सिन्धुली – सिन्धुलीमा विश्वमै दुर्लभ मानिएको स्तनधारी जंगली जनावर सालकको खपेटो सहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका २ पिपलभञ्ज्याङमा सालकको खपेटो सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सालकको खपेटो सहित कमलामाई नगरपालिका वडा नम्बर २ खटार का अन्दाजि ३० वर्षिय मदनसिं बम्जनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो । नियन्त्रणमा लिएको बम्जन पिपलभञ्ज्याङ स्थित बाटोमा हिडिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा सालकको खपेटो भेटिएको उहाँले बताउनुभयो ।
खैरो–खैरो देखिने २ फिट ५ इन्चको सालकको खपेटा भएको टाउको देखि पुच्छर सम्मको शरिरको पुरै भागको छाला सहित एउटा र कालो–कालो देखिने शरिरको पुरै भाग भएको छाला सहितको १ फिट ९ ईन्चको सालकको खपेटा एउटा गरि जम्मा २ वटा फेला परेको डिएसपि लामाले जानकारी दिनुभयो । उक्त खपेटो सहित बम्जनलाई आबश्यक कारबाहीको लागि जिल्ला जिल्ला बन कार्यालय सिन्धुलीमा पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
‘अतिसंकटापन्न’ सालकलाई थप संरक्षण आवश्यक’
सालक संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै चीनले पर्वतीय क्षेत्रका वासस्थानमा प्राकृतिक आरक्षहरू बनाउनुपर्ने सुझाव दिइएको छ । पूर्वी चीनमा सालकको घट्दो संख्याबारे अध्ययन गरिरहेका वैज्ञानिकहरूले त्यस्तो सुझाव दिएका हुन् । सालक विश्वमै अत्यधिक तस्करी हुने स्तनधारी वन्यजन्तु हो । अनुसन्धानले सन् १९७० को दशकयता सो दुर्लभ वन्यजन्तुको संख्या आधाभन्दा कम भइसकेको देखाएको छ ।
अवैध सिकार
सालकको मासु र खबटाको महत्त्व परम्परागत चिनियाँ औषधिमा छ । त्यसैले एशिया र अफ्रिकामा अवैध सिकार गरेर औषधिका लागि आवश्यक सामग्री आपूर्ति गरिने गरेको बताइन्छ । अहिले सालक उत्तरी फुजियान प्रान्तस्थित उई पर्वतीय क्षेत्रमा मात्रै पाइन्छ। त्यहाँ अन्य दुर्लभ र असामान्य वन्यजन्तु पनि भेटिन्छन् । बेइजिङ वनविज्ञान विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार वैज्ञानिक र स्थानीय बासिन्दाले सालकबारे थप ध्यान दिनुपर्छ ।
‘अतिसंकटापन्न’
सालक चीनमा राज्यद्वारा संरक्षित विशेष वन्यजन्तुहरूको सूचीमा दोश्रो तहमा छ । उनीहरू भन्छन्, ‘हाम्रो र पहिलाका अनुसन्धानले सालकलाई संरक्षणको पहिलो तहमा राख्नुपर्ने देखाउँछन् ।’ ती क्षेत्रमा स्थानीयवासीलाई सालक संरक्षण योजनामा सहभागी हुन उत्प्रेरित गराउने शिक्षासहित निगरानी गर्ने सञ्जाल निर्माण गर्न वैज्ञानिकहरूले आग्रह गरेका छन् । एशिया र अफ्रिकामा गरेर कुल आठ प्रजातिका सालक अस्तित्वमा छन् । सबै प्रजाति ती पाइने देशका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनद्वारा संरक्षित छन् । तैपनि सालकको अवैध व्यापार भइराखेको छ ।
चिनियाँ सालक एशियामा पाइने चार प्रजातिमध्ये एउटा हो । प्रकृति संरक्षणको क्षेत्रमा सक्रिय अन्तर्रराष्ट्रिय निकाय आईयूसीएनले चिनियाँ सालकलाई ’अतिसङ्कटापन्न’ वन्यजन्तुको सूचीमा राखेको छ । यो प्रजाति नेपालको पहाडी क्षेत्र, दक्षिण चीनको हाइनान, ताइवान र हङकङमा पनि पाइन्छ ।