सिन्धुली, ५ मााघ – पछिल्लो २४ घण्टामा सिन्धुलीमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ४६ जनाको नमूना परीक्षण गर्दा १० महिला र २३ पुरष गरी ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
अहिले जिल्लामा १ सय १९ जना संक्रिय कोरोना संक्रमित रहेका छन् । जिल्लाको ९ स्थानिय तह मध्ये हाल सम्म घ्याङलेख गाउँपालिकामा भने कोरोना संक्रमितको संख्या शुन्य रहेको छ भने कमलामाई नगरपालिकामा भने सबै भन्दा बढी ५३ जना संक्रिय कोरोना संक्रमित रहेका छन् ।
यस्तै अहिले दुधौली नगरपालिकामा २६ जना, तीनपाटन गाउँपालिकामा ७ जना, फिक्कलमा ५ जना, सुनकोशीमा १ जना, गोलन्जोरमा ३ जना, मरिणमा २० जना र हरिहरपुरगढी गाउँपालिकामा ४ जना कोरोनाको संक्रिय संक्रमित रहेका छन् ।
देशभर ११ हजार ३५२ मा संक्रमण पुष्टि
यसै विच देशभर पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ मा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या मंगलबार देखिएको नयाँ संक्रमितभन्दा एक हजार ९४ ले बढी हो । मंगलबार देशभरमा १० हजार २५८ नयाँ संक्रमित पुष्टि भएको थियो । बुधवार कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।
उपत्यकाका तीन जिल्लामा बुधवार छ हजार ३४३ नयाँ संक्रमित थपिएका छन् । काठमाडौँमा चार हजार ६६६, ललितपुर एक हजार १९ र भक्तपुरमा ५७८ नयाँ संक्रमित थपिएकोे मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये नौ हजार ५०२ को पीसीआर र एक हजार ८५० को एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २३ हजार ४०९ को नमूना परीक्षण गरिएको थियो । १८ हजार ७८ जनाले पीसीआर र पाँच हजार ३३१ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये औसत संक्रमणदर ५२ दशमलव दुई प्रतिशत छ । हालसम्मको उच्च संक्रमणदर भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताउनुभयो ।
हाल भेन्टिलेटरमा रहनेको संख्या जम्मा २८ र आइसियुमा १६९ जना रहेका छन् । होम आइसोलेशनमा ४६ हजार ५१५, संस्थागत आइसोलेशनमा एक हजार ४१४ गरी आइसोलेशनमा जम्मा ४७ हजार ९२९ रहेका छन् । संस्थागत क्वारेन्टिनमा १२६ रहेका छन् । कोभिड संक्रमण दैनिजक बढिरहेकाले सबै संघसंस्थाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीको भनाइ छ । सभा, सम्मेलन र भेला सकेसम्म ‘भर्चुअल’ गर्ने र भौतिक उपस्थितिमै गर्नुपरेमा २५ जनासम्म मात्रैको उपस्थितिमा गर्नुपर्ने उहाँले बताउनुभयो । ती कार्यक्रमभन्दा पहिले सबैको परीक्षण गर्ने र खोप लगाएको सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “संक्रमण रोक्नका लागि सार्वजनिक यातायात, हवाई सेवा, होटल, रेस्टुरेन्टलगायतले मापदण्डको पालना गर्न खाँचो छ ।”