शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

विपदमा नाटक मन्चन नगरौं

बुधवार , चैत्र ७, २०८०

सिन्धुलीस्थित विपी राजमार्ग आसपासको एक गाउँमा डढेलो पस्छ । डढेलोस्थल भन्दा अघि सामाजिक संजालमा दमकल पुग्छ । डढेलोले केही घरमा क्षति पुर्‍याईरहदा सामाजिक संजालमा भने तारिफका शब्दहरू छ्याप्छ्याप्ति देखिन्छन् । नेपालीहरू स–साना कुरामा रमाउने गरेको ज्वलन्त उदाहरण हो यो । राजमार्गमा दमकल आउनु वा ल्याउनु ठूलै उपलब्धि होइन । तर, कुनै एक सांसदले दमकल बोलाए भन्दैमा ढ्यांग्रो ठट्याउनु सरमको विषय हो । के राज्यको संयन्त्र यतिसम्म कमजोर भइसक्यो कि राजमार्गमा दमकल बोलाउनपनि सांसदकै मुख ताक्नुपर्ने ?

वन डढेलोले निम्ताउने विपद न्युनिकरणमा कुनै दिर्घकालिन निति निर्माण गर्न नसक्ने तर अस्थायी समाधानमा रमाउने प्रवृत्तिले शक्तिमा रहेका व्यक्तिलाई कमजोर बनाएको छ । नागरिकले जनप्रतिनिधिबाट सानतिना कुरामात्र अपेक्षा गर्ने हो भने नेत्तृवलाई ठूलो काम गर्ने जाँगर चल्दैन । तसर्थ, वन डढेलोले जिल्लामा वर्षेनि पुर्‍याइरहेको क्षतिलाई कम गर्न नागरिक सचेतसँगै राज्यको अंगलाई सक्रिय बनाउन खबरदारी गरिरहनुपर्छ ।

वन डढेलो विकसित देशकालागी पनि टाउको दुःखाई बनेको छ । तर, डढेलोको जोखिमलाई न्युनिकरण गर्न भने उनीहरू धेरै अघि बढिसकेका छन् । सिन्धुलीमा हरेक सुख्खायाममा डढेलोले विध्वंश मच्चाउने गरेको छ । तर, डढेलोको रोकथाम र जोखिम न्युनिकरणमा जिम्मेवार निकाय निश्क्रिय छन् । यतिसम्म कि डढेलो निभाउन खोज्दा यहाँका स्थानियले ज्यानसमेत गुमाउनु परेको छ । स्थानियसँग प्रत्यक्ष सरोकार राख्ने स्थानिय सरकारदेखि तीनै तहका सरकारसँग आग्लागी नियन्त्रण गर्ने आधारभुत सामाग्री पनि छैन । डढेलोको जोखिम रहेका घरहरूको पहिचान गरि पुर्वसुरक्षाको काम भएको छैन । सामुदायिक वन उपभोक्ता समितिलाई डढेलो सम्बन्धि कार्ययोजना बनाएर अघि बढाउने हो भने पनि डढेलोले निम्ताउने वितण्डामा कमि हुनेछ । तसर्थ, डढेलो नियन्त्रण र जोखिम न्युनिकरणकालागी सदनदेखि स्थानिय कार्यपालिका बैठक, वन कार्यालयदेखि जिल्ला प्रशासन र सुरक्षा संयन्त्र, सामुदायिक वन उपभोक्ता समितिदेखि नागरिकस्तरसम्म गम्भिर छलफल हुन जरूरी छ । अतः सानतिना पहलमा रमाउने भन्दापनि दिगो समाधानकालागी दबाब दिनतर्फ नागरिकले चासो देखाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया