शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा एमालेबाट निर्वाचित वडा अध्यक्ष सहित ८ जना माओवादी प्रवेश

शनिवार , भाद्र १९, २०७८

सिन्धुली – सिन्धुलीमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष सहित ८ जना नेकपा माओवादीमा प्रवेश गरेका छन् । शनिबार सिन्धुलीमाढीमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तीकारी सिन्धुलीको २० औँ जिल्ला सम्मेलनमा एमालेबाट निर्वाचित वडा अध्यक्ष सहित ८ जना नेकपा माओवादीमा प्रवेश गरेका हुन् । एमाले जिल्ला सचिवालय सदस्य सुन्तली राईको नेतृत्वमा एमाले बाट निर्वाचित हरिहरपुरगढी गाउँपालिका ४ का वडा अध्यक्ष कमलकुमार राई लगायतले माओवादी प्रवेश गरेका हुन् ।

यस्तै नेकपा एमाले हरिहरपुरगढी गाउँ कमिटि सदस्य तथा हरिहरपुरगढी गाउँपालिका २ का निर्वाचित वडा सदस्यहरु दुर्गाबहादुर राई र ज्ञानेन्द्र राईले पनि एमाले परित्याग गरि माओवादीमा प्रबेश गर्नु भएको छ । साथै नेकपा एमाले हरिहरपुरगढी गाउँकमिटि सदस्य तथा हरिहरपुरगढी गाउँपालिका ८ का निर्वाचित वडा सदस्य जंगबहादुर माझी, एमाले हरिहरपुरगढी गाउँकमिटिका सदस्य तथा वडा नम्बर ७ का पार्टी अध्यक्ष मोहनबहादुर रखाल, एमाले हरिहरपुरगढी गाउँकमिटिका सदस्य पेमाध्वज लामा र रत्नबहादुर अस्थानी मगर पनि माओवादीमा प्रवेश गर्नु भएको हो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सिन्धुलीको २० औं जिल्ला सम्मेलन तथा पार्टी प्रवेश संयुक्त कार्यक्रममा पार्टीमा नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री हरिबोल द गजुरेलले अविर तथा खादा लगाएर स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकामा रहेका एमालेका नेता माओवादी केन्द्रमा प्रवेश गरेपछि सिंगो गाउँपालिका माओवादी मय भएको बागमती प्रदेशसभा सदस्य राजन दाहालले बताउनुभयो ।

“स्वास्थ्य, रोजगारी र समाजवादी शिक्षा प्राप्तिको लागि हाम्रो आन्दोलन, सुदृढ र सशक्त संगठन निर्माणको पक्षमा २० औँ जिल्ला सम्मेलन” भन्ने मुल नाराको साथ २० औँ जिल्ला सम्मेलन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तीकारी सिन्धुलीका अध्यक्ष उत्तम पहाडीको अध्यक्षता तथा पूवृ कृषि मन्त्रि तथा हरिवोल गजुरेलको प्रमुख आथित्यतामा भएको थियो ।

प्रतिक्रिया