शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा राखी किन्नेको भिड

आइतवार , भाद्र ६, २०७८

सिन्भुली – सिन्धुलीमा रक्षा बन्धन पर्वका लागि राखी लगाएत मिठाइका परिकार किन्नेको चहलपहल देखिएको छ । शनिबार सिन्धुलीमाढी बजार क्षेत्रमा राखी सहित उपहारका सामाग्री लगाएत मिठाइका विभिन्न परिकार किन्नेको भिड बढेको हो ।

जिल्लाको बजारका मुख्य चोक तथा ग्रामिण भेगको बजारमा समेत राखी किन्नेको चहलपहल बढेको छ । सिन्धुलीमाढी, चकमके, मरिण, दुधौली बजार लगाएत सबै स्थानिय तह भित्रका स्थानिय बजारमा राखी किन्नेको चहलपहल बढेको हो । बजारका किराना पसलमा क्वाटीको व्यापार बढेको थियो भने ठेलागाडा तथा चोक चोकमा राखी किन्नेहरुको लर्को लागेको थियो ।

कमलामाई नगरपालिका ६ गैरिबजारको सन्तोष मिठाइ पसलमा शनिबार दिनभर नै मिठाइ किन्नेको भिड लागेको थियो । विहान देखि साझँसम्म मिठाइका परिकार लगभग ५० हजार भन्दा बढीको कारोबार भएको पसलका संचालक सन्तोष साहले बताउनुभयो । साथै मिठाइ पसल अगाडि राखी किन्नेको पनि भिड थियो । शनिबार मात्रै २० हजार भन्दा बढीको राखी विक्री भएको साहले बताउनुभयो । यस्तै उक्त मिठाइ पसलमा मिठाइका परिकार किन्न उपभोक्ता घण्टै पालो कुरिरहेका थिए ।

कमलामाई नगरपालिका ४ की रीता रोक्काले एक घण्टा सम्म पालो कुरेर मिठाइ किनेको बताउनु हुन्छ । “दिउँसो १ बजे देखि मिठाइ किन्न बसेको, दुइ बजे पछि बल्ल आफ्नो पालो आए पछि मिठाइ किनेर फर्किए ।” उहाँले भन्नुभयो, “राखी पनि राम्रो सँग नछानी किन्ने, सबै तिर भिड थियो ।”

राखी किन्नको लागि गाउँदेखि बजार सम्म आउनेको संख्या पनि धेरै नै थियो । कमलामाई नगरपालिका ४ कि सपना कार्कीले २ दाजुभाइका लागि एउटैको डेढ सय पर्ने राखी किन्नु भएको छ । “दाजुभाइसँगको पवित्र नाता थप कसिलो बनाउन आज बिहानै राखी बाँध्दै छु,” उहाँले भन्नुभयो ।

कमलामाई नगरपालिका ६ की पार्वति सुनुवार पनि ढुग्रेबासचोक नजिकै राखी किन्दै हुनुहन्थ्यो । उहाँले चार दाजुभाइलाई प्रत्येक वर्ष रक्षाबन्धनका दिन राखी बाँध्ने गरेको अनुभव सुनाउनुभयो । जिल्लाको घ्याङलेख गाउँपालिका घर भई जागिरको सिलसिलामा सिन्धुलीमाढी बस्दै आएका दिपेन्द्र बुढाथोकी दिदिबहिनीसँग राखी बाँध्न नपाएकोमा दुःख लागेको बताउनु हुन्छ ।

रक्षा बन्धन पर्वमा दिदीबहिनीले आफ्ना दाजु–भाइको लामो आयु र हरेक विघ्न–बाधाबाट रक्षा होस् भनेर राखी बाँधिदिने चलन रहेको छ । सोहि चलन अनुसार दिदिबहिनिले आफ्नो दाजुभाइलाई राखी बाध्ने गर्दछन् ।

जिल्लामा कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले स्वास्थ्य मापदण्ड अपनाई किनमेल गर्ने आग्रह गरेको छ । साथै जिल्ला प्रशासन कार्यलय सिन्धुलीले घरमै बसेर पर्व मनाउन अनुरोध गरेको छ ।

जनै पूर्णिमाको दिन मेला लाग्ने सिन्धुलीका सम्पूर्ण स्थानमा रोक

जनै पूर्णिमाको दिन मेला लाग्ने सिन्धुलिका सम्पूर्ण स्थानमा रोक लगाइएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले भिडभाड हुने सम्पूर्ण क्रियाकलाप रोक लगाइएको हो । जनै पूर्णिमाको दिन मन्दिर लगाएत मेला लाग्ने सम्पूर्ण स्थानमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो । “आइताबार मन्दिर लगाएत मेला लाग्ने ठाउँमा सुरक्षाकर्मि खटाउने छौ ।” उहाँले भन्नुभयो, “मन्दिरमा भने स्वास्थ्य मापदण्ड पालना गरेर दर्शन तथा पुजा गर्ने दिने छौ । ”

यस्तै जनै पूर्णिमाको दिन चन्द्र नारायणथान मन्दिरमा लाग्ने मेला स्थगित गरिएको छ । घ्याङ्लेख गाउँपालिका र सुनकोशी गाउँपालिकाको सिमाना सातदोबाटो स्थित चन्द्र नारायणथान मन्दिरमा जनै पुर्णिमा अर्थात आइताबार लाग्ने मेला स्थगित गरिएको हो । हरेक वर्ष जनै पुर्णिमाको दिन लाग्ने मेला यस वर्ष कोरोना भाईरसको संक्रमण कायमै रहेकाले मेला स्थगित गरिएको चन्द्र नारायणथान मन्दिर संरक्षण समितिले एक सुचना मार्फत जानकारी गराएको छ ।

अघिल्लो वर्षहरुमा जनै पुर्णिमाको दिन उक्त मन्दिरमा पुजा तथा दर्शन गर्ने भक्तजनहरुको भिड हुन्थ्यो । तर आइताबार कुनै पुजा तथा मन्दिरको दर्शन गर्ने भक्तजनलाई उपस्थित नहुन सुचना गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष नवराज सुनुवारले बताउनुभयो ।

प्रतिक्रिया