शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सुन्तलाजात फलफूलको ग्रिनिङ्ग रोग पहिचान र ब्यवस्थापन

आइतवार , माघ ९, २०७८

देवराज अधिकारी र डा. उमेश कुमार आचार्य

परिचय सुन्तलाजात फलफूलको नेपालमा संस्कृतिक महत्व छ। मौसम अनुसार सुन्तला फल खानु नेपालीहरुको परम्परा हो। विगत देखिनै घर, करेसामा भएका सुन्तला तथा जुनारका बोटहरुमा फलेका फल परिवारका सदस्यहरुले खाने र छरछिमेकी नातागोतालाई कोशेलीको रुपमा दिने प्रचलन छ। कृषिमा व्यवसायिकता सँगै सुन्तलाजात फलफूलको व्यवसायिक बगैचा स्थापना गर्ने कार्यको सुरुवात भएको पाईन्छ। नेपालका ६९ जिल्लाहरुमा सुन्तलाजात फलफुलको खेती हुने भए पनि धनकुटा, तेह्रथुम, सिन्धुली, रामेछाप, काभ्रे, धादिङ्ग, गोरखा, लमजुङ्ग, तनहुँ, कास्की, पर्वत, स्याङ्गजा, म्याग्दी, पाल्पा, सल्यान, दैलेख, बैतडी, डडेलधुरा लगायतका पैतालिस जिल्लाका नौ सय देखि पन्ध्र सय मिटरसम्म उचाई भएका मध्यपहाडी क्षेत्रमा ब्यवसायिकरुपमा खेती हुदै आएको छ।सुन्तलाजात फलफूलले मध्य पहाडी क्षेत्रको आर्थिक अवस्थामा सुधार ल्याउन महत्वपुर्ण योगदान गरेकोछ।नेपालमा फलफूलले ढाकेको कुल क्षेत्रफलको २८% भाग अर्थात् ४४,४२४ हे. सुन्तलाजात फलफूलले ‌ओगटेको छ र फलफूलको कुल उत्पादनको २३% (२४५१७५ मे.ट.) हिस्सा सुन्तलाजात फलफूलको रहेको छ।विगत १५ वर्षमा सुन्तलाजात फलफुलको खेती गरिएको कुल क्षेत्रफलमा बृद्घि भए पनि उत्पादन र उत्पादकत्वको स्थिति सन्तोषजनक छैन। आ.ब.२०६५÷६६ मा ११.२९ मे.टन प्रति हेक्टर उत्पादकत्व रहेकोमा आ.व. २०७६÷७७ मा १०.०३ मे.टन प्रति हेक्टरमा पुगेको छ।यसले सुन्तलाजात फलफूलको बढ्दो आन्तरिक मागलाई स्वदेशी उत्पादनले परिपुर्ति गर्नको लागि मुलुकमा सुन्तलाजात फलफूलको क्षेत्र विस्तार तथा उत्पादन अभिबृद्धि गर्न विशेष पहल गर्नु पर्ने अपरिहार्य देखिन्छ।यसरी व्यवसायिक रुपमा लगाईएका सुन्तलाजात फलफूल बगैचामा हाल बिभिन्न प्रकारका समस्याहरु खास गरि रोग कीराको प्रकोपले उत्पादनमा कमी आउने त छदैछ, बगैचा नै ह्यस हुने देखिएको छ। यसको उदाहरणको रुपमा पुर्वी नेपालको बिभिन्न भेगहरु (खोटाङ्ग लामीडाँडा विमानस्थल वरपरको सुन्तला बगैचा, धनकुटा बजारको बगैंचा) का साथै मध्य नेपालको काभ्रे, धादिङ्ग साथै पश्चिमी नेपालमा‌ तनँहु - बन्दीपुर बजार, गोर्खा, कास्की लगायतका जिल्लाहरुको बगैचाहरुका सुन्तलाजात फलफूलका बोटहरुको उत्पादनमा कमी आउने र तिनको व्यवस्थापन गर्दा समेत सन्तोषजनक प्रतिफल हासिल नभएको र कतिपय बगैचा नै नष्ट भएका उदाहरण छन्। यस प्रकारको समस्याको कारण स्थान बिशेष अनुसार बिभिन्न हुन सक्दछन्। तिनको पहिचान गरि ब्यवस्थापनमा लाग्नु पर्ने हुन्छ।

विगतमा मध्य पहाडी जिल्लाका स्थानीय कृषकहरुको खाद्य तथा पोषण सुरक्षा साथै आयआर्जनमा सहयोग पुर्याईरहेको सुन्तलाजात फलफूल बाली यसरी उपचार हुन नसक्ने समस्याले ग्रस्त भई सुन्तलाजात फलफूलको खेती व्यवसायलाई नै धरासायी बनाएको सन्दर्भमा प्राय:जसो सिट्रस ग्रिनिङ्ग रोगले हो की भन्ने आशंका रहेको छ। यो रोग व्यवस्थापनको उचित बिधिहरु अबलम्बन गर्न यसको चिनारी, क्षति र व्यवस्थापनमा हाल भैरहेको पहल कदमीहरु, यसका चुनौती र समाधानका उपायहरुलाई सबै सरोकारवाला निकायहरुले मनन् गरेर लाग्नु पर्ने आजको आवश्यकता हो। [caption id="attachment_114394" align="alignnone" width="960"] चित्र १. नेपालमा फलफूल बालीले ओगटेको क्षेत्र[/caption] नेपालमा बिगतका बर्षहरुमासुन्तलाजात फलफूलको उत्पादन र बगैचाको स्थिती [caption id="attachment_114395" align="alignnone" width="960"] चित्र २. नेपालमा बिगतका बर्षहरुमा सुन्तलाजात फलफूलको उत्पादन र बगैचाको स्थिती[/caption] सिट्रस ग्रिनिङ्ग रोगको पहिचान सुन्तलाजात फलफूलको व्याक्टेरियाजन्य citrus greening रोगलाई ह्वाङ्गलाङ्गविन (HLB) पनि भनिन्छ। यस रोगको संवाहक सिट्स सिल्ला (चित्रमा तल) कीरा हो। यो सिल्ला कीरा प्रायः१२०० मि. उचाई भन्दा तल र गर्मी क्षेत्रमा बढी पाईन्छ। रोग व्यवस्थापनका लागि रोगको लक्षण, क्षतिको प्रकृतिका अलवा संवाहक कीरालाई पहिचान गर्न सक्नु पर्दछ।सिट्रस सिल्ला कीरा कामिनी फूल, बेल, कडी पत्ताको बोटमा भेटिन्छ। यो कीराको बिभिन्न अवस्थालाई प्राकृतिक रुपमा स्त्री स्वभावको खपटे र बिभिन्न जीवहरुले नियन्त्रण गर्दछ। यो रोगले संक्रमित गरेको बोटहरु शुरुमा पातको नशाहरुको बीचको भाग पहेंलो हुन्छ भने नशाहरु हरियो नै रहन्छ (चित्रमा) एवं पात सानो हुन्छ। यसको लक्षण जिंकको कमीको लक्षणसंग मेल खान्छ। अतः जिंक तत्व हालेर हेर्दा लक्षण सुधार भएन भने ग्रीनिंङ्ग रोग लागेको बुझ्नु पर्छ। रोग लागेको आँखाले देखिने लक्षणबोट टुप्पोबाट मर्न थालेको देखिनु हो। बेमौसममा फूल फूल्ने र फल लाग्ने गर्छ। फलको आकार सानो र हेर्दा आकर्षक नहुने, फल बीचबाट काटेर हेर्दा दुबै काटेको भागमा गुदी बरावर रहेको हुदैन र बीयाँ समेत दिउल नभएको फोस्रो हुन्छ तथा फल उत्पादन अत्यन्त कम हुदै जाने र अन्तमा बोट सुक्ने हुन्छ। यो रोग एउटा क्षेत्रमा देखिएपछि समयमै नियन्त्रण गर्न नसके सम्पुर्ण बगैंचा नै सखाप हुन्छ। रोगी बोटको उपचार सम्बन्धमा विश्व भरि नै अनुसन्धान चलिरहेको छ र हाल सम्म उचित व्यवस्थापन पत्ता लागेको छैन।