संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीका तीनजना सहित देशभरका ९०३ जनालाई विभिन्न विभूषण, अलंका र पदक प्रदान गर्नुभएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपति भण्डारीले ती विभूषण प्रदान गर्नुभएको हो ।
तत्कालीन नेकपा (माओवादी)का केन्द्रीय सदस्य शेरमान कुवँर ‘विशाल’ र वैकल्पिक केन्द्रीय सदस्य मोहन चन्द्र गौतम ‘कुमार’ लाई जनसेवाश्री चतुर्थ श्रेणी प्रदान गरिएको छ । त्यसैगरि, नम्बर ९ बाहिनी अड्डा, सिन्धुलीका महासेनानि नुरेन्द्र मल्ललाई अतिपौरख भाष्कर प्रदान गरिएको छ ।
को हुन् विशाल र कुमार ?: तत्कालीन नेकपा (माओवादी)का केन्द्रीय सदस्य विशाल र वैकल्पिक केन्द्रीय सदस्य कुमारको २०६१ भाद्र २० गते तत्कालीन शाही सेनाले हत्या गरेको थियो । विशाल र कुमार माओवादी जनयुद्धताका सिन्धुलीका प्रभावशाली नेता तथा फौजी कमाण्डरका रुपमा स्थापित हुनुहुन्थियो । मरिण निवासी कुँवर र अमलेका बासिन्दा गौतमलाई तत्कालिन सरकारी सुरक्षाफौजले धनुषाको धनछवारमा हत्या गरेको थियो ।
विशाल–कुमारलाई २०६१ सालमा रोल्पाको थवाङमा भएको पार्टीको केन्द्रीय समिति बैठकबाट कार्यक्षेत्र फर्किदै गर्दा धनुषाको धनछवारमा नेपाली सेनाले घर घेरा हालेर अत्मसमर्पण गर्न भनेपछि उहाँहरुले बरु आफुहरु हाँसी हाँसी मर्न तयार रहेको तर कायतापूर्ण तरिकाले शरणमा नपर्ने भनेपछि शारीरिक यातना दिएर बर्बरतापूर्ण हत्या गरेको थियो ।
त्यतिबेला मोहन चन्द्र गौतमलाई तत्कालीन नेकपा माओवादी पार्टीले सोलुखुम्बु र ओखलढुंगा जिल्ला इन्चार्जको जिम्मेवारी सुम्पेको थियो भने शेरमान कुँवरलाई सेनाको पूर्बि कमाण्डको जिम्मेवारी सुम्पेको थियो ।
प्रचण्डपत्नी र झलनाथपनि विभुषित: सरकारले संविधान दिवसको अवसरमा प्रदान गर्ने विभिन्न मानपदवी र विभूषणमा प्रचण्डपत्नी सीता दाहाल पनि पर्नुभएको छ । यो वर्ष मानपदवी र विभूषण हुने ९०३ जनाको लिष्टमा सीता दाहाल पनि पर्नुभएको हो । मन्त्रिपरिषदको बैठकबाट सिफारिसमा सिफारिसमा परेकी सीता दाहाललाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान भएको हो ।
त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव पदवीबाट सम्मान गरिने भएको छ । यो सम्मान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने उक्त मानपदवीमध्ये दोस्रो ठूलो सम्मान हो । पूर्वप्रधानमन्त्री खनालसँगै यो सम्मान मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्ण शमशेर राणालाई पनि प्रदान गरिने भएको हो । सरकारले संविधान दिवसको अवसरमा हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई विभिन्न मानपदवी र विभूषण गर्दै आएको छ । यो वर्ष सरकारले ९०३ जनालाई सम्मान गर्ने भएको छ । मन्त्रिषरिषदको सिफारिसमा परेका सबैलाई आजै राष्ट्रपति कार्यालयमा सम्मानको कार्यक्रम रहेको छ ।