वर्षातको समयमा प्राकृतिक विपद मात्रै होइन, मानव स्वास्थ्यमा पनि विपद आउने गर्छ । यही मौसममा सरुवा रोगहरु निम्तिने र फैलिने जोखिम बढी हुन्छ । पछिल्लो समय सिन्धुली लगायत देशभर मनसुन सक्रिय भएसँगै प्राकृतिक विपत्तिका घट्नाहरु घटिरहेका छन् । वर्खायाममा सरुवा रोग सार्ने किटाणु सक्रिय हुने भएकाले महामारी निम्तिने जोखिम रहन्छ । वर्षातको समयमा पानी तथा खानेकुराहरु फोहोर हुने र हावामा ओस बढ्ने गर्छ । रोगबाहक झिंगा र लामखुट्टे लगायतलाई यही मौसम अनुकल हुन्छ । विभिन्न स्थानमा जम्ने फोहोर पानीका कारण झिंगा, लामखुट्टे, भुसुना तथा अन्य किटाणु मौलाउँछन् । सरुवा रोग फैलाउने यस्ता माध्यमहरु जति मौलाउँछन्, त्यति नै बढी रोग सार्ने क्षमतामा बढोत्तरी हुन्छ । तसर्थ, जिल्लाका सरोकारवाला निकायले नागरिकको स्वास्थ्यको सवालमा पनि गम्भिर हुन आवश्यक छ ।
वर्षायाममा झाडापखला, हैजा, टाइफाइड, भाइरल, जण्डिस, आउँ, निमोनियाँ, औलो, डेंगु, कालाजार, रुघाखोकी, पेटमा इन्फेक्सन, छालामा फंगस, आँखा पाक्ने जस्ता रोगको संक्रमण बढ्ने गर्छ । बाढी–पहिरो गएको क्षेत्रमा शुद्ध पिउने पानीको समस्या हुन्छ । पानीको श्रोत दूषित हुनुका साथै खानेकुराको समेत समस्या हुने हुँदा ती प्रभावित क्षेत्रमा रोगहरु बढ्ने गर्छन् । त्यसैले जिल्लाका स्थानिय सरकार, जनस्वास्थ्य कार्यालय, जिल्ला प्रशासन लगायत सम्बन्धित निकायले रोगको प्रकोप फैलिन नदिन सचेत हुन जरुरी छ । सचेतना र सतर्कताले मात्रै वर्षायाममा फैलिने रोगविरुद्ध लड्न सकिन्छ । व्यक्ति, परिवार, समाज र सरकार दुवैले यो उपाय अपनाउनुपर्छ ।