झापा – झापा विद्रोहलाई नेपालको वामपन्थी आन्दोलनमा प्रेरणाको रुपमा लिइन्छ। नेकपा एमालेले मात्र नभएर माओवादी केन्द्रलगायत प्रायः वामपन्थी दलहरू तत्कालीन सत्ताले झापा विद्राेहीहरुलाई हत्या गरेको इलाम र झापाको सीमा क्षेत्रमा पर्ने सुखानीलाई ‘तीर्थस्थल’ मान्छन्।
तर त्यही झापा विद्रोहमा होमिएर लोकतान्त्रिक व्यवस्थासम्म बाँचेका धेरै नेताहरूको जीवन दयनीय बन्यो। कोही मानसिक रोगका शिकार भए भने कोही बेपत्ता नै भए।
तत्कालीन नेकपा माओवादीबाट २०६४ सालको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं १ बाट निर्वाचित धर्म घिमिरे भारत पश्चिम बंगालको बागडोग्रा नजिक सडकमा मृत भेटिएका थिए। झापा विद्रोहका बेला नेतृत्वमा रहेर लडेका उनी डिप्रेसनको औषधि खाइरहेका थिए। हराएकाे केही दिनपछि बागडाेग्राकाे सडकमा मृत भेटिए।
२०२८/२९ सालको झापा विद्रोहमा उनी लडाकु थिए। त्यसैको मूल्यांकन गर्दै तत्कालीन माओवादीले उनलाई संविधानसभा सदस्यमा उम्मेदवार बनाएको थियो। सुखानीका सहिदहरुले सहादत प्राप्त गरेकै दिन गएकाे वर्ष उनको अन्तिम संस्कार गरिएको थियो।
वि सं २०२३ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका घिमिरे झापा विद्रोहका क्रममा पक्राउ परेका थिए। उनले ९ वर्ष चरम यातनासहित जेल सजाय भोगे। झापाका विद्रोहीले गरेको चर्चित नख्खु जेलब्रेक गर्नेहरुमध्ये उनी एक थिए। घिमिरे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका राजनीतिक सहयात्री थिए।
झापा विद्रोहकै अर्का योद्धा डिकेन्द्र राजवंशीले बल्खुस्थित नेकपा (एमाले)को त्यतिबेलाको मुख्यालयमै आत्महत्या गरे। तत्कालीन एमालेका नेताहरुको उपेक्षाका कारण उनले आत्महत्या गरेको टिप्पणी भए।
आफ्ना छोरा शम्भुको रोजगारीको व्यवस्था होस् भनेर नेताहरुलाई भेट्न गएका डीकेन्द्रले सबै नेताहरुबाट नकारात्मक जवाफमात्र पाएको भनेर पार्टी नेतृत्वको आलोचना भयो।
आफ्ना भाइ, भतिजा, भान्जाभान्जी र सालालाई जागिर खुवाउने तत्कालीन नेकपा एमालेका नेताहरूले क्रान्तिकारी योद्धाको घोर अपमान गरेको भनेर सर्वत्र आलोचना भयो।
डिकेन्द्र ०२८ सालबाट सुरु भएको झापा विद्रोहका बेला नेकपा मालेबाट राजनीतिमा होमिएका थिए। त्यसबेला वामपन्थी नेताहरूलाई सेल्टर दिएर सघाएको आरोपमा राज्यविरुद्धको अभियोगमा उनलाई ९ वर्ष जेल चलान गरिएको थियो।
झापा आन्दोलनकै अर्का अगुवा हर्क खड्का पनि बेपत्ता भएका थिए। बेपत्ता हुनुअघिदेखि नै खड्का देशको राजनीतिक स्थितिलाई लिएर विचलित थिए।
उनी विगतमा एमाले र पछि एमाओवादी केन्द्रबाट उपेक्षित भए। आर्थिक अवस्था कमजोर भएकाले घरबार चलाउनसमेत उनलाई गाह्रो भएको थियो। माओवादी सशस्त्र संघर्षका बेला उनले लामो समय भूमिगत राजनीति गरेका थिए।
२०२४ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय खड्कालाई २०२५ र २०२६ सालमा तत्कालीन राज्य सत्ताले पक्राउ गरेको थियो। पहिलोपटक ५ दिन र दोस्रोपटक १७ दिन थुनामा बसेर निस्किएका उनी त्यही बेलादेखि नै भूमिगत राजनीतिमा थिए।
खड्का २०२८ सालमा भएको झापा विद्रोहमा ‘शत्रु सफाया’ अभियानका अगुवा थिए। हर्कसँगै झापा विद्रोहमा लागेका र १४ वर्ष जेल जीवन बिताएका केपी शर्मा ओली नेकपा एमालेका अध्यक्ष छन्।
झापाका पुराना वामपन्थी नेता तथा पूर्वसंविधानसभा सदस्य मनकुमार गौतम झापा विद्रोहका अगुवाहरुको यो हाल सुन्दा र देख्दा दुःख लागेको बताउँछन्। उनी भन्छन्, ‘खै के भनौं! जुन जगमा नेपालको वामपन्थी आन्दोलन उठ्यो, तिनै कार्यकर्ताको हालत यस्तो छ।’
२०२९ साल फागुन २१ गते झापा विद्रोहका नेताहरु नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई दानावारीस्थित सुखानीमा गोली हानी हत्या गरिएको थियो।
देश सञ्चारबाट साभार