सिन्धुली – कोरोना संक्रमणको लहर फेरी बढने चिन्तामाझ सिन्धुलीमा “तपाईको मास्क खोई“ अभियान सुरु गरिएको छ । ६६ औ प्रहरी दिबशको अबसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा सिन्धुलीमाढीमा आज देखि यो अभियान सुरु भएको हो ।
अभियानमा स्वास्थ्यकर्मी, नेपाली प्रहरी, शसस्त्र प्रहरी, उद्योगी, यातायात व्यवसायी लगायतले सहभागिता जनाएका छन । सबैलाई अनिवार्य रुपमा मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले जिल्ला सदरमुकाम सिन्धुलीमाढी केन्द्रित गरी अभियान थालिएको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले मास्क लगाउन अटेर गर्ने, मास्क बिनै भीडभाडमा जाने प्रवृत्ति बढेकाले सचेतनामूलक अभियान सञ्चालन गर्नुपरेको बताउनु भएको हो ।
प्र.जि.अ न्यौपानेले चाडपर्व नजिकिँदै गरेकाले थप सतर्कताको जरुरी रहेको बताउनु भयो । सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उहाँको भनाइ थियो । न्यौपानेले भन्नु भयो,“एक जनाको लापरवाहीले समाज नै संक्रमित हुने हुँदा व्यापक जनचेतना फैलाउन जरुरी छ ।“ महामारी टरी नसेकाले उल्लेख गर्दै प्रजिअ न्यौपानेले आमनागरिक अनुशासित भएर रोकथाम तथा नियन्त्रणमा मद्दत गर्नुपर्ने आग्रह गर्नुभयो ।
सिन्धुलीका प्रजिअ र सुरक्षा प्रमुखहरु सहित स्थानीयले समेत यो अभियानमा साथ दिदै बजार र चोकहरुको जनचेतना र्यालीमा गरेका छन । र्याली लोकतान्त्रिक चोक बाट प्रारम्भ भएर स्टल बजार, एक नम्बर बजार, दुई नम्बर बजार मा भएको छ । नेपालीको महान चाड दशै नजिकिदै गर्दा सिन्धुलीमा हिजोआज बजार एरियामा किनमेल गर्ने स्थानीयको भिड देखिन्छ । धेरैले किनमेलमा जादा मास्क लगाउन बिर्सने गरेको प्रती ब्यापारीहरु चिन्ता ब्यक्त गर्छन । प्रहरीले मास्क खोइ अभियान थाल्दा बजारको किनमेलमा भिडभाड गर्ने स्थानीयलाई सचेत गराउन प्रभावकारी भुमिका मिल्ने प्रहरीको बुझाइ छ ।
केहि समय पहिला प्रहरीले बजारमा मास्क नभएकालाई निःशुल्क वितरण गर्ने तथा बिना मास्क हिँडडुल गर्नेलाई सचेत गराएर छोडने गरेको थियो । सामुदायिक प्रहरीले मुख्य बजार, भीडभाड हुने क्षेत्रमा माइकिङ गर्दै सचेतनामूलक सन्देश सुनाउने गरेको छ ।
यस अभियानमा जिल्ला स्थित विभिन्न संघ संस्थाको पनि महत्वपुर्ण भुमिका रहेको छ ।