सिन्धुली– सिन्धुलीगढी– सोलाभन्ज्याङ–नागि सडक खण्डमा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको स्थानियले गुनासो गरेका छन् । निर्माणाधीन सडकमा ठाउँठाउँमा पहिरो तथा ढुंगा खस्ने हुदाँ आवजावतमा समस्या भएको हो । ८० प्रतिशत निर्माण सम्पन्न भएको सिन्धुलीगढी–सोलाभन्ज्याङ–नागि सडक खण्डमा पहिरोले रिटेनिङ वाल लगाएत सडक नै पुरेको छ ।
उक्त सडकमा ज्यानै जोखिममा राखेर आवतजावत गर्नुपर्ने बाध्यता भएको सुनकोशी गाउँपालिका ४ नागिका राम कृष्ण भट्टराइले बताउनुभयो । ‘गाउँबाट सिन्धुलीमाढी बजार गइरहनु पर्छ, दिनमा दुइ¬तीन फेर सम्म यो बाटोमा आवतजावत गर्नु पर्छ ।’, भट्टराइले भन्नुभयो, ‘रात, साझ जति बेला पनि यहि बाटो हो हिड्ने, माथिबाट पहिरो झरिरहेको हुन्छ, कहाँ कुन बेला पहिरोले आफैँलाई पुर्ने हो थाहा छैन ।’ निर्माण व्यवसायीले सडक निर्माणमा लापर्बाहि गरेको कारण पहिरो तथा ढुंगा खस्ने र निर्माण भएको वाल, नाला भत्किन थालेको स्थानिले आरोप लगाएका छन् । मापदण्ड विपरित सडक खोलिएका कारण पहिरो खसेको स्थानियले बताएका छन् । कालोपत्रे सहितको फराकिलो सडक निर्माण हुने भन्दै खुसि भएका स्थानिय सडकमा खसेको पहिरो देखेर निरास भएका छन् ।
‘आफ्नै गाउँमा पिच सहितको सडक निर्माण हुने भएपछि धेरै खुसि लागेको थियो । यहि वर्ष पिच हुन्छ भनेको बाटोको हालत यस्तो छ ।’ बाटोमा खसेको पहिरो देखाउदै स्थानिय डिकमान घलानले भन्नुभयो, ‘अब कहिले सम्म हो यसरी ज्यान जोखिममा राखेर आवतजावत गर्नु पर्ने ।’ उक्त सडकखण्ड यहि आर्थिक वर्षमा सडक निर्माण सम्पन्न गरिने गरि सम्झौता भएको थियो । सडक समयमा सम्पन्न नहुदाँ स्थानियले सास्ती खेप्नु परेको छ ।
उक्त सडक खण्ड अन्तर्गतको सुनकोशी गाउँपालिका ७ धोद्रेमा पहिरो खस्दा विहिबार एक घण्टा सम्म सडक नै अवरुद्ध भएको थियो । पहिरोको कारण नियमित चल्ने सवारी साधन आवतजावत बन्द भएपछि स्थानियहरु मिलेर सडकमा झरेको पहिरोे पन्छाइ बाटो खुलाएका थिए । बाटो खुलेपनि सवारी आवाजताज कठिनाइ भएपछि स्थानियले संयुक्त रुपमा सवारी ठेलेर गन्तव्यतर्फ पुर्याउन मद्धत गरेका थिए । ठुलो बाटो बनाउन माथि तिर धेरै खोलेपछि पहिरो खस्न थालेको स्थानिय नविन कार्कीले बताउनुभयो ।
‘पहिले सानो बाटो हुदाँ यहाँ पहिरो खस्दैन थियो । पछि ठुलो बनाउने भन्दै माथि तिर धेरै खनियो, त्यसपछि पहिरो खस्न थाल्यो ।’, उहाँले भन्नुभयो, ‘मापदण्ड विपरित सडक खोलिएको कारण नै हो पहिरो खस्ने समस्या भएको ।’ निर्माण व्यवसायीले धोद्रेमा बारम्बार खसेको पहिरो पन्छाउने काम गरिरहेको कार्कीले बताउनुभयो ।
‘पहिरो खस्ने वित्तिकै ठेकेदारले पहिरो पन्छाउन जेसिबि त ल्याउँछ । पहिरोमा झेरेका ढुंगा, गिटिको रुपमा प्रयोग हुने भएकाले पनि यहाँ झरेका सबै ढुगां छेउमा थुपारेको छ ।’ छेउमा राखेको ढुगां देखाउदै उहाँले भन्नुभयो, ‘यहि माथि फेरि पहिरो झर्छ अनि एकदुइ दिनमा फेरि बाटो नै बन्द हुन्छ ।’
सडक बागमती प्रदेशको २१ करोड लागतमा यहि आर्थिक वर्ष ०७७/७८ मा निर्माण सम्पन्न गरिसक्ने गरि आत्रय कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । कोरोना भाइरसको कारण सडक निर्माणको काम ढिला भएको बागमती प्रदेश सभा सदस्य विनोद कुमार खड्काले बताउनुभयो । गुणस्तर सडक निर्माण गर्न निर्माण व्यवसायीलाई बारम्बार आग्रह गरिरहेको उहाँको भनाइ छ ।