यस्तो व्यवस्थापनको सरल बिधिहरु नभएको अवस्थामा रोग लाग्न वा बढ्न नदिनु नै राम्रो उपचार हो। सिन्धुली जिल्लामा सिट्रस ग्रिनिङ्ग रोग  बि. सं. २०४० सालमा रामेछाप तथा सिन्धुलीका जुनार बगैंचाको सिट्रस ग्रिनिङ्ग रोग सम्बन्धी सर्भेक्षण गरिएको थियो। अन्य भेगमा ग्रिनिङ्ग रोग नदेखिए पनि १००० मिटर भन्दा तल खास गरेर सिन्धुलीमाढीमा सिट्रस ग्रिनिङ्ग रोग सार्ने सिट्रस सिल्ला कीरा भेटियो। त्यसपछि तुरुन्तै बिभाग स्तरिय निर्णयले सिन्धुली फर्मको नर्सरी बन्द गरियो (भैरव राज कैनीसँगको कुराकानीमा आधारित, २०७८)। यसरी यो रोगले बि. सं. २०४० साल तिर सिन्धुलीमाडी र खुर्कोटको जुनार, सुन्तलाको बोट बगैचाहरु नाश गरेको निष्कर्ष छ।यस्तै बि.सं. २०७० सालमा साबिक भद्रकाली गाउँ विकास समिति २, कुशुमटार (समून्द्री सतह देखि ५२८ मिटरको उचाई)मा केही जुनारका बोटहरुमा सिट्रस ग्रिनिङ्गको स्थलगत पहिचान बिधि स्क्रयाच परीक्षण र जिल्ला कृषि विकास कार्यालय, सिन्धुलीद्धारा नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा-प्रतिष्ठान, खुमलटार, ललितपुरमा गरिएको पिसिआर परीक्षण पोजेटिभ पाईएकाले ति बोटहरु नष्ट गरिएको थियो।आ.ब. २०७६/७७मा प्लान्ट क्वारेन्टाईन तथा बिषादी ब्यवस्थापन केन्द्र, हरिहरभवन, ललितपुरद्धारा जुनार सुपरजोन, सिन्धुलीको समन्वयमा फिल्ड स्तरमा गरिएको स्क्रयाच परीक्षण पोजेटिभ पाईएकाले नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा-प्रतिष्ठान, खुमलटार, ललितपुरमा गरिएको पिसिआर परीक्षणमा गोलन्जोर ३, भदौरे र गोलन्जोर ४, तल्लो आलेगाउँको जुनार बगैचाको नमूनामा सिट्रस ग्रिनिङ्ग रोग पोजेटिभ पाईएको थियो। सो सम्बन्धमा स्थानीय सरकार साथै सरोकारवालाहरुलाई जानकारी र रोग बारेमा प्राबिधिक सचेतना गराई रोग संक्रमित बोटहरु नष्ट गरिएको थियो। यसका साथै राष्ट्रिय सुन्तलाजात फलफूल अनुसन्धान कार्यक्रम, पारिपात्ले, धनकुटाका बैज्ञानिकहरुबाट रोग संक्रमित सिन्धुलीको बगैचाहरुको स्थलगत अनुगमन निरीक्षण पश्चात् ईलाम जिल्लाको सानो गोदकमा सकारात्मक नतिजा पाईएको अम्बा र सुन्तलाजातको अन्तरबाली परीक्षणको गोलन्जोर ३, भदौरेमा पनि शुरुवात गरिएको छ। यसै गरि आ. ब. २०७७/७८मा राष्ट्रिय फलफूल विकास केन्द्र, कीर्तिपुरद्धारा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जुनार सुपरजोन), सिन्धुलीको समन्वयमा नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा-प्रतिष्ठान, खुमलटार, ललितपुरमा गरिएको पिसिआर परीक्षणमा गोलन्जोर ५ को जुनार बगैचाको नमूनाहरू पोजेटिभ पाईएको थियो। आ.व. २०७८/७९मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई, सिन्धुलीद्धाराजुनार सुपरजोन क्षेत्रका नर्सरीहरुको माउ बोटहरुको अभिलेखिकरण, धनीहरुलाई सचेतनामूलक गोष्ठी र राष्ट्रिय फलफूल विकास केन्द्र, कीर्तिपुरको सहकार्यमा सुन्तलाजात फलफूलको नर्सरी माउबोटहरुको नमूना संकलन गरि नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा – प्रतिष्ठान, खुमलटार, ललितपुरमा गरिएको पिसिआर परीक्षणका लागि पठाईएको छ। यसै सन्दर्भमा २०७८ पौष २० गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सचिवज्यूको अध्यक्षतामा प्राबिधिक समितिको बैठक र २०७८ पौष २७ गते प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, सिन्धुली र कृषि ज्ञान केन्द्र, सिन्धुलीको आयोजनामा सिन्धुलीमाडीमा सरोकारवालाहरुको गोष्ठी गरि रोग र रोग सार्ने संबाहक कीरा–सिट्रस सिल्ला कीरा ब्यवस्थापनका लागि अन्तर्क्रिया सम्पन्न गरिएको छ।स्थानीय सरकार गोलन्जोर गाउँपालिका, सिन्धुलीद्धारा सुन्तलाजात फलफूलको आन्तरिक क्वारेन्टाईनको नियम लागु गरिएको छ। यो रोग व्यवस्थापन सम्बन्धमा जुनार विकास संघ, सिन्धुली लगायतका सरोकारवाला संघ, संस्थाहरुको पहलकदमी सर्हानिय छ। जिल्लाको कम उचाईका बिभिन्न सुन्तलाजात फलफूल बगैचाहरुमा बोट सुक्दै जाने, मर्ने समस्या-सिट्रस ग्रिनिङ्ग रोग देखा परेको साथै यो रोगको संवाहक कीरा सिट्रस सिल्ला भेटिएको सन्दर्भमा यसलाई बेलैमा ब्यवस्थापन गर्न सबै सरोकारवालाहरु जुट्न जरुरी छ। साथै सिट्रस ग्रिनिङ्ग रोग ब्यवस्थापनमा प्रभावकारिताका लागि सुन्तलाजात फलफूलको आन्तरिक क्वारेन्टाईनको नियमन जिल्ला स्तरमै लागु गर्नु पर्ने प्राबिधिक खाँचो छ। ब्यवस्थापन बाह्र सय मिटर उचाई भन्दा कम उचाईको क्षेत्रको बगैंचामा संवाहक कीरा सिट्रस सिल्लाको अनुगमन, निरीक्षण गर्ने।जहिले पनि १२०० मिटर भन्दा बढी उचाईमा रहेको नर्सरीबाट बिरुवा लिनु पर्छ।रोगी माउबोटबाट कलमी विरूबातयार गरेको नर्सरीबाट विरुवाहरू किन्नु हुँदैन।आधुनिक नर्सरी व्यवस्थापन गरि स्वस्थ बेर्ना उत्पादन, स्क्रिन हाउसमा सायन लिने माउ बोट उत्पादन गर्ने, संवाहक कीरा सिल्ला व्यवस्थापनका लागि कीटनाशकबिषादी प्रयोग आदी अवलम्बन गर्नु पर्दछ।रोगको एकीकृत व्यवस्थापनका लागि रोग ग्रस्त क्षेत्र पहिचान र सर्वेक्षण, रोग पहिचानका लागि स्क्रयाच बिधिको प्रयोग, संवाहक कीरा सिल्ला र रोग व्यवस्थापन साथै रोगी बोट नष्ट गर्ने आदी गरि आन्तरिक नियन्त्रण प्रणालीलाई अवलम्बन गर्नु पर्दछ।जाली घर भित्र रहेको कलमी गर्न हाँगो लिने माउ बोट प्रमाणीकरण गरि उत्पादन गरिएका बिरुवा मात्र रोपण गर्ने।आयोडिन प्रयोग गरि स्क्रयाच टेस्ट र पिसिआर विधिबाट रोगी वा निरोगी बोट पहिचान गरि रोग निदान गर्नेगर्नु पर्दछ।तीन बर्ष भन्दा बढीका निरोगी कलमी सुन्तला र जुनारका बिरुवाहरू उच्च घनत्वमा लगाई छिटो उत्पादन लिने र सुन्तलाजात बाली संग सेतो गुदी भएको अम्बाको अन्तरबाली गरेर पनि यो रोगबाट बोट बचाई आम्दानी लिन सकिन्छ। यसको अलवा भोगटे ईन्टरस्टक गरि तयार गरिएको कलमी बोटले सुन्तलाजात फलफूलले ग्रिनिङ्ग रोग सहन सक्ने पाईएको छ। यसको व्यवस्थापनका लागि विश्वमै बिभिन्न परीक्षणहरु भैरहेकाछन् तथापी सहि बिधि पत्ता लागेको छैन। हाललाई रोग अन्यत्र फैलन नदिन संक्रमित सुन्तलाजात फलफूलको बोट नष्ट गर्नु नै बुद्धिमानी हुन्छ। अन्य विकसित मुलुकहरुमा जस्तो हाम्रो देशमा यो रोगको व्यवस्थापनका लागि आवश्यक पर्याप्त ऐन, कानुनहरु लागु भैसकेका छैनन्।यसै सन्दर्भमा बड उड प्रमाणिकरण, रोग संक्रमित बिरुवा वा बिरुवाजन्य सामाग्रीहरुको ओसारपसार - क्वारेन्टाईन नियमन, रोग परीक्षणका लागि पिसिआरको सुलभता र छरितोपना र सिट्रस ग्रिनिङ्ग रोग संक्रमित बोट नष्ट गर्ने कार्यबिधि आदी सवालहरु रहेका छन्।यसका साथै स-साना छरिएका बगैचा, परम्परागत बगैचा स्थापना र ब्यवस्थापनको पद्धति , सिट्रस ग्रिनिङ्ग रोग ब्यवस्थापनमा चुनौती हामी माझ रहेको छ। रोग व्यवस्थापनको लागि गर्नुपर्ने पहलहरु: यो रोगको व्यवस्थापनको लागि विभिन्न प्रयासहरु विश्व भरि नै भइरहेका छन्। यस सन्दर्भमा तत्कालिन तथा दीर्घकालिन रणनीति तय गरी अघि बढ्नु जरुरी छ। रोगले सुन्तलाजात फलफूल उत्पादनमा पारेको नोक्सानी, क्षतिको बिवरण र कीराको फैलावटको तथ्यांक संकलन गरी यसबाट कृषकवर्गमा परेको सामाजिक/आर्थिक प्रभावको लेखाजोखा गर्नु आवश्यक छ।संक्रमित बिरुवा र बिरुवाजन्य पदार्थको ओसार-पसारले हुन सक्ने कीराको फैलावट रोक्न आन्तरिक क्वारेन्टाईनको समयोचित अवलम्बन गर्नु पर्दछ।हाल सम्म सुन्तलाबाली लाग्ने सबै जसो जिल्लाहरूका कुनै न कुनै भागमा ग्रिनिंग रोग लागेको रिपोर्ट गरिएको छ lरोगको गाम्भिर्यता, पहिचान, फैलावट र व्यवस्थापनका विधिहरु बारेमा स्थानीय स्तरमा कार्यरत कृषि प्राविधिकहरु, उत्पादक कृषकहरु, व्यापारीवर्ग र उपभोक्ताहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा प्राविधिक एवं व्यवस्थापकीय जानकारीहरुको व्यापक रुपमा अभिवृद्धि प्रयास गर्नु जरुरी छ।रोग बारेमा नेपालकै सन्दर्भमा प्राविधिक जानकारी र व्यवस्थापनका विधिहरु पहिल्याउन अनुसन्धानमा तत्परताका साथ लाग्नु पर्दछ। समयमै रोगी बगैंचाको निर्क्यौल गर्नको लागि पहिचानको दायरा फराकिलो बनाउनु पर्दछ।संकास्पद बोटहरुको नमुना संकलन गरि नियमित रुपमा पिसिआर परीक्षणको व्यवस्था सर्बसुलभ हुनु पर्दछ। हाल नेपालमा राष्टिय विधि-बिज्ञान प्रयोगशाला र एउटा निजी प्रयोगशालामा मात्र यो रोगको परीक्षण गर्ने सुविधा छ।यसलाई बढाएर सबै प्रदेशमा पुर्याउनु आवश्यक छ lरोगको प्राविधिक तथा व्यवस्थापकीय सूचना आदान-प्रदानको लागि राष्ट्रिय कार्यदल गठन गरी अगाडी बढ्नु पर्दछ। नेपालमा यस सम्बन्धित अनुसन्धानबाट प्राप्त सफल प्रविधिहरुलाई यस रोगको व्यवस्थापन अभ्यासमा समयोचित अवलम्बनको लागि सरकारी निकायहरु साथै सम्बन्धित कार्यक्षेत्रमा कार्यरत संघ-संस्थाहरुबाट अनुदान सहयोग र समन्वयात्मक कार्यमा कटिबद्धताका साथ लाग्नु पर्दछ। यसमा कृषक स्वयंको अनिवार्य साझेदारिता र सहभागिता निकै नै महत्वपुर्ण हुन्छ।रोग व्यवस्थापनमा निरन्तरता साथ साथै सुन्तलाजात फलफूल बगैचाको स्तरीय व्यवस्थापन सम्बन्धित कृषि कर्महरुको उचित प्रवाह हुनु पर्दछ।विश्वको बिभिन्न ठाउँहरुमा ग्रिनिङ्ग रोग व्यवस्थापनका लागि प्रभावकारी पाईएको अम्बा बालीसंग अन्तरबाली, संवाहक कीराको प्रकोपको पुर्व सुचना र कीरा व्यवस्थापनको लागि हिउँदमा र पालुवा पलाउने बेलामा दैहिक कीटनाशक बिषादी प्रयोगका प्रबिधिहरु कृषकले अबलम्बन गर्न गराउन प्रविधि प्रदर्शन तथा सहजिकरण जरुरी छ।प्रदेश-प्रदेश बीच बिरुवा ओसार-पसारमा क्वारेन्टाइनको पालना र यसको व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघिय सरकारको मातहातको निकायहरुबाट समन्वयात्मक तवरले काम गर्नु पर्ने हुन्छ।रोगको फैलावट रोक्न रोग संक्रमित बोटहरु नष्ट गर्ने कार्यबिधि लागु गरि सुन्तलाजात फलफूल बगैचा धनीहरुलाई उचित क्षतिपुर्ति / राहत साथै बगैचा पुनर्स्थापनाको प्याकेज सहित सरोकारवाला निकायहरु समन्वयात्मक तवरले लाग्नु जरुरी छ।

(अधिकारी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाइ, सिन्धुलीमा बरिष्ठ कृषि अधिकृत र डा. आचार्य राष्ट्रिय सुन्तलाजात फलफूल अनुसन्धान कार्यक्रम पारिपात्ले, धनकुटामा संयोजक हुनुहुन्छ।)

प्रतिक्रिया