सिन्धुली र जुनारलाई पर्यायवाचीका रुपमा लिईन्छ । जुनारको जिल्ला भनेर परिचित सिन्धुलीमा जुनारको प्रबद्र्धन र संरक्षणकालागि राज्यबाट विभिन्न प्रयास भएका छन् । तर, किसानहरु हरियैमा जुनार बेच्न बाध्य छन् । विभिन्न किराको प्रकोपका कारण जिल्लाका किसानहरुले आत्तिएर काँचैमा जुनार विक्रि गरिरहेको अवस्था छ । त्यसैगरि, दशैँको समयमा विपी राजमार्गमा सवारीसाधनको चाप बढ्ने हुँदा दशैँको जोहो गर्नपनि किसानहरुले हरियै जुनार बजारमा ल्याएका छन् । असोज महिनाको अन्तिमतिर जुनार फलको वृद्धि करिब करिब समाप्त भएर रंग चढ्न शुरु भई हरियोबाट हल्का पहेँलोमा परिणत हुन्छ । कात्तिक महिनाको अन्तिमतिर ८० देखि ९० प्रतिशत फलमा रंग चढिसकेको हुने र फलको वृद्धि रोकिन्छ ।
मंसिरमा जुनार पुरा पाक्ने समय भएकाले पाकेको फल टिप्न शुरु हुन्छ । तर, जुनार पाक्न केहि महिना बाँकी हुँदानै बजारमा हरियो जुनार छ्याप्छ्याप्ती देखिएको छ । देशभरका उपभोक्ताहरुले अन्य जिल्लाको भन्दा सिन्धुलीको जुनारमा विशेष चासो राख्छन् । यहाँको जुनारको स्वाद र मिठासले नेपालदेखि चिनसम्म चर्चा बटुलेको छ । तर, हरियोमै जुनार बजारमा आएपछि सिन्धुलीको जुनारप्रति उपभोक्ताले नाँक खुम्चाउने अवस्था आएको छ । तसर्थ, जुनारको गुणस्तरीयता कायम गर्न स्थानिय सरकारदेखि सरोकारवाला निकाय गम्भिर हुन जरुरी छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जुनार सुपरजोन परियोजनाले जिल्लामा जुनार खेतिलाई व्यवस्थित बनाउन काम गरिरहेको छ । तर, चालु आर्थिक वर्षमा उक्त परियोजनालाई कुनैपनि बजेट निकासा नहुँदा किराको प्रकोप नियन्त्रण गर्न मुश्किल भइरहेको छ । जुनारको आकार वृद्धि भईसकेर रंग चढ्नेबेलामा किराको प्रकोपले किसान र परियोजनाको कर्मचारीलाई सताएको हुँदा यहाँका जनप्रतिनिधिले बजेट निकासा गर्न आवश्यक पहल गर्नुपर्ने देखिन्छ । अतः सिन्धुलीको जुनारलाई ‘ब्राण्ड’ बनाउन नसकेपनि जुनारको गुणस्तरीयता कायम गर्न सम्बन्धित निकाय गम्भिर हुन आवश्यक छ ।