सिन्धुलीको तीनपाटन गाउँपालिकामा मंगलबार एक नाबालिकाले आत्महत्या गरेकि छिन् । जिल्लामा वर्षेनि बालबालिकाले आत्महत्या गरिरहेका छन् । सामान्यतया परिपक्व हुनुभन्दा अगाडिको अवस्थालाई बाल्यावस्था भनिन्छ । नेपालको मौजुदा कानुनअनुसार १८ वर्ष नपुगेका बालिगलाई नाबालबालिका भनिन्छ । पूर्ण रूपमा शारीरिक र मानसिक विकास भइनसक्ने यो उमेरमा दुरगामी प्रभाव पार्ने निर्णय गर्न असमर्थ हुने भएकाले उनीहरूसँग सम्बन्धित कामका लागि संरक्षकको निर्णयलाई मात्र मान्यता दिने गरिन्छ । उनीहरूको अपरिपक्व मानसिक अवस्थाले गर्दा आवेशमा आएर कल्पनासम्म गर्न नसकिने निर्णय गर्ने गरेको अध्ययनले देखाएको छ । तसर्थ, कल्पनासम्म गर्न नसकिने बालबालिका आत्महत्याको घट्नाबारे सबै पक्ष सजग हुनुपर्ने अवस्था आएको छ ।
आवेशप्रेरित आत्महत्या बाल आत्महत्याको प्रमुख कारण भएकाले उनीहरूलाई कडा सजाय तथा त्रासबाट मुक्त राखी हरेक घटनाका कारण र असरबारे अभिभावक तथा संरक्षकले परामर्श दिनुपर्छ । आत्महत्या रोकथाम हटलाइन सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने र उद्धार संयन्त्र सक्रिय पारेर पनि आवेशप्रेरित आत्महत्या कम गर्न सकिने विकसित राष्ट्रका अभ्यासबाट प्रमाणित भएकाले नेपालमा पनि सो अभ्यास गर्न जरुरी छ ।
त्यस्तै, बालबालिकामा हुने निराशाका कारण पत्ता लगाई उपचार गर्न अभिभावक सचेत हुनुपर्दछ । बालबालिकामा आफूलाई असुरक्षित, निरीह÷असहाय अनुभव गर्ने, जीवनप्रति निराश हुने तथा विक्षिप्तता बढ्दै जाने भएकाले कुनै पनि बेला आत्महत्या गर्ने सम्भावना रहन्छ । तसर्थ, बालबालिकासँग आबद्ध रहेका संघ, संस्था लगायत सरोकारवाला निकायले बालबालिकासँगै उनीहरुको परिवारलाई पनि परामर्श दिनुपर्ने आवश्यकता देखिएको छ । त्यसैगरि, छाडातन्त्र, अराजकता र नैतिक मूल्यमा आएको ह्रासका कारण बाल आत्महत्या दर अझै बढ्ने सम्भावना छ । यसलाई रोक्न घरपरिवार, समाज, विद्यालय सबैतिर बालमैत्री वातावरण सिर्जना गर्न ढिलाइ गर्नु हुँदैन । अतः आत्महत्याको रोकथाम गर्न सबै पक्ष गम्भिर हुनुपर्ने देखिन्छ ।