बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा २६ जना बन्दकर्ता पक्राउ (भिडियो पनि हेरौँ)

मंगलवार , कार्तिक ३०, २०७८

सिन्धुली– मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीले (नेकपा) गरेको नेपाल बन्दको प्रभाव सिन्धुलीमा पनि देखिएको छ । जिल्लाभित्र सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन् । त्यस्तै, बजार क्षेत्रका पसलहरु भने ठप्पै छन् । उद्योग वाणिज्य संघ, सिन्धुलीले अन्तिम मंगलबार जिल्लाका व्यापार व्यवसाय बन्द गर्नुपर्ने निर्णय गरेका कारण पनि पसलहरु ठप्प भएको स्थानिय अरुण सापकोटाले जानकारी दिनुभयो ।

बजार क्षेत्रमा मोटरसाइकल बाहेक सवारीसाधनहरु फाट्टफुट्ट चलिरहेको छ । त्यस्तै, सिन्धुलीहुदैँ अन्य जिल्ला जाने गाडीहरु पनि नचलेको यातायात व्यवसायीले जानकारी दिएका छन् । जिल्लाभित्र निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् । तर ती पनि अघिल्ला दिनको तुलनामा कमैमात्र चलेका छन् । सिन्धुलीको सदरमुकाम कमलामाई नगरपालिका लगायत अन्य स्थानिय तहको चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ । बन्दको क्रममा कुनै अप्रिय घटना नभएको सिन्धुली प्रहरीं कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक बुद्धिमान नेपालले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिका ६ स्थित शान्तिनगर चोक र बजार क्षेत्रबाट २६ जना बन्दकर्ता पक्राउ परेको इन्स्पेक्टर नेपालले बताउनुभयो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुर्व जनकपुर व्युरो सदस्य एवं सिन्धुली इन्जार्ज बत्र्ये बहादुर राई ‘शशी’ सहित २६ जना पक्राउ परेका छन् । उनीहरुले गाडी रोकेर अवरोध गर्न खोजेपछि पक्राउ गरिएको प्रहरी निरिक्षक नेपालले बताउनुभयो । समाजवादि युवा संघको अध्यक्ष हेम पुलामीका अनुसार शान्तिपुर्ण विरोधमा निस्किएका नेता तथा कार्यकर्तालाई पक्राउ गरिनु अनुचित रहेको बताउनुभएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया