्ने नागरिकता, राहदानी सिफारिस र राष्ट्रिय परिचयपत्रको विवरण दर्ता सम्बन्धी सेवाहरु आलोपालो प्रणाली अनुसार मात्र प्रदान गरिने निर्णय गरिएको थियो ।
आलोपालो प्रणाली अनुसार कमलामाई नगरपालिका, गोलन्जोर गाउँपालिका र फिक्कल गाउँपालिकाले आईतवार र सोमवार, दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका र सुनकोशी गाउँपालिकाले मंगलबार र बुधवार यस्तै हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका र घ्याङलेख गाउँपालिकाले बिहिवार र शुक्रवार मात्रै सेवा लिन पाउने गरि जिल्लाको ९ स्थानिय तहलाई हप्ताको ६ दिनमा पालै पालो दुई–दुई दिनको हिसावमा सेवा प्रदान गरिएको थियो ।
