सिन्धुली– सिन्धुलीमा भदौ महिना सम्ममा ४० हजार बढीले कोरोना विरुद्धको पुर्ण खोप लगाउने भएका छन् । आगामी २८ र २९ गतेका दिन चाईनिज भ्याक्सिन भेरोसेल खोपको पहिलो मात्रा लगाईसकेका बाँकी तीन हजार ९५४ जनालाई दोश्रो मात्राको खोप दिईएसँगै जिल्लामा कोरोना भाईरस बिरुद्धको खोप लगाउनेको संख्या ४० हजार १६७ जना पुग्ने स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्लामा अहिले सम्म ३६ हजार दुई सय १३ जनाले पुर्ण खोप लगाइसकेका छन् भने यहि भदौ २८ र २९ गते भेरोसेल खोपको पहिला मात्रा लगाएर बसेका तीन हजार ९५४ जनाले जिल्लाको नौँ स्थानिय तहको बिभिन्न खोप केन्द्रबाट खोप लगाउदैँ छन् । अब भारतको कोभिडसिल्ड र बेलायतको एस्ट्राजेनि खोपको दोश्रो मात्रा लगाउन ४ हजार ७ सय ३२ जना बाँकी रहेका छन् ।
हाल सम्म सिन्धुलीमा कोभिसिल्ड र एस्ट्राजेनिको ८ हजार २ सय ६२ जनाले पुर्ण खोप लगाएका छन् भने भेरोसेल १५ हजार ४ सय २ र जोनसन एण्ड जोनसन १२ हजार ५ सय ४९ जनाले लगाएका छन् ।
शुक्रबारमात्रै, देशभर २९ हजार १८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यो सहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ५१ लाख २० हजार आठ सय ५७ जना र एक मात्रा लगाउनेको संख्या ५७ लाख ४० हजार तीन सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।