सिन्धुली—मदन भण्डारी राजमार्ग भएर कमलामाइ नगरपालिका १३ को रानीवास पुगेपछि कमलानदी झोलुंगे पुलबाट पार गर्दै एक घण्टाको उकालो काटेपछि काङरि गाउ“ भेटिन्छ । गाउ“को सिरान सालघारी जंगलको आडमा केही थान पटाहा काठले बेरेर सानो झुुपडी जस्तो बनाइएको छ । १४ वर्ष अघि थाकलका सेउला हालेर ओत लाग्ने बनाइएकोमा स्थानीय वन समितिबाट १० वर्ष अघि जस्ता खरिद गरि लगाइएको छ । टलक्क टल्किने जस्तापातामा खिया लागेर रातो भैसकेको छ । जंगलको आडमा रहेको भवनको दाहिनेतर्फ हावापानी छेल्नका लागि जस्तालाइ नै उल्टो बनाएर राखिएको छ ।
भवन भन्न पटक्कै नसुहाउने कुटीजस्तो घरमा पटाहा माथि निलो साइनवोर्डमा सेता अक्षरले लेखिएको छ । ‘श्री बालज्योती प्रावि काङरिंग’ । ठेगाना रानीवास ८ सिन्धुली । स्थापना २०६४ लेखिएको छ । तर प्रावि अहिले वडा नं १३ मा पर्छ । स्थानीय तह भएर जनप्रतिनिधिले सरकार चलाएको पा“चवर्ष पुग्न लागेको छ तर यहा“ त्यसको कुनै भान छैन् । प्रावि भवनमा एउटा झ्याल र ढोका रहेको छ, तर झ्याल खुल्दैन् । झ्याल खोल्दा भूकम्प आएको जस्तै सबै भवन हल्लिने भएकाले नखुलेकै वर्षौ बितिसकेको छ । यो भवनको जस्ता हावाहुरीको चपेटामा परि तीनपटक उडाइसकेको छ । स्थानीयले हार नमानी टिपेर ल्याइ पुःन ठोक्ने गरेका छन् । झरिमा बाङ्गो पानी पर्दा भित्र खुट्टा टेक्ने ठाउ“ पनि हु“दैन् ।
थाकलको सेउलाले छानो लगाएर नानीबाबुहरुको शिक्षाका लागि हामीले विद्यालय चलाएका थियौं, अहिले जस्ताको छानो त छ तर अवस्था भने जस्ताको तस्तै छ, स्थानीय कुलबहादुर विश्वकर्माले दुखेसो पोख्नु भयो । यो विद्यालय टिकाउन स्वयंमसेवी भएर समेत बालबालिकाहरुलाइ अध्यापन गराएका उहाँले विद्यालयको भौतिक प्रगतीका लागि हारगुहार गर्दा समेत सुनुवाइ नभएकोमा रोष प्रकट गर्नु भयो । लोकतन्त्र बहाली भएर शान्ति स्थापना भएपछि गाउ“मै विद्यालय हुनुपर्छ भनेर लागियो । ५०÷६० जना बालबालिकाहरु अर्को विद्यालय पुग्न घण्टौं हिड्नु पर्ने भएपछि माग बमोजिम प्रावि स्विकृत त भयो, अर्का स्थानीय पदमबहादुर तामाङले भन्नुभयो, “विद्यालय त आयो तर पढाउने ठाउ“ छैन् । सामुदायिक वनको केही लगानी र स्थानीयको श्रमदानमा यत्तिको भवन ठड्याएका हौं ।” हामी विपन्नको लागि यो महल नै भएको उहाँले व्यंग्य गर्नु भयो । दलित, तामाङको २८ घरधुरी रहेको काङरिङ्गका स्थानीय बेसीमा झरेर मजदुरी गरि पालिएका छन् ।
१४ वर्षअघि ५ कक्षा सम्मको स्विकृत पाएको विद्यालय त्यो भन्दा अगाडि बढ्न सकेन् । नत भवन नै थप्न सक्यो । भएभरका विद्यार्थीहरुलाइ एउटै कक्षामा राखेर पढाउनु पर्ने बाध्यता छ । कार्यालय र कक्षाकोठा एउटै भएर चल्दै आएको बालज्योती प्राविमा केहि दिनअघि भने फरक रौनक थियो । स्थानीय सबै भेला भएका थिए । कोही काममा व्यस्त बनेका देखिन्थे भने कोही स्वागतमा जुटेका थिए । स्थानीयतह भएर ५ वर्ष अघि निर्वाचित भइ कमलामाइ नगरप्रमुख बनेका खड्गबहादुर खत्री पहिलो पटक विद्यालयमा पुग्नु भएको थियाचे । यो सा“च्चिकै ओझेलमा परेको विद्यालय हो, उहाँले शुरुमै भन्नुभयो, “म निर्वाचित भएर कार्यकाल सकिन लाग्दा पहिलो पटक आएको छु । तर केही लिएर आएको छु ।” जीर्ण भवनको नजिक अर्को दुइकोठे भवन धमाधम निर्माणाधिन अवस्थामा थियो । भवन अघि लाएर म पछि आ“ए, नगरप्रमुख खत्रीले दम्भी स्वरमा भन्नु भयो, “यो पनि बडो मुश्किलले दिएको हु“ । अब छाना हाल्ने काम पनि नगरपालिकाले गर्छ । छिटो निवेदन लिएर आउनु होला ।” फेरि चुनाव आउन लागेकाले कार्यकालको अन्त्यमा टुप्लुक्क देखा परेको भनेर आलोचना भएपनि नगरपालिकाको दुरदराजमा दुःखपीडा झेलिरहेको विद्यालयमा नया“ भवन पहिला पठाएर आफु पछिपछि आएकोमा गर्व महसुस भएको नगरप्रमुख खत्रीले बताउनु भयो । “मेरो भौतिक शरिर नआएपनि विकास अगाडि आएको छ” , उहाँले थप्नु भयो ।
नगरपालिकाबाट तीनलाख रुपैंया भवन निर्माणका लागि प्राप्त भएकोमा स्थानीयले श्रमदान गरि पा“च लाखको काम गरिसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्षबहादुर मोक्तानले दावी गर्नु भयो । भवनमा अव झ्यालढोकाको पल्ला, छानामा जस्ता लगाउने मुख्य काम बा“की रहेको उहाँको भनाई छ । निर्माण सामाग्री ढुवानी महंगो परेकाले भनेजती काम गर्न नसकेको अध्यक्ष मोक्तानले सुनाउनुभयो । विद्यालयमा २५ जना बालबालिकाहरु रहेको शिक्षकले जनाएपछि मेयर खत्रीले १,२ गरेर गिन्ती गर्नु भएको थियो । शिक्षकको गणनामा फरक नपरेको भन्दै बालकक्षाको पनि जरुरी रहेको स्थानीयको मागपछि मेयर खत्रीले पुरा गर्ने आश्वासन दिनु भयो ।
एकजना राहत शिक्षक र विद्यालय कर्मचारीले मात्र सबै कक्षा धान्न गा¥हो भएको स्थानीयको गुनासो थियो । ६ महिना अघि विद्यालयमा सरुवा भएर आउनु भएकी राहत शिक्षक पवित्रा कट्टेलले बालविकास कक्षा, खानेपानी र शौचालयको माग गर्नुभयो । आफु आउनु भन्दा अघिका शिक्षक त विद्यालयमा हाजिर नै नभइ वर्षौ बिताएर सरुवा भएछन्, उहाँले भन्नु भयो, “दुरदराजको विद्यालय भएकाले शिक्षक सहित बालविकास कक्षाको अपरिहार्य भएको छ ।”