सिन्धुली – जेष्ठ नागरिक दिवसको अवसरमा सुनकोशी गाउँपालिले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । शुक्रबार जेष्ठ नागरिक दिवसको अवसरमा गाउँपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरि गाउँपालिका क्षेत्रका ८५ वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
गाउँपालिका भित्रका ८५ वर्ष उमेर नाघेका १ सय ५० जना जेष्ठ नागरिकलाई एक¬एक वटा ब्ल्याङकेट र खादा माला सहित सम्मान गरिएको सुनकोशी गाउँपालिकाका कानुनी सल्लाकार चिरन्जिवी दाहालले बताउनुभयो । उहाँका अनुसार जेष्ठ नागरिकको सम्मान स्वरुप खादा,माला सहित ब्ल्याङकेट प्रदान गरिएको हो ।

यस्तै गाउँपालिकाले पालिका भित्रका अपांगता भएका व्यक्तिलाई स्टबैसाखी,स्टिक,हुइलचियर लगाएत बेड वितरण गरेको छ । गाउँपालिकाले पालिका भित्रका अपांगता भएका ४७ जनालाई उक्त सामाग्री वितरण गरेको कानुनी सल्लाकार दाहालले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले अपांगता भएका व्यक्तिलाई कुल २ लाख ८२ हजार लागतको सामाग्री वितरण गरेको छ ।
सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि गएको डेढ दशकदेखि यो दिवस मनाउन थालिएको हो । कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष दिपा वोहोरा दाहाल, प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने, वडा न.३ का अध्यक्ष रामचन्द्र आचार्य, वडा न.५ का अध्यक्ष सन्तोष दाहाल, कार्यपालिका सदस्य सम्झना कोइराला लगायतको उपस्तिथिती रहेको थियो ।




