शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका ६१ विद्यालयमा आधुनिक शौचालय र पानीको धारा बन्ने

सोमवार , आषाढ १, २०७७

 

सिन्धुली,१ असार– सिन्धुलीका ६१ विद्यालयमा अपाङ एवं लैंगिक मैत्री आधुनिक शौचालय भवन र खानेपानीको धारा बन्ने भएको छ । जिल्ला आयोजना कार्यान्वयन ईकाई(शिक्षा) सिन्धुलीले भुकम्प पछिको पुनः निर्माण अन्तर्गत जिल्लाका नौँ स्थानिय तहका ६१ विद्यालयमा आधुनिक शौचालय भनव बनाउने भएको हो ।

शौचालय भवन निर्माण र खानेपानीको धारा निर्माणका लागि कमलामाई र दुधौली नगरपालिकाका विद्यालयहरुसँग सम्झौता समेत भएको छ ।

आईतवार सिन्धुलीमाढीमा भएको एक कार्यक्रमका बिच जिल्ला आयोजना कार्यान्वयन ईकाई(शिक्षा) सिन्धुली र शौचालय भवन निर्माणका लागि छनोट भएका विद्यालयले सम्झौता गरेका छन् ।

अपाङ एवं लैङगिक मैत्री आधुनिक शौचालय भवन र खानेपानीको धारा बन्ने कमलामाई नगरपालिकाको १३ र दुधौली नगरपालिकाको १३ गरी २६ ओटा विद्यालय छनोटमा परेका छन् । कमलामाईका १३ र दुधौलीका १३ विद्यालयहरुले शौचालय भवन र धारा निर्माणका लागि आज सम्झौता गरेका जिल्ला आयोजना कार्यान्वयन ईकाई(शिक्षा) सिन्धुलीले जनाएको छ ।

१४ लाख १९ हजार लागतमा ३ कोठे शौचालय भवन निर्माणका लागि कमलामाई र दुधौली नगरपालिकाका २६ ओटा विद्यालयहरुसँग आइतवार सम्झौता भएको जिल्ला आयोजना कार्यान्वयन ईकाई(शिक्षा) सिन्धुलीका प्रमुख शिव कुमार सापकोटाले बताउनुभयो ।

यी बाहेक सिन्धुलीका अरु स्थानिय तहका विद्यालयमा पनि शौचालय भवन र खानेपानीको धारा बनाईने जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) सिन्धुलीका ईन्जिनियर अनिल कुमार यादवले बताउनुभयो ।

कमलामाई नगरपालिकामा १३, गोलन्जोर गाउँपालिकामा ४, घ्याङलेख गाउँपालिकामा ४, तिनपाटन गाउपालिकामा १४, दुधौली नगरपालिकामा ९, फिक्कल गाउँपालिकामा ५, मरिण गाउँपालिकामा २ र सुनकोशी गाउँपालिमा ३ वटा खानेपानीको धारा पनि बनाईने उहाँले बताउनुभयो ।

यी शौचालय भवन र खानेपानी घारा विद्यालय व्यवस्थापन समितिले आगामी असार मसान्तसम्ममा निर्माण गरी सक्नेपर्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार तिनपाटन गाउपालिकामा ८,घ्याङलेख गाउपालिकामा ५, मरिण गाउँपालिकामा ७, सुनकोशी गाउँपालिकामा ७, हरिहरपुरगढी गाउँपालिमा ८ वटा शौचालय भवन बनाईनेछ । त्यस्तै जिल्ला भरी दुई कोठे १५ वटा, ३ कोठे ४ वटा र ४ कोठे ३८ वटा विद्यालय भवन निर्माण हुने उहाँले बताउनुभयो ।

सम्झौता कार्यक्रममा बोल्दै जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) सिन्धुलीका प्रमुख शिव कुमार सापकोटाले सरकारले विद्यालयलाई सबै सुविधा सम्पन्न बनाउने लक्ष्य लिएकाले सोही अनुसार शौचालय भवन र खानेपानी व्यवस्थापनका लागि बजेट आएको उहाँले बताउनुभयो ।

भुकम्पले भत्केका प्राय विद्यालयहरु बनि सकेको छन् । तर ती विद्यालयहरुमा शौचालय, खानेपानी, घेराबेरा लगाएतका विद्यालयलाई आवश्यक पर्ने संरचना बनाउन बाँकी रहेको छ । सरकारले यस्ता बाँकी संरचना बनाउन जोड दिएकाले सिन्धुलीमा शौचालय नभएका, खानेपानी नभएका विद्यालयहरुमा शौचालय भवन र खानेपानी व्यवस्थापनका लागि कामहरु अघि बढेको बताउनुभयो ।

उहाँले आइतवार सम्झौता गरेका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुलाई कुनै आर्थिक हिनामिना नगरी गुणस्तरीय शौचालय भवन निर्माण गर्न निर्देशन दिनुभएको छ ।

व्यवस्थापन समिति मार्फत निर्माण हुने शौचालय भवन समितिका पदाधिकारी र शिक्षक दुवैले आफ्नै घरको जसरी अपनत्व लिएर बनाउन आग्रह गर्नुभयो । मापदण्ड अनुसार शौचालय भवन, खानेपानी धारा र विद्यालय भवन बनाउन आग्रह गर्दै यदी त्यसो नभए कार्वाही हुने चेतावनी समेत दिनुभयो ।

प्रतिक्रिया