जहिले पर्छ, त्यहिले टर्छ भनेझैँ सिन्धुली लगायत देशभर हरेकपटक दोहोरी रहने विपतले सधैँ उत्तिकै क्षति पुर्याउने गरेको छ । दीर्घकालिन समाधान खोज्ने भन्दापनि अस्थायी मार्ग रोज्दा हरेक वर्ष सिन्धुलीमा बाढी र पहिरोले मानविय तथा भौतिक क्षति हुने गरेको छ । मानविय त्रुटि र बदमासीकै कारण प्राकृतिक प्रकोपले ठूलो विपत्ति ल्याउने गरेको छ । यहाँका खोला र पहाडमा भईरहेको दोहन र प्राकृतिक सम्पदाको जग्गा अतिक्रमणले गर्दा वर्षेनि बाढी र पहिरोले क्षति बढिरहेको छ । दैनिक हजारौँ सवारीसाधन गुड्ने राजमार्ग छेउकै नदिमा निर्वाध रुपमा नदिजन्य पदार्थ उत्खनन् भइरहदा नियमनकारी निकाय मौन बस्ने गरेको यथार्थ छर्लंगै छ । पहाड खोतलेर समथर बनाईसक्दापनि यहाँका कुनैपनि जिम्मेवार निकायले औँला ठडाउने चेष्टा राख्दैनन् । वन अतिक्रमण बढिरहदा वन उपभोक्ता समितिका सदस्यनै बेखबर छन् । मान्छेको घमण्ड, बदमासी र प्रकृतिलाई जित्ने अहमले गर्दा प्राकृतिक प्रकोपले झनैँ ठूलो क्षति गरिरहेको छ । हरेक वर्ष मनसुन सक्रिय भएपछि प्राकृतिक विपत्तिले क्षतिसँगै पाठ लिएर आउँछ । तर, यहाँका जनजप्रतिनिधि, सरकारी संयन्त्र लगायत जिम्मेवार निकायले दीर्घकालिन समाधानका लागि कुनै चासो नदेखाएको अवस्था छ । यतिसम्मकी प्राकृति सम्पदाको दोहनमा जनप्रतिनिधि र नियमनकारी निकायकै प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता हुँदा चोरको हातमा चाबि भनेझँै भएको छ । काले काले मिलेर भाले खाइरहदा भावि पुस्ता र अहिलेकै पुस्ताले व्यहोर्नुपरेको विपत्तिको हाँड्ले नसताउला भन्न सकिन्न । तसर्थ, प्राकृतिक सम्पदामाथि भइरहेको चरम दुव्र्यवहारप्रति राज्यको संयन्त्रसँगै हरेक नागरिक गम्भिर हुन जरुरी छ ।
सिन्धुलीका नदिदेखि पहाड र वन अतिक्रमण भइरहदा राजनैतिक दल, नागरिक समाज, पत्रकार लगायत सरोकारवाला निकाय मौन बसेको अवस्था छ । जनप्रतिनिधिको आँखै अगाढि प्राकृतिक सम्पदाको दोहन भइरहेको छ भने नागरिकले पनि कुनै चासो देखाउने गरेका छैनन् । तसर्थ, प्राकृतिक सम्पदामा भइरहेको ज्यादतिलाई रोक्न सम्बन्धित निकाय गम्भिर हुनुपर्ने देखिन्छ । अतः प्राकृतिक विपत्तिबाट यहाँका सुरक्षा संयन्त्र, स्थानिय सरकारदेखि तीनै तहको सरकार लगायत सरोकारवाला निकायले पाठ सिक्न जरुरी छ ।