पछिल्लो समय सिन्धुलीका ग्रामीण क्षेत्रका युवाहरु विदेशिने क्रम बढ्दो छ । कामदार नहुँदा सिन्धुलीमा ग्रामीण कृषि अर्थतन्त्र ओरालो लागिरहेको छ । ग्रामीण क्षेत्रका बासिन्दा रोजगारकालागि विदेश पलायन हुने तथा कृषि क्षेत्रमा युवा आकर्षित कार्यक्रम नहुँदा ग्रामीण क्षेत्रमा कृषिप्रति – आकर्षण घटिरहेको छ । कुनै समय जिल्लाको ग्रामीण अर्थतन्त्र मौलिक थियो । उनीहरु मिलेर उत्पादन गर्थे । बोका, खसी, घीउ, तरुल, पिँडालु, सक्खरखण्ड, मकै, भटमास, गंहु, कोदो, मह, दूध, बिक्री गरेर घरखर्च मात्र होइन, बचतसमेत गर्थे । कुनै बेला गाउँका मानिसले दशैँमा खसी, बोका, राँगा, हाँस, कुखुरा, घीउ, मह, कसैले किन्नु पर्दैनथ्यो । अहिले उनै ग्रामीण जनता आयात गरेको कृषि उत्पादनमा निर्भर छन् । ग्रामीण कृषिमा आकर्षण घटेसँगै जिल्लानै कृषि उत्पादनमा परनिर्भर भएको अवस्था छ । स्थानिय सरकारले युवा लक्षित कृषि कार्यक्रम नल्याएको पनि होइन । तर, सरकारको सुविधा उपभोग गर्ने, काम नगर्ने प्रवृद्धिले सन्तोषजनक प्रतिफल दिन सकिर हेको छैन । वास्तविक कृषकले सुविधा उपभोग गर्न नपाउनुनै असफल प्रतिफलको कारण हो । तसर्थ, स्थानिय सरकारले सुविधा प्रदान गर्दा वास्तविक र लक्षित वर्गलाई केन्द्रित गर्न आवश्यक छ ।
जिल्लामा ग्रामीण कृषि अर्थतन्त्रको अवस्था बिग्रदो छ । संभावना हुदाहुदैँ पनि जिल्लाको कृषि क्षेत्रमा सफलता मिल्न सकेको छैन । कृषक आधुनिक उपकरणसँग परिचित नहुनु, राज्यको निकायबाट मिल्ने सुविधा वास्तविक लक्षित वर्गमा नभई अन्यले पाउनु लगायत अनुदान पचाउन मात्रै कृषि क्षेत्रमा लागेको झुटो प्रचार गर्ने प्रवृद्धिले गर्दा वास्तविक कृषक यस क्षेत्रमा हतोत्साहित भएको अवस्था छ । तसर्थ, यी सबै पक्षलाई मध्यनजर गरेर जिम्मेवार निकायले आवश्यक कदम चाल्न जरुरी छ । अतः ग्रामीण कृषि अर्थतन्त्रलाई मजबुत बनाउन सम्बन्धित निकायले अग्रसरता देखाउन आवश्यक छ ।