सिन्धुलीबाट निर्वाचित नेकपा एमालेका प्रदेश सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीका अध्यक्ष प्रदिप कटुवाल स्वास्थ्यमन्त्रीमा नियुक्त भएका छन् । बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले गरेको मन्त्रीमण्डल विस्तारमा कटुवाल पनि अटाएका हुन् । अल्पमतमा रहेकी मुख्मन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् । नवगठित मन्त्रिपरिषद्मा डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएकी छन् भने विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ ।
मुख्यमन्त्री शाक्यले जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनालीलाई राज्यमन्त्रीमा नियुक्त गरेकी छन् । खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटी उद्योग राज्मन्त्री, श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्रीमा नियुक्त भएका हुन् । नवनियुक्त ६ मन्त्री र ४ जना राज्यमन्त्रीले बुधबारै सपथ लिएका छन् । बुधबार नियुक्त भएकासँगै बागमती प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ ।
यता, मन्त्रिमण्डल बिस्तारका क्रममा सम्पर्क राखिएका माननीय केशव स्थापितले अचम्मको जवाफ फर्काएका छन् । मन्त्री बनेर सहयोग गरिदिन आग्रह हुँदा फरासिला स्थापितले फ्याट्ट जवाफ दिए, ‘मलाई भूतले खाजा खाने बेलामा मन्त्री बन्नु छैन । ’
प्रसंग उद्धृत गर्दै श्रोतले भनेको छ, ‘मुख्यमन्त्रीको तर्फबाट धेरै आउँदा पनि स्थापित टसको मस हुनुभएन ।’ बरु उल्टै उहाँले अहिलेको अवस्थामा सरकार विस्तार गर्न खोजेको अवस्थालाई मरेपछि मलामी खोजेको संज्ञा दिनुभएको बताइन्छ ।
यस्तो बेलामा मन्त्रीको अफर मर्ने बेलामा हरियोे काँक्रो भएको पनि स्थापित निकटस्थ श्रोतले बताएको छ । स्थापितबाट प्रसंगवस श्राद्ध गर्ने बेला भएपछि पुरेत खोज्ने चलन काम छैन भनेरसमेत जवाफ दिइएको छ ।