सिन्धुली, – सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा नक्सापास नगरी घर बनाउने प्रबृत्तिमा कमी आउन सकेको छैन ।
नगरपालिकाले नगर क्षेत्रभित्र व्यवस्थित बसोबासका लागि घर बनाउदा अनिबार्य नक्सापासको व्यवस्था गरे पनि कतिपय व्यक्तिको लापर्बाही र चेतनाको अभावमा घर बनाउदा नक्सा पास नगर्ने प्रबृत्तिको विकास भएको जनाईएको छ । नगरपालिका कार्यालयमा जनशक्तिको कमीका कारण अनुगमन राम्रोसँग नहुदा यो समस्या आएको कमलामाई नगरपालिकाले जनाएको छ ।
कमलामाई नगरपालिका साबिक सिद्धेश्व र भिमान गाविसलाई मिलाएर २०५३ सालमा गठन भएको हो । हाल १५ हजार ७६४ घर धुरी रहेको कमलामाई नगरपालिकामा हालसम्म पाँच हजार ३७४ घर धुरीको मात्रै नक्सा पास रहेको छ । त्यो मध्ये २८३ जनाले गत आर्थिक बर्ष ०७७\०७८ मात्रै नक्सा पास गरी घर निर्माण गरेका नगरपालिकाले जनाएको छ ।
नक्सापास नगराई घर बनाउदा र नगरपालिकाले पनि राम्रोसँग अनुगमन नगर्दा नगरक्षेत्रका कतिपय बस्तिमा मापदण्ड बिपरित घर बन्नुका साथै सडकको जग्गा समेत अतिक्रमणमा परि रहेका स्थानीय बासिन्दाले बताएका छन् ।
कमलामाई नगरपालिकाले नगरक्षेत्रका बासिन्दालाई दिनु पर्ने न्युनतम सुविधा पनि दिन नसकेका कारण पनि घर बनाउदा नक्सा पास गर्ने तर्फसोच स्थानीय मानिसको जान नसकिरहेको कमलामाई नगरपालिका–२ निवासी रामबहादुर वाईवा बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘नगरपालिकाभित्र वीपी राजमार्गको आसपास क्षेत्रमा पछिल्लो समयमा नक्सा पास गरी घर बनाउन थालिएको छ । तर शाखा सडक र कच्चि सडक क्षेत्रमा नक्सा पास नगरि घर बनाउने चलन अझै रोकिएको छैन ।’
२०७२ सालको भुकम्पपछि पुननिर्माणको लाभग्राही सूचिमा परेकाले नीजि आवास निर्माण गर्न तीन लाख रुपिया अनुदान लिनका लागि अनिबार्य नक्सापास गर्नु भएकाले पछिल्लो समयमा नक्सापास गर्ने धेरै देखिएको उहाँले सुनाउनुभयो । त्यसो त कमलामाई नगरपालिकामा लाभग्राही सूचिमा परेका भुकम्पपीडितको संख्या आठ हजार ७९४ रहेको छ । त्यो मध्ये नीजि आवास निर्माणका लागि सम्झौता गरी पहिलो किस्ता लिनेको संख्या आठ हजार ३६३ रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण अनुदान व्यवस्थापनको कार्यालयले जनाएको छ ।
स्थानीयका अनुसार बीपी राजमार्गको क्षेत्राधिकार दायाबाँया गरी ५० मिटर र नगरपालिकाको सेडव्याक दायाबाँया गरी १२ सहित ६२ मिटरभित्र घर बनाउन पनि नगरपालिकाले नक्सापास रोकेको छ । तर स्थानीय बासिन्दाले जोखिम मोलेर भएपनि नक्सापास विनानै उक्त ६२ मिटर भित्र पनि करोडौ रुपैया लगानी गरी सिमेन्टका कङक्रिट घर बनाई रहेका छन् । व्यापारिक प्रयोजनका लागि त्यसस्ता घर निर्माण भएको हो ।
नगरपालिकाको घरनक्सा शाखामा जनशक्तिको कमीका कारण अनुगमन गर्ने कार्य राम्रोसँग नहुदा नक्सापास तथा भवन निर्माण सम्बन्धि निर्देशिका कडाईका साथ लागू गर्न नसकिएको कमलामाई नगरपालिकाले जनाएको छ । नगरपालिकाका सूचना अधिकारी निर्मल लामा कसैले उजुरी गरेमा अनुगमन गर्ने गरेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “पहिले नै मापदण्ड पुरा गरेर घर बनाएको तरपछि घरको नक्सा पास गर्छु भनेर आएकालाई जरिवाना लिएर नक्सापास पनि गरिएको छ । तर घर भत्काएको रेकर्ड अहिलेसम्म छैन ।